अर्घाखाँचीमा ९४ प्रतिशत धान रोपाइ
अर्घाखाँची : अर्घाखाँचीमा धान खेती हुने क्षेत्रफलको ९४ प्रतिशतमा धान रोपाई गरिएको छ। अघिल्लो वर्षभन्दा यो वर्ष पानी कम परेपछि जिल्लाका विभिन्न स्थानमा रहेको ६ हजार ३ सय ५४ हेक्टर क्षेत्रफलमा धान रोपाई भएको कृषि ज्ञान केन्द्रका कृषि अधिकृत टिकाराम न्यौपानेले बताए।
अर्घाखाँचीमा ६ हजार ७ सय ६० हेक्टर क्षेत्रफलमा धान रोपाइ हुनेमा आइतबारसम्म ९४ प्रतिशत अर्थात् ६ हजार ३ सय ५४ हेक्टरमा धान रोपाइ गरिएको उनले बताए। आर्थिक वर्ष २०७५/७६ मा ७ हजार ४ सय २५ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा अहिले त्यो क्षेत्रफल घटेर ६ हजार ३ सय ५४ हेक्टरमा झरेको छ।
धान खेती गरिएको जमिनको क्षेत्रफल घटेपनि धानको उत्पादनमा भने कमी नआएको कृषि ज्ञान केन्द्रका प्रमुख बुद्धिराज घिमिरेले जानकारी दिए। आर्थिक वर्ष २०७५/७६ मा २४ हजार १ सय ३१ मेट्रिक टन धान उत्पादन भएकोमा गत आर्थिक वर्ष २०८०/८१ मा २५ हजार ८ सय ८७ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र अर्घाखाँचीको तथ्याङ्क रहेको छ।
खेती गर्ने प्रविधिको विकास, उन्नत तथा हाइब्रिड बिउको प्रयोग, प्राङ्गारिक तथा रासायनिक मलको प्रयोग जस्ता कारणले उत्पादनमा कुनै कमी नआएको कृषि ज्ञान केन्द्रका प्रमुख बुद्धिराज घिमिरेको भनाई छ।
प्रतिक्रिया दिनुहोस !