धौवादी फलाम खानी, देश बन्नेछ धनी
प्रकृतिले मुलुकलाई के दिएको छैन ? फलाम खानी यहीँ छन्, पेट्रोलका खानी छन् । तर, सरकारको ध्यान पुगेन, खानीको उपभोग भएन । धौवादी फलाम खानीकै कुरा गरौ न, एक सय वर्षलाई पुग्ने फलाम छ, तर जमिनमुनि लुकेर बसेको छ । यो खानीको विकास गरे फलामको आयात घटनेछ । स्टिलका उद्योग फस्टाउनेछन् । रोजगारी सिर्जना हुनेछ । स्वदेशी पुँजी स्वदेशमै रहनेछ । त्यसैकारण जति सक्दो चाँडो सरकारले यो खानी सञ्चालन गर्नेतर्फ ध्यान दिनुपर्छ ।
नवलपुर : ‘धौवादी फलाम खानीले नेपाललाई सय वर्ष पुग्ने फलाम दिन्छ, त्यसपछि हामीकहाँ सयौं फलाम स्टिल उद्योगहरू स्थापना हुनेछन्’, प्रधानमन्त्री केपी शर्मा ओलीले गत असार ६ गते ललितपुरको ग्वार्को ओभरपास उद्घाटन समारोहमा भने । प्रधानमन्त्रीको अभिव्यक्तिले देशैभर धौवादी फलाम खानीप्रति चासो र चर्चा पुनः चुलियो । कामले पनि तीव्रता पाएको छ ।
प्रधानमन्त्री ओलीले उक्त समारोहमा धौवादी फलाम खानीले मुलुकको आर्थिक विकास र औद्योगिकीकरणमा नयाँ युगको सुरुवात गर्ने उल्लेख गर्दै यसले विदेशी आयातमा निर्भरता घटाउने र स्वदेशमै रोजगारीका अवसरहरू सिर्जना गर्ने बताएका थिए । उनले यो परियोपादीजना सफल भए मुलुकमा फलामको आवश्यकता पूरा गर्ने मात्र नभई, फलाममा आधारित उद्योगहरूको विकासमार्फत आत्मनिर्भर र समृद्ध राष्ट्र बन्ने बाटो खुल्ने विश्वास व्यक्त गरेका थिए ।
ऐतिहासिक पृष्ठभूमि र सम्भाव्यता
फलाम निकाल्न यहाँका मानिसलाई ‘खानिंगे खलक’ भन्ने चलन पनि थियो । स्थानीयको भनाइमा करिब एक सय वर्षदेखि यो अभ्यास हुँदै आएको थियो । पछिल्लो समय खानीमा फलाम निकाल्ने क्रममा सुरुङ बनेको र सोही सुरुङमा परी मजदुरहरूले ज्यान गुमाएकाले स्थानीयले फलाम निकाल्न छाडेको गिरीको लेखमा उल्लेख छ । यस खानीको औपचारिक अध्ययन २०६९ देखि २०७५ सम्म खानी तथा भूगर्भ विभागका विज्ञहरूले विभिन्न चरणमा गरेका थिए । उक्त अध्ययनले नाम्जाकोटदेखि धौबादी क्षेत्रसम्म फैलिएको लगभग १० किलोमिटर भूभागमा फलामको ठूलो भण्डार रहेको तथ्य प्रमाणित गरेको छ ।
२०७६ भदौ ४ गतेको मन्त्रिपरिषद् बैठकले ‘धौवादी फलाम कम्पनी लिमिटेड’ स्थापना गर्ने निर्णय गर्यो । सोही वर्ष असोज ९ गते कम्पनी दर्ता भई फागुनदेखि सञ्चालनमा आएको यो कम्पनीले मुलुकमा पहिलो पटक फलाम उत्खनन र प्रशोधनको आधुनिक युगको सुरुआत गरेको थियो ।
प्राविधिक र आर्थिक अध्ययन
धौवादी फलाम खानीमा आधारित स्टिल उद्योगको सम्भाव्यता अध्ययन भारतको एम एन्ड दस्तुर, एसआरके कन्सल्टिङ र नेपालको जेड कम्पनीले आठ महिनासम्म संयुक्त रूपमा गरे । यसले धौवादी फलाम खानीमा रहेको फलामको भण्डार र गुणस्तर औद्योगिक उत्पादनका लागि सक्षम रहेको निष्कर्ष निकाल्यो । 
