पूर्वसूचना प्रणाली, जीवनरक्षक लगानी
देशभरको जोखिम नक्सांकन गर्न सकियो भने कुन क्षेत्रमा बाढीपहिरो जान्छ वा भूकम्पको जोखिम छ, थाहा हुन्छ । र, सूचना प्रणालीबाट जोगाउन सकिन्छ ।
प्रकोपलाई रोक्न त सकिँदैन, यसको प्रभावलाई न्यूनीकरण गर्न भने अवश्य सकिन्छ। प्रकोपको चेतावनी र पूर्वसूचना प्रणाली यसको सबैभन्दा प्रभावकारी उपाय हो।
नेपाल भौगोलिक र जलवायु परिवर्तनका कारण विश्वकै उच्च प्रकोप जोखिमयुक्त देशमध्ये पर्छ । यहाँ झन्डै ८० प्रतिशत जनसंख्या प्राकृतिक विपद्को प्रत्यक्ष जोखिममा बाँचिरहेका छन् । हिमालदेखि तराईसम्म यहाँ विभिन्न भौगोलिक संरचनाका कारण मुख्यत : पाँच प्रकारका प्रकोप नियमित रूपमा देखा पर्छन् । जल उत्पन्न प्रकोप नेपालका लागि सबैभन्दा विनाशकारी हुने गरेको छ । खासगरी मनसुनको अवधिमा बाढीपहिरोजस्ता जलउत्पन्न प्रकोपले विभिन्न भूभागमा सताइरहन्छ । हिमताल फुटेर आउने बाढी अर्काे प्रकारको जलउत्पन्न प्रकोप हो । दोस्रो खालको विपद् चाहिँ भूकम्प र भूस्खलनजस्ता भूगर्भीय विपद्हरू हुन् । यस्ता विपद् अचानक आउने र व्यापक विनाश गर्छन् । नेपालमा बारम्बार व्यहोर्नुपर्ने तेस्रो खालको प्रकोप चाहिँ चट्याङ, आँधीबेहेरी, शीतलहर, उच्च तापक्रम र लुको जोखिम हुन् ।
शुष्क मौसममा हुने आगलागी र डढेलो नेपालको चौथो महत्त्वपूर्ण प्रकोप हो । यसका अतिरिक्त बेलाबेला आउने महामारी र स्वस्थ आपत्काल अर्काे महत्त्वपूर्ण प्रकोप हो । जसले सामाजिक र आर्थिक जीवनलाई गम्भीर असर पार्छ । पछिल्ला वर्र्षहरूमा अनियमियत मौसम चक्रका कारण यी प्रकोपका जोखिम झन्झन् बढ्दै गएका छन् । नेपाल प्रकोप प्रतिवेदन २०२४ का अनुसार सन् २०१८ देखि २०२४ का बीचमा सानादेखि ठूला गरी ३२ हजार ३ सय ७५ प्रकोपका घटना उल्लेख छन् । जसबाट ३ हजार ६ सय ७२ मानिसको मृत्य भएको, ४ सय ४६ मानिस हराइरहेको र ११ हजार ७ सय ५२ मानिस घाइते भएका छन् । पाँच वर्र्षको अवधिमा ५७ हजारभन्दा बढी घरमा क्षति पुगेको, ४३ हजारभन्दा बढी पूर्वाधार नष्ट भएको र १८ हजारभन्दा बढी पशुचौपायाको समेत मृत्यु भएको थियो । यो सबै क्षतिको आर्थिक मूल्यांकन २३.६ अर्ब रुपैयाँ बराबर गरिएको छ ।
प्रकोपमा पूर्व–सूचना प्रणालीको शक्ति : पूर्व–सूचना प्रणालीलाई आज विश्वभर प्रकोप जोखिम न्यूनीकरणको सबैभन्दा प्रभावकारी उपाय मानिएको छ । यो प्रणालीले प्राकृतिक प्रकोप आउनुअघि नै सम्बन्धित निकाय र जोखिममा रहेका समुदायलाई सचेत गराउँछ । प्राकृतिक प्रकोपमा जीवन र मृत्युबीचको अन्तर प्राय : केही मिनेटमै तय हुन्छ ।
