पर्यटक पर्खाइमा मुस्ताङको ‘लुम्बुक गुफा’

पर्यटक पर्खाइमा मुस्ताङको ‘लुम्बुक गुफा’
सुन्नुहोस्

जोमसोम : अग्ला—अग्ला विशाल कडा चट्टानी पहाड । त्यही विशाल पहाडको फेदसँगै जोडिएको छ धार्मिक तीर्थस्थल ‘लुम्बुक गुफा’।  यो गुफा मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—५ स्थित धार्काजुङ र फल्याक गाउँको माथि पश्चिमतर्फको उचाइको विशाल चट्टानी पहाडमा अवस्थित छ ।

निकै ठूलो ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेर पनि यहाँको ‘लुम्बुक’ गुफा आवश्यक प्रचारप्रसार तथा पर्यटन प्रवद्र्धनात्मक कार्य हुन नसक्दा अहिलेसम्म पनि ओझेलमा पर्दै आइरहेको छ ।

यहाँको लुम्बुक गुफामा १५औैं शताब्दीमा गुरु रिम्पोर्छे अर्थात् पद्यसम्भवले ध्यान/साधना गरी बसेको भन्ने धार्मिक किंवदन्ती रहेको छ । यहाँको गुफालाई बुद्ध धर्मअन्तर्गत निङ्मापा धर्म सम्प्रदायसँग पनि जोडिने गरिएको छ । यहाँको लुम्बुक गुफा यहाँको वारागुङ मुक्तिक्षेत्र—५ स्थित धार्काजुङ र फल्याक गाउँको साझा धार्मिक तीर्थस्थलको रूपमा लिने गरिएको छ ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिङजिन नामगेल गुरुङले यहाँको लुम्बुक गुफामा गुरु पद्यसम्भवले ध्यान गरेर बसेको गुफाको रूपमा लिने गरिएको बताए । उनले यहाँको गुफा निकै ठूलो धार्मिक आस्था र विश्वासको धरोहरको रूपमा लिने गरिएको भए पनि यहाँको आवश्यक प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको उल्लेख गरे ।

गुरु पद्यसम्भवले ध्यान साधना गरेको यहाँको लुम्बुक गुफाभित्रै निकै आश्चर्यचकित लाग्ने प्राकृतिक रूपमा निर्माण भएका ऐतिहासिक किंवदन्ती विद्यमान छ । गुरु पद्यसम्भवले ध्यान गरेको बताइने यहाँको लुम्बुक गुफाभित्र गुरु पद्यसम्भवको प्राकृतिक रूपमा निर्माण भएको स—साना प्रतिमा अवलोकन गर्न सकिन्छ । गुफाभित्र पस्न सर्वसाधारणलाई केही कठिन हुन्छ ।

गुफाभित्र पस्दा टाउको निहुर्‍याएरमात्रै जानुपर्छ । पद्यसम्भवले ध्यान गरेको गुफाभित्र देवीदेवताले त्यस समय अन्नबाली लगाउने गरेको खेतबारीको आकृतिको सचित्र देख्न सकिन्छ । गुफाभित्रको भित्तामा चट्टान कुदिएजस्तै गरी प्राकृतिक रूपमा निर्माण भएको पुरुष र महिलाले सहवास गरेको यौनाङ्गको आकृति अवलोकन गर्न सकिने गाउँपालिका अध्यक्ष गुरुङले बताए । सन्तान प्राप्त गर्न नसकेका दम्पतीहरूले यहाँको गुफाभित्र दर्शन गरेमा सन्तान प्राप्ति हुने जनविश्वास रहेको गाउँपालिका अध्यक्ष गुरुङको भनाइ छ ।

यसैगरी, यहाँको धार्मिक महत्त्वको लुम्बुक गुफाभित्रको अर्को स्थानमा शिवजीको लिंग, गुफाभित्र सूर्य र चन्द्रामा अंकित आकृति देख्न सकिन्छ । यहाँको गुफाभित्र धार्मिक सम्पदाहरू कुनै कालिगडले कँुदेको नभई प्राकृतिक रूपमा स्वतः आफैं उत्पसत्त भएको अध्यक्ष गुरुङले उल्लेख गरे ।

विशाल पहाडको फेदमा अवस्थित लुम्बुक गुफाको प्रवेश मार्गमा विशाल हात्तीको सुँढजस्तो ठूलो चट्टानी कलात्मक आकृति देख्न सकिन्छ । यही हात्तीको सुँढबाट छिरेर गुफाभित्र पस्नुपर्ने हुन्छ । गुफाभित्रको जमिनमा दलदले पानी छ । यहाँको गुफाभित्रको चट्टानमा पानी रसाइरहने भएकाले यहाँको पानीलाई सर्वसाधारण भक्तजनहरूले पवित्र जलको रूपमा प्रयोग गर्ने गरिएको छ । यहाँ विशेष महत्त्वपूर्ण चाडपर्वमा विशेष पूजाआजा गर्ने गरिन्छ ।

यहाँ मुख्य पद्यसम्भवले ध्यान गरेको गुफानजिकै अर्को विशाल ओढार छ । ओढारभित्र पनि अर्को एक सानो प्वाल परेका गुफा छन् । गुफा नजिकको ओढारमा फल्याक र धार्काजुङ गाउँका स्थानीयले पूजाआजा गर्ने स्थान छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका उपाध्यक्ष दिकी गुरुङले यहाँको गुफा नजिकको ओढारमा लामाहरूले ध्यान साधना (छम) बस्ने गरेको बताए । यहाँको गुफा भएको स्थान ध्यान साधना गर्ने व्यक्तिलाई समेत उपयुक्त स्थान रहेको उपाध्यक्ष गुरुङको भनाइ छ । यहाँको गुफा नजिक ध्यान गर्ने स्थल, बत्ती बाल्ने ठाउँ, खाना पकाएर खाने किचनको व्यवस्था, पूजापाठ गर्ने ठाउँ र शौचालय आदि गाउँपालिकाको सहयोगमा निर्माण भएको उपाध्यक्ष गुरुङले जानकारी दिए ।

बर्सेनि हिउँदयामको पुस, माघ र फागुन महिना यहाँको गुफा र गुफा रहेको चट्टानी विशाल पहाड सेताम्मे हिउँले सुसज्जित हुने गरेको वारागुङ—५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिए । ‘बर्खायाममा यहाँको गुफा र पहाड हेर्दा सामान्य पहिरनमा देखिन्छ, जाडो समयमा यहाँ पानी नै बरम बनेर जम्ने भएकाले यहाँको गुफा रहेको स्थानले यहाँ आउने जोकोही पर्यटकलाई मोहित तुल्याउछ’, वडाध्यक्ष गुरुङले भने ।

भिरालो सतहमा अवस्थित यहाँको गुफा समुद्री सतहको करिब चार हजारभन्दा माथिको उचाइमा लुम्बुक गुफा रहेको छ । गुफासम्म पुग्न प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले गोरेटो बाटो निर्माण गरेकाले त्यहाँ दर्शन गर्न जाने पर्यटक तथा दर्शनार्थीलाई निकै सहज तुल्याएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.