धौबादी फलाम खानी ४१ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । दैनिक १५ सय टन फलाम उत्पादन गर्ने क्षमता रहेको बताइएको छ । यो उत्पादनले वार्षिक २७ लाख टन फलामजन्य वस्तु आयात गर्ने नेपालको मागको करिब एक चौथाइ प्रतिस्थापन गर्न सक्छ ।
कामले तीव्रता पाउँदै
धौवादी फलाम खानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत डा. जनकबहादुर चन्दले परियोजनाको कामले तीव्रता पाएको बताए । ‘खानी योजना कार्य सम्पन्न भइसकेको छ र सूचीकृतका लागि खानी तथा भूगर्भ विभागमा पेस गरिएको छ,’ चन्दले भने, ‘विशेष सम्भाव्यता अध्ययनको आधारमा विभिन्न ग्रेडिङ गरिएको छ । प्रारम्भिक लगानी ५२ देखि ५५ अर्ब रुपैयाँको आकलन छ । ५५ प्रतिशत सेयर सरकार र ४५ प्रतिशत निजी क्षेत्रलाई दिने गरी पीपीपी मोडेलअनुसार सञ्चालन गर्ने तयारी छ ।’
डा. चन्दका अनुसार कुनै अवरोध नआएमा २०८५ सालको अन्त्यसम्ममा उत्पादन सुरु हुने अपेक्षा छ । प्रतिदिन १५ सय टन फलाम उत्पादन गर्ने लक्ष्य राखिएको उनले बताए । उनले भने, ‘ईआईए (पर्यावरणीय प्रभाव मूल्यांकन) र डीपीआर (विस्तृत परियोजना रिपोर्ट) को काम छिट्टै सुरु हुनेछ । प्रधानमन्त्रीले परियोजनामा निरन्तर चासो र समर्थन दिँदा कामले द्रुत गति लिएको छ ।’ उनले खानीसम्म पुग्ने सडकको स्तरोन्नति भइरहेको र विद्युत् आपूर्तिका लागि २२० केभी ट्रान्समिसन लाइनको प्रक्रिया अघि बढेको जानकारी दिए ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले फलाम खानीको डीपीआर बनाउने चरणमा काम भइरहेको बताए । उनले भने, ‘डीपीआरको चरणमा छ, यो एउटा महत्त्वपूर्ण परियोजना भएकाले यसमा धेरै नै सोचविचार गरेर काम भइरहेको छ । हामीलाई यो पहिलो अनुभव पनि भएकाले विदेशीविज्ञ ल्याएर काम गर्नुपर्ने अवस्था छ ।’ उनले डीपीआरकै लागि पनि इन्टरनेसनल विडिङ गरेर जानुपर्ने आवश्यकता रहेकाले काममा केही ढिलाइ हुन सक्ने बताए । ‘कुन मोडलमा काम गर्ने भन्ने टुंगो लागेको छैन । जीटूजी सहयोग लिएर काम गर्ने कि, विदेशी विज्ञ ‘हायर’ गर्ने भन्ने छलफलमै छ । यसमा प्रधानमन्त्रीको चासो रहेकाले प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालयसँग पनि निरन्तर छलफल भइरहेको छ’, उनले भने ।
बस्नेतले धौबादी फलाम खानीको सञ्चालन पछि फलाम आयातलाई प्रतिस्थापन गर्ने सरकारको नीति रहेको बताए । उनले भने, ‘हाल खानी सञ्चालनको मोडलहरूबारे गम्भीर छलफल चलिरहेको छ । सरकारले मुख्य सेयर राख्ने कि, निजी क्षेत्रलाई मुख्य सेयर दिने भन्ने पनि छलफलमा नै छ’, उनले भने । उनले फलाम खानीको सञ्चालनपछि यसले देशको अर्थतन्त्रमा ठूलो टेवा दिने बताए ।
गुणस्तर परीक्षण र ऊर्जा उत्पादन
