६५ वर्ष भूमिगत मोहनविक्रम अब खुला राजनीतिमा

९० वर्षमा खुला राजनीतिमा

६५ वर्ष भूमिगत मोहनविक्रम अब खुला राजनीतिमा

काठमाडौं : लामो समयदेखि भूमिगत र अर्धभूमिगत रहेका नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह खुला राजनीतिमा आएका छन् । साउन ९ र १० गते बसेको केन्द्रीय समितिको बैठकले पार्टी महामन्त्री सिंहलाई सार्वजनिक गर्ने निर्णय गरेको हो । 

महामन्त्री सिंह पञ्चायतकालमा पूरै भूमिगत अवस्था थिए । सिंहविरुद्ध वारेन्ट जारी गरिएको थियो । बहुदलीय अवस्था आएपछि सिंहविरुद्ध वारेन्ट थिएन तर नेकपा मसालले आफ्नो संगठनलाई भूमिगत राख्ने निर्णय ग¥यो । बहुदलमा केन्द्रीय वा जिल्ला स्तरमा प्रवक्ताहरूलाई खुला राख्ने र महामन्त्री सिंहलाई अर्धभूमिगत राख्ने नीति अपनाइएको थियो । अर्धभूमिगतको अवस्थामा कुनै स्पष्ट व्याख्या थिएन । 

विभिन्न समयमा परिस्थिति वा आवश्यकताअनुसार त्यसबारे बेग्ला–बेग्लै निर्णयहरू हँुदै आएका थिए । पहिले फोटो खिच्न पनि नदिने, टिभी, रेडियोमा गएर अन्तर्वार्ता पनि नदिने नीति अपनाइएको थियो । पछि यो नीतिमा खुला र खुकुलो पार्दै जाने नीति अपनाइएको थियो । पछिल्लो समयमा बाह्य र सार्वजनिक कार्यक्रममा नजाने तर आन्तरिक कार्यक्रमहरूमा सामेल हुन सक्ने नीति अख्तियार गरियो । अर्धभूमिगत अवस्थामा पनि बेग्ला–बेग्लै समयमा बेग्लाबेग्लै निर्णयहरू हुँदै आएका छन् । गणतन्त्र आएपछि पनि उनी अर्धभूमिगत अवस्थामा नै रहे । 

अब देशमा बढिरहेको प्रतिगमन र साम्राज्यवादका कारणले देशको राष्ट्रिय र सार्वभौमिकतामा खतरा बढ्दै गएकाले जनताबीच गएर खुला रूपमा विचार लैजानुपर्ने भएकाले आफू सार्वजनिक हुनु परेको प्रेस विज्ञप्तिमार्फत उनले जनाएका छन् । मसालको केन्द्रीय समिति बैठकले पार्टीको संगठनात्मक प्रणाली पहिले जस्तै भूमिगत रहने निर्णय गरेको छ । महामन्त्री सिंहद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको संगठनात्मक प्रणाली पहिले जस्तो नै भूमिगत रहनेछ र पार्टीका प्रवक्ताहरू खुला राख्ने पहिलेको नीति कायम रहनेछ ।’ 

२००६ साल वैशाख १० मा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीको २०१४ सालमा केन्द्रीय सदस्यमा निर्वाचित भएका सिंह निरन्तर कम्युनिस्ट राजनीतिमा क्रियाशील छन् । प्युठानका सिंह २०१४ साल जेठ १५ देखि २५ सम्म काठमाडौंमा भएको नेकपाको दोस्रो महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । नेकपाको दोस्रो महाधिवेशनले केशरजंग रायमाझीलाई महासचिवमा निर्वाचित गरेको थियो । 

२०१७ पुस १ मा तत्कालीन राजा महेन्द्रले कु गरेर शासनसत्ता आफ्नो हातमा लिए । राजाको कदमको विषयमा त्यो बेला कम्युनिस्ट पार्टीको दुई धार भयो । महासचिव रायमाझीले राजाको कदमलाई स्वागत गरे । पुष्पलाल, मोहनविक्रम सिंह, तुलसीलाल अमात्य र मनमोहन अधिकारीले राजा महेन्द्रको कदमको विपक्षमा थिए । पञ्चायती शासन आएपछि २०१९ वैशाख ४ देखि १५ सम्म भारतको बनारसमा नेकपाको तेस्रो महाधिवेशन भयो । त्यो महाधिवेशनमा तुल्सीलाल अमात्य महासचिव भए भने सिंह पोलिटब्युरो सदस्यमा निर्वाचित भए । त्यो बेला पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी पनि पोलिटब्युरो सदस्यमा नै निर्वाचित भएका थिए । तेस्रो महाधिवेशनसँगै नेकपाभित्र विवाद र अन्तरसंघर्ष चुलिँदै गयो । रायमाझीकोे समूह छुट्टै रह्यो । उनी राजावादी नै भए ।