पूर्व–सूचना प्रणालीले मानिसलाई सुरक्षित स्थानमा जान, सरसामान र जीवन जोगाउन आवश्यक ती निर्णायक मिनेट र कहिलेकाहीँ घण्टासम्म प्रदान गर्न सक्छ । पुर्व–सूचना प्रणाली प्रभावकारी भएका मुलुकका घटनाक्रमले यस्तो देखाएका छन् कि प्रकोपको पूर्वसूचना प्रणालीले प्राकृतिक प्रकोपमा मानवीय क्षति नाटकीय रूपमा घटाउन सक्छ । नेपालले यस क्षेत्रमा केही प्रगति गरेको छ । जल तथा मौसम विज्ञान विभागले ठूला नदीहरूका लागि बाढी पूर्वानुमान प्रणाली स्थापना गरेको छ । केही जिल्लामा समुदायमा आधारित प्रारम्भिक चेतावनी प्रणालीको परीक्षण पनि गरिएको छ । तर यी प्रयास अझै टुक्राटुक्रा छन्, पर्याप्त स्रोत छैनन् । सबैभन्दा जोखिममा रहेका समुदायसम्म पुग्न सकेका छैनन् ।
पूर्वसूचना प्रणालीका आधार स्तम्भहरू : प्रभावकारी पूर्व–सूचना प्रणाली लागू गर्न यी चार आधार स्तम्भहरू महत्त्वपूर्ण हुन्छन् ।
१. जोखिम मूल्यांकन र अनुगमन : नेपालको भूगोल र मौसमी अनिश्चितताबीच बाढी, पहिरो, डुबानजस्ता प्रकोपको जोखिम मूल्यांकनका लागि तथ्यांकमा आधारित गतिशील नक्सा प्रणाली हुनुपर्छ । स्याटेलाइट इमेजरी, जीआईएस, सेन्सरहरू र स्वचालित मौसम स्टेसनहरूमार्फत वास्तविक समय अनुगमन आवश्यक छ । यसले जोखिम क्षेत्रमा बसोबास गर्ने समुदायहरूको पहिचान र पूर्वतयारीमा सघाउँछ ।
२. पूर्वानुमान र चेतावनी सेवा : नेपालको विविध भौगोलिक बनावटअनुसार स्थानीय सन्दर्भअनुकूल मौसम र जलसम्बन्धी मोडेल विकास गर्न जरुरी छ । यसका लागि प्रविधिमात्र होइन, दक्ष जनशक्ति र वैज्ञानिक संस्थाहरूमा लगानी पनि अनिवार्य छ । सटिक र समयमै आउने पूर्वानुमान र चेतावनीले जीवन, जीविका र सम्पत्तिको रक्षा गर्न सम्भव बनाउँछ ।
३. सञ्चार र प्रचारप्रसार : प्रकोपसम्बन्धी चेतावनी तत्काल उपलव्ध हुने, बुझ्न सजिलो र जनसाधारणसम्म पहुँचयोग्य हुनुपर्छ । मोबाइल सन्देश, रेडियो, साइरन र परम्परागत माध्यमहरू प्रयोग गर्दै टाढाका बस्तीहरूमा सूचना पुर्याउने बहुच्यानल सञ्चार प्रणाली निर्माण आवश्यक छ । स्थानीय स्वयंसेवक, शिक्षक, महिला समूह र युवालाई सूचना सम्प्रेषण र व्यवहार परिवर्तनको वाहक बनाउने तालिम दिनुपर्छ ।
४. प्रतिक्रिया क्षमता : चेतावनी आयो तर त्यसपछि के गर्ने ? यसका लागि प्रत्येक समुदायसँग सुरक्षित स्थान, आपत्कालीन योजना, आवश्यक सामग्री र उद्धार टोली हुनुपर्छ । यसका लागि पूर्वाधारमा लगानी र नियमित अभ्यास अनिवार्य छ । जसले गर्दा प्रकोपको चेतावनीसम्बन्धी पूर्वसूचना आएपछि मानिसहरूले कसरी त्यसको मुकाविला गर्ने र आफू सुरक्षित रहने भन्ने थाहा पाउन सकून् । वडा र गाउँ÷टोलस्तरमा पूर्वाभ्यास र स्थानीय जोखिमको मूल्यांकनमा आधारित योजना बनाएरमात्रै चेतावनी प्रणाली वास्तवमा जीवनरक्षक बन्न सक्छ । प्रकोपको पूर्व–सूचना प्रणालीलाई एक प्रकोप केन्द्रितभन्दा पनि सम्भाव्य बहुप्रकोप केन्द्रित गर्नुपर्छ ।