धौवादी फलाम खानीबाट प्राप्त फलामको नमुना चीनको सिचुआन मेटालोजिकल इन्स्टिच्युट, छेन्दुमा परीक्षण गरिएको थियो । परीक्षणले फलाम औद्योगिक उत्पादनका लागि गुणस्तरीय र उपयुक्त रहेको प्रमाणित गर्यो । यो उद्योग सञ्चालन गर्दा प्रयोग हुने डाइरेक्ट रिड्युस आइरन प्लान्टबाट ७० मेगावाट विद्युत् उत्पादन हुने सम्भावनाले ऊर्जा क्षेत्रमा पनि नयाँ अवसर ल्याउने अपेक्षा गरिएको छ ।
लगानी संरचना र जग्गा अधिग्रहण
सुरुमा ५५ प्रतिशत सरकारी र ४५ प्रतिशत निजी क्षेत्रको लगानी हुने प्रारूप प्रस्ताव भए पनि अन्तिम लगानी संरचना अझ टुंगो लाग्न बाँकी छ । उद्योग स्थापनाका लागि कम्पनीले र देवचुली नगरपालिकाको लोकाहा क्षेत्र र हुप्सेकोटको पाङ्ग्रेघाटमा जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढाएको प्रमुख कार्यकारी अधिकृत चन्दले बताए ।
उद्योग मन्त्रालयका प्रवक्ता एवं खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले भने, ‘धौवादी फलाम खानीबाट उत्पादन सुरु भएमा देशको अर्थतन्त्रमा ठूलो टेवा पुग्नेछ । यो परियोजनाले विदेशी आयातमा निर्भरता घटाउने, रोजगारी सिर्जना गर्ने र आर्थिक विकासको गति तीव्र बनाउनेछ ।’
गाउँपालिका उत्साहित
धौवादी फलाम खानी रहेको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले यस परियोजनालाई स्थानीय विकास र समृद्धिको अभूतपूर्व स्रोत भएको बताइन् । उनले भनिन्, ‘यो खानीले गाउँपालिकामात्र नभई समग्र देशको सामाजिक र आर्थिक विकासमा ठूलो योगदान पुर्याउनेछ । यसले स्थानीय युवाहरूलाई रोजगारीका अवसर प्रदान गरी आर्थिक सशक्तीकरण गर्नेछ ।’
अध्यक्ष पाण्डेले परियोजनासँग सम्बन्धित पूर्वाधार विकासमा पनि उत्साहजनक प्रगति हुन नसकेको बताइन् । उनले भनिन्, ‘खानीसम्म पुग्ने सडक सुधार र विद्युत् आपूर्तिमा भइरहेको ढिलाइले निराश बनाएको छ । यसलाई छिटो अगाडि बढाउनु आवश्यक छ । पूर्वाधार विकासले यहाँको जीवनस्तरमा उल्लेख्य सुधार ल्याउनेछ । दु्रत गतिमा काम गर्नु आवश्यक छ ।’ गाउँपालिका कार्यालयबाट पनि पूर्ण सहयोग र सहकार्य गर्न आफूहरू प्रतिबद्ध रहेको उनले बताइन् । ‘धौवादी फलाम खानीले देशमा फलाम उत्पादन गरेर आयातमा निर्भरता कम गर्ने भएकाले राष्ट्रिय अर्थतन्त्रमा समेत ठूलो टेवा पुग्नेछ । हामी स्थानीय तहबाट वातावरण संरक्षण र समुदायको हितमा ध्यान दिन कडा निगरानी गर्नेछौं’, उनले भनिन् ।
वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट आउन बाँकी रहेकाले अहिले नै धेरै नकारात्मक टिप्पणी गर्नु आवश्यक नरहेको उनको भनाइ छ । ‘धौवादी फलाम खानी आफ्नो गाउँपालिका क्षेत्रमा हुनुलाई सकारात्मक रूपमा लिएका छौं, प्राविधिक रिपोर्ट आएपछि धेरै कुरा भन्न सकिन्छ । संघीय सरकारले अगाडि बढाएको परियोजनामा हामीले सहयोग नै गरेर अघि बढेका छौं’, उनले भनिन् ।
के भन्छन् स्थानीय ?