कम्युनिस्ट आन्दोलन छरिएर रहेको र कम्युनिस्ट पार्टी विभाजित रहेको अवस्थामा यसलाई संयोजन गर्नका लागि २०२८ मंसिर २० मा नेता सिंहसहित मनमोहन अधिकारी र शम्भुराज श्रेष्ठ लगायतका नेताहरू समेटर ‘केन्द्रीय न्युक्लियस’ गठन गरियो र एकताका लागि कोसिस थालियो तर एकताका लागि न्युक्लियसले पुष्पलालसँग पनि वार्ता र छलफल गरेर सहमति गर्न सकेन । 

उता २०२८ सालमा झापामा सीपी मैनालीको नेतृत्वमा छुट्टै समूह बन्यो । झापा विद्रोह भनेर इतिहासमा अंकित छ । २०३१ भदौ ३० देखि असोज ७ सम्म भारतको वारानासीमा मोहनविक्रम सिंहको अगुवाईमा चौथो महाधिवेशन भयो । एउटा समूह मोहनविक्रम सिंह र अर्को समूह सीपी मैनालीको नेतृत्वमा रह्यो । 

मैनालीले नेतृत्व गरेको पार्टी नै अहिले आएर नेकपा एमाले बनेको हो । कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल भने दुवै समूहमा अटाएनन् ।

सबै विभाजित कम्युनिस्टहरूलाई मिलाएर एकता कायम गर्नेतर्फ भन्दा नयाँ समूह बनाएर मोहनविक्रम सिंह अघि बढे । यसलाई मोहनविक्रम सिंहको नेतृत्वमा नेकपा (चौथो महाधिवेशन)का नामले चिनिन थाल्यो । सिंहले छुट्टै कम्युनिस्ट पार्टी अघि बढाए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सिंहकै पछि लागे । २०३६ सालको जनमत संग्रह मोहनविक्रम सिंह नेतृत्वको चौथो महाधिवेशनले बहिस्कार ग¥यो । तर, पार्टीभित्र भने मतभेद भयो । निर्मल लामाहरूले जनमत संग्रहको उपयोग गर्नुपर्छ भन्ने पक्ष रहे तर पार्टीमा सिंह नै बलियो भएकाले जनमत संग्रह बहिस्कार गरियो । त्यो विवाद उत्सर्गमा पुगेर सिंह नेतृत्वको चौथो महाधिवेशन पनि विभाजित भयो ।

२०४० सालमा निर्मल लामा समूहले पार्टी फुटायो । त्यसको नाम नेकपा (चौम) राखे । सिंह समूहले पार्टीको नाम नेकपा (मसाल) राखे । नेकपा (मसाल)को महामन्त्री सिंह बने । त्यसपछि नेकपा मसालको पाँचौं महाधिवेशन भयो ।

महाधिवेशनमा सिंहको नीति पास भयो । पाँचौं महाधिवेशनबाट नेकपा मसालको महासचिवमा मोहन वैद्य किरण निर्वाचित भए । तर, पार्टी विवाद थामिएन । २०४१ सालको महाधिवेशनमा सिंह र मोहन वैद्य समूहको विवाद भयो । २०४२ सालमा सिंहले चित्रबहादुर केसी लगायतलाई लिएर नेकपा (मसाल) बनाए भने वैद्यको नेतृत्वमा नेकपा (मशाल) भयो । मोटो मशाल र पातलो मसाल भन्ने दुई पार्टी भए । सिंहलाई छोडेर वैद्यको नेतृत्वमा प्रचण्ड रहे । २०४२ मा नै भएको सेक्टर काण्डमा वैद्यलाई पनि विस्थापित गरेर प्रचण्डले नेतृत्व हत्याए । ३६ वर्षदेखि प्रचण्ड पनि नेतृत्वमा नै छन् । पार्टीको नामसमेत परिवर्तन नगरी सिंह पनि नेकपा मसालको महामन्त्री अहिलेसम्म पनि विद्यमान छन् । भूमिगत मोर्चाका रूपमा नेकपा मसाल रहे पनि त्यसको खुला संगठनका रूपमा भने राष्ट्रिय जनमोर्चा छ ।

वि.स. १९९२ वैशाख ३ मा जन्मिएका सिंह पञ्चायतकालमा ९ वर्ष जेल बसेका थिए । भूमिगत नै रहेका कारण सिंह ६५ वर्षको राजनीतिक जीवनमा कुनै लाभको पदमा आसिन भएका छैनन् । वैचारिक कम्युनिस्ट नेताका रूपमा सिंह क्रियाशील छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.