भक्तपुरमा गठांमग चर्हे मनाइयो (फोटो फिचर)
भक्तपुर : नेवार समुदायले मनाउने वर्षकै पहिलो पर्वको रूपमा बुधबार गथांमग चर्हे मनाएको छ। नेवारी समुदायमा सिठी नखलाई वर्षको अन्तिम पर्व र गथांमगलाई वर्षको पहिलो पर्वको रूपमा मनाइन्छ। साउन कृष्णपक्षको चतुदर्शी तिथीका दिन पर्ने यो पर्वलाई ’घण्टाकर्ण चतुर्दशी’ पनि भनिन्छ। यस पर्वको अवसरमा नेवार समुदायले नर्कट र छ्वालीको लिङ्गाकृत तीनखुट्टे गथांमग अर्थात् मानवकृति युक्त राक्षसी प्रतीक बनाई टोलका दोबाटो र चौबाटोमा लगेर जलाएर मनाइएको हो।
नेवार समुदायले हर्षोल्लासका साथ मनाउने घण्टाकर्ण पर्व उनीहरूको मौलिक पर्वमध्येको एक हो। यस दिनलाई नेवार समुदायले आफ्नो घर गृहशान्तिको कामना र आफ्ना परिवारलाई रोग-ब्याधी नलागोस् भनेर राक्षस धपाउने पूजा गर्ने दिनका रुपमा लिइन्छ। यस पर्वलाई किसानको ‘सिनाज्या ब्यंकेगु’ (रोपाइँ कार्य सम्पन्न भएको) र चाडपर्वको सुरूबाट भएको पर्वका रूपमा लिने चलन छ। नेवार समुदायमा रोपाइँ सकेपछि घर सफा गर्ने, हिलो पखाल्ने पर्वका रूपमा ‘सिनाज्या ब्यंकेगु’ पर्व मनाउने गरिन्छ।
यस दिन बिहानै उठेर घरलाई लिपपोत गरी सफा पार्ने र घरका सबै जनाले नुहाएपछि महादेवको मन्दिर पुगेर जल ल्याई आफ्नो घरको सम्पूर्ण भागमा सो जलले छर्केर चोखो बनाउने प्रचलन छ। घर चोखो बनाउने क्रममा दैनिक जीवनमा प्रयोग भइरहेका सम्पूर्ण भाँडाकुँडासमेत धोएर चोखो बनाउनुपर्छ। महादेवको जल नछर्केसम्म कसैले खान नहुने मान्यता छ।
यो दिन घरमा भूतप्रेत पस्न सक्दैन भन्ने जनविश्वास रहेको छ। घरका साना केटाकेटीलाई फलाम वा तामाको औँठी लगाइदिने चलन पनि रहेको छ। वयस्क युवतीले यस दिन विशेषगरी खुट्टामा विभिन्न प्रकारका टाटु खोप्ने प्रचलन पनि रहेको छ।

त्यसैगरी, साँझपख घरघरबाट छ्वाली प्वाः वायगु ज्या (छ्वालीको मुठा फाल्ने कार्य) सम्पन्न गरिन्छ। छ्वालीको मुठामा कर्कलो, सिस्नो, मकैको घोगा, आरुको बोटको हाँगा, धुँ स्वाँ र बौ स्वाँ नामको विशेष प्रकारको फूलसमेत राखेर सो छ्वालीको मुठालाई बालेर घरको माथिल्लो भागदेखि तल्लो भाग छिँडीसम्म परिक्रमा गराई छ्वास (नेवार समुदायको मानिस मर्दा उसको लुगा फाल्ने ठाउँ) मा लगेर राख्ने गरिन्छ।
घण्टाकर्ण पर्वकै अवसरमा टोलटोलहरुमा टोलवासीले नर्कट र छवालीको मानवकृतियुक्त राक्षसको प्रतीक बनाई चोक चोकमा बनाएर चारदोबाटोमा जलाएको थियो। सँगसँगै एक व्यक्तिलाई पनि राक्षसको प्रतीक बनाई जगात अर्थात् पैसा उठाउन लगाइन्छ। साँझपख सो राक्षसको प्रतीक स्वरुपको नर्कट र छ्वालीको मानवकृतिलाई नजिकको खोलामा लगेर जलाइन्छ।

नेवार समुदायमा घण्टाकर्ण पर्व प्राचीन कालदेखि नै प्रचलनमा रहेको संस्कृतिविद् डा. इन्दुल केसी बताउँछन्। उनका अनुसार यो पर्व काठमाडौं उपत्यकामा करिब दुई हजार वर्षअघि देखि प्रचलनमा छ। यस पर्वले मानिसमा भएको नकारात्मक सोच र व्यवहार परिवर्तन गर्न उत्प्रेरणा मिल्ने र व्यक्ति, परिवार, समाज र देशमा शान्तिको कामना गर्ने पर्वका रूपमा समेत लिइने गरेको संस्कृतिविद् केसीले बताए।
त्यस्तै नेवारी समुदायले गाईजात्राका बेला प्रदर्शन गरिने विभिन्न भैरव नाच, व्यङ्ग्यले भरिपूर्ण नाटकको प्रशिक्षणसमेत घण्टाकर्ण पर्वपछि सुरु गरिन्छ। भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचका लागि यस दिनदेखि मुखुण्डो बनाउने कार्यको शुभारम्भ गरिन्छ। यसै दिनदेखि नेवारी समुदायमा परम्परागत नाच तथा बाजागाजा सिकाउन सुरु गरिन्छ । सो दिनदेखि घण्टाकर्णसम्म धान रोपाइँ सक्नुपर्ने भएकाले कुनै पनि धार्मिक महत्वको कार्य नगर्ने परम्परा छ।
तस्बिरहरू : अभिषेक महर्जन











प्रतिक्रिया दिनुहोस !