फलाम खानी रहेको हुप्सेकोट—५ का वडाध्यक्ष पदमबहादुर रानाले आफ्नो वडामा फलाम खानी सञ्चालन हुने कुराले आफूहरू उत्साहित भएको बताए । उनले खानीका लागि आवश्यक पूर्वाधार निर्माणमा भइरहेको ढिलाइले भने आफूहरूलाई निराश बनाएको बताए । ‘फलाम खानी सञ्चालन हुने कुराले हामी उत्साहित छौं,’ उनले भने, ‘यसले देशको अर्थतन्त्रमा टेवा पुग्छ भन्ने लाग्छ । स्थानीय स्तरमा पनि प्रशस्त रोजगारी सिर्जना हुन्छन् भन्ने लाग्छ । तर काममा तीव्रता हुनुपर्यो ।’ खानी कसरी सञ्चालन हुन्छ भन्ने रिपोर्ट अझै आइनसकेकाले स्थानीय अन्योलमा परेको उनले बताए । ‘विस्तृत कुरा त रिपोर्ट आएपछि थाहा होला ।
त्यसकारण अहिले हामीले धेरै टिप्पणी गर्दैनौं, बरु यसको काम छिटो अगाडि बढे हुन्थ्यो भन्ने छ’, उनले भने । उनले पूर्वाधार विकासका लागि भनेर गत वर्ष आएको बजेटबाट पनि काम हुन नसकेको भन्दै यस वर्ष बजेट खेर जान दिन नहुने बताए । हुप्सेकोट गाउँपालिका—३, गिरुबारीका आशिष रेग्मीले परियोजनालाई स्थानीय समुदायले सकारात्मक तरिकाले हेरिरहेको बताए । उनले भने, ‘यहाँका जनताले धौवादी फलाम खानीलाई नयाँ आशा र आर्थिक विकासको अवसरको रूपमा लिएका छन् । युवालाई रोजगारी दिने सम्भावनाले गाउँमा बसोबास बढ्ने र जनजीवनमा सुधार आउने अपेक्षा छ ।’
परियोजनाका सामाजिक र आर्थिक प्रभाव
धौवादी फलाम खानीले स्थानीय र राष्ट्रियस्तरमा धेरै सामाजिक र आर्थिक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ । प्रत्यक्ष रूपमा २ हजारदेखि २५ सय जनालाई रोजगार दिने यो उद्योगले अप्रत्यक्ष रूपमा २० हजारदेखि २५ हजार जनालाई रोजगारीका अवसर प्रदान गर्ने अनुमान छ ।
स्थानीय युवालाई व्यावसायिक प्रशिक्षण र सीप विकासका कार्यक्रमहरूमार्फत सक्षम बनाउने प्रमुख कार्यकारी अधिकृत चन्दले बताए । स्थानीय समुदायले पनि यस परियोजनाबाट स्वास्थ्य, शिक्षा र पूर्वाधार क्षेत्रहरूमा सुधारको अपेक्षा गरेका छन् । साथै, कृषि क्षेत्रसँग सम्बन्धित जल व्यवस्थापन र वातावरणीय संरक्षण कार्यक्रमहरूलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने उनीहरूको माग छ ।
पूर्वाधार विकासको खाँचो
धौवादी फलाम खानीको सफल सञ्चालनका लागि सडक, विद्युत् र सञ्चारजस्ता पूर्वाधारहरू सुधार हुनु आवश्यक रहेको हुप्सेकोट गाउँपालिका अध्यक्ष पाण्डेले बताइन् । ‘अहिले सामान्य बाटो खोलिएको छ । त्यसलाई कालोपत्रे गर्नु आवश्यक छ तर त्यस काममा ढिलाइ हुँदा स्थानीय विश्वस्त हुन सकिरहेका छैनन्’, उनले भनिन् ।
चुनौती र सम्भावित समाधान
खानी उद्योग सञ्चालनमा वातावरणीय असर, लगानी संरचना, प्राविधिक दक्षता र स्थानीय जनताको सहभागितालगायतका चुनौती छन् । यी समस्याहरूलाई सम्बोधन गर्न सरकारले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) र व्यवसाय योजना (डीपीआर) को काम छिट्टै सुरु गर्नुपर्ने हुन्छ । ती कामहरू पूरा नभइन्जेल खानी कसरी सञ्चालन हुन्छ भन्ने अन्योलता कायमै छ । स्थानीय तह र फलाम खानी लिमिटेडबीच राम्रो समन्वय, पारदर्शिता र समुदायसँगको संवाद आवश्यक देखिन्छ । आधुनिक प्रविधि र दिगो विकासका मापदण्ड अपनाएर परियोजनालाई सफल बनाउनु जरुरी छ ।
उत्साहसँगै त्रास पनि
हुप्सेकोट गाउँपालिकाका स्थानीय फलाम खानी सञ्चालन हुने कुराले जति उत्साहित छन्, त्यत्ति नै उनीहरूमा त्रास पनि छ । फलाम खानी सञ्चालन भएपछि पानीका मुलहरू सुक्ने, बस्ती जोखिममा पर्नेलगायतका त्रास स्थानीयमा रहेको गाउँपालिका अध्यक्ष पाण्डेले बताइन् । उनले भनिन्, ‘गाउँलेहरूमा बस्ती जोखिममा पर्छ कि भन्ने त्रास छ । पानीका मूल सुक्छन् भन्ने चिन्ता छ तर प्राविधिक रिपोर्ट नआई केही भन्न सकिन्न ।’ उनले छिटोभन्दा छिटो ईआईए गर्न सुझाव दिइन् ।
स्थानीय आशिष रेग्मी पनि गाउँलेहरूको चिन्ता स्वाभाविक भएको बताउँछन् । उनले भने, ‘धेरै थरी मान्छेले धेरै थरी कुरा सुनाएका हुन्छन् । त्यसकारण पनि त्यस्तो चिन्ता हुनु स्वाभाविक हो । गाउँलेहरूमा अझै उत्साह पैदा गर्ने हो भने तत्काल ईआईए गर्नु आवश्यक छ ।’
उनले स्थानीयको जायज जिज्ञासाको जवाफ दिनु धौवादी फलाम खानी लिमिटेडको कर्तव्य भएको बताए । फलाम खानी परियोजना नेपालको औद्योगिक विकास र आत्मनिर्भरताको महत्त्वपूर्ण पाइला हो । यसले विदेशी आयातमा निर्भरता घटाउने, रोजगारी सिर्जना गर्ने, स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउने र राष्ट्रिय स्वाभिमान बढाउने ठूलो अवसर प्रदान गर्नेछ । प्रधानमन्त्री ओलीले व्यक्त गरेका विश्वासअनुसार यो खानीले नेपाललाई फलाम उत्पादनमा सय वर्ष पुग्ने स्रोत दिनेछ र फलाममा आधारित उद्योगहरूको विकासमार्फत समृद्ध राष्ट्रको सपना साकार पार्नेछ ।
कुनै अवरोध नआएमा २०८५ को अन्त्यसम्ममा उत्पादन सुरु हुने अपेक्षा छ । प्रतिदिन १५ सय टन फलाम उत्पादन गर्ने लक्ष्य राखिएको छ । ईआईए (पर्यावरणीय प्रभाव मूल्यांकन) र डीपीआर (विस्तृत परियोजना रिपोर्ट ) को काम छिट्टै सुरु हुनेछ । प्रधानमन्त्रीले परियोजनामा निरन्तर चासो र समर्थन दिँदा कामले द्रुत गति लिएको छ ।
डा. जनकबहादुर चन्द, प्रमुख कार्यकारी अधिकृत, धौबादी फलाम खानी लिमिटेडफलाम खानीको डीपीआर बनाउने चरणमा अहिले काम भइरहेको छ । यो एउटा महत्त्वपूर्ण परियोजना भएकाले यसमा धेरै नै सोचविचार गरेर काम भइरहेको छ । हामीलाई यो पहिलो अनुभव पनि भएकाले विदेशी विज्ञ ल्याएर काम गर्नुपर्ने अवस्था छ । कुन मोडलमा काम गर्ने भन्ने छलफलकै क्रममा छ । जीटूजी सहयोग लिएर काम गर्ने कि, विदेशी विज्ञहरू हायर गर्ने भन्ने कुरा छलफलमै छ । यसमा प्रधानमन्त्रीको चासो रहेकाले प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालयसँग पनि निरन्तर छलफल भइरहेको छ ।
जितेन्द्र बस्नेत, प्रवक्ता, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयधौवादी फलाम खानीले गाउँपालिकामात्र नभई समग्र देशको सामाजिक र आर्थिक विकासमा ठूलो योगदान पुर्याउनेछ । यसले स्थानीय युवाहरूलाई रोजगारीका अवसर प्रदान गरी आर्थिक सशक्तीकरण गर्नेछ । देशमै फलाम उत्पादन गरेर आयातमा निर्भरता कम गर्ने भएकाले राष्ट्रिय अर्थतन्त्रमा समेत ठूलो टेवा पुग्नेछ । हामी स्थानीय तहबाट वातावरण संरक्षण र समुदायको हितमा ध्यान दिन कडा
निगरानी गर्नेछौं ।
लक्ष्मीदेवी पाण्डे, अध्यक्ष, हुप्सेकोट गाउँपालिका
प्रतिक्रिया दिनुहोस !