विश्वका उत्कृष्ट अभ्यासबाट सिकाइ : नेपालले विश्वका प्रकोपसम्बन्धी केही सफल चेतावनी तथा पूर्व–सूचना प्रणालीहरूबाट प्रेरणा लिन सक्छ । बंगलादेशको चक्रवात चेतावनी प्रणालीले समुदायमा आधारित तयारी र स्वयंसेवक सञ्जालमार्फत हजारौंको ज्यान गुम्ने घटनालाई केही दर्जनमा सीमित तुल्याएको छ । सन् १९७० को दशकमा चक्रवातका कारण लाखौं मानिसको मृत्यु भएको थियो । तर आजको उन्नत चेतावनी प्रणाली र तयारीका कारण त्यहाँ चक्रवातबाट हुने मृत्युदर झन्डै ९ सय ५ सम्म घटेको छ । २००४ को विनाशकारी सुनामीपछि इन्डोनेसिया, थाइल्यान्ड, श्रीलंका र भारतमा २ लाख ३० हजार मानिसको मृत्यु भएको थियो । यस त्रासदीपछि हिन्द महासागरका लागि सुनामी चेतावनी प्रणाली विकास गरिएको थियो । सन् २००४ को हिन्द महासागरीय सुनामीपछि विश्वव्यापी सहयोगमा विकास गरिएको चेतावनी प्रणालीले अहिले २७ देशलाई सुरक्षा प्रदान गरिरहेको छ ।
अमेरिकामा तूफान आउनुभन्दा एक हप्ताअगावै मानिसलाई थाहा हुन्छ । प्राय : पूर्वअनुमान गरिएअनुसारको पूर्वतयारी पनि हुन्छ । वैज्ञानिकहरूले सूक्ष्म रूपमा तुफानको जानकारी लिएर सुपर कम्प्युटरले गणना गरी ठ्याक्कै प्रक्षेपण गरिदिन्छ, तुफान कहाँ पुग्छ, कति बेला पुग्छ र कति बलियो हुन्छ भनेर । अत्यधिक गर्मीको समयमा जनस्वास्थ्यलाई मध्यनजर गरी अमेरिकाका सहरहरूमा ‘हिट एडभाइजरी’ लागू गर्ने चलन छ । यस्तो सूचना प्रणालीले गर्मीजन्य स्वास्थ्य जोखिम न्यूनीकरण र समुदाय सुरक्षित राख्ने उपायहरू सम्प्रेषण गर्छ । जापानको भूकम्प र सुनामी चेतावनीका लागि जे–एलर्ट नामको एक भू–उपग्रहमा आधारित सूचना प्रणाली छ । जसले भूकम्पको चेतावनी सूचना सेकेन्डभरमै राष्ट्रिय स्तरका लाउडस्पिकरहरू, टेलिभिजन, रेडियो, इमेल र मोबाइलमार्फत जनतासमक्ष पुर्याउँछ ।
नेपालका हालसालैका केही प्रकोपका घटना र पाठ : सन् २०२१ को मेलम्ची प्रकोप नेपालका लागि ठूलो चेतावनी थियो । २०२१ मेलम्ची प्रकोपजस्ता डेब्रिस फ्लड घटनाहरू धेरै प्राकृतिक खतराहरूको संयोजनबाट हुने गरेका छन् । यस घटनाले हाम्रो पर्यावरणीय पूर्वानुमान र बाढीको खतरा पूर्वसूचना प्रणाली कति कमजोर छ अनि नदीको किनारमा अवैध र अनियन्त्रित निर्माण कार्यले जोखिमलाई कसरी वृद्धि गरिरहेको छ भन्ने देखाइदियो । अक्टोबर २०२१ मा देशैभर बेमौसमी वर्षा र बाढी आयो । यसका कारणले ६० जनाको ज्यान गयो, २७ जना बेपत्ता भए । थुप्रै बाटोघाटो, पुल, जलविद्युत् आयोजना र अन्य भौतिक संरचना ध्वस्त भए । यसमा पनि पूर्वानुमान र पूर्वतयारी अपेक्षित रूपमा हुन नसकेको देखियो ।
२०२४ अगस्टमा सोलुखुम्बुको थामेमा अचानक हिमताल विस्फोट भएर ठूलो क्षति पुग्यो । यो घटनामा पनि सम्भावित खतराका तालहरूमा निरन्तर अनुगमन र चेतावनी प्रणाली चुस्त नभएको देखियो । सेप्टेम्बर २०२४ मा काठमाडौं उपत्यका र आसपासका जिल्लामा दुई–तीन दिनसम्म निरन्तर भारी वर्षा हुँदा बागमती र नक्खुमा आएको बाढीले अकल्पनीय किसिमले धनजनको क्षति पुर्यायो । यसमा पनि मौसम पुर्वअनुमानको अभाव, सूक्ष्म जलवायुको भेदबारे अज्ञानता र अनियन्त्रित सहरी विस्तारका कारणले संकट बढाएको देखियो । नेपालमा प्रकोपको पूर्वतयारी र पूर्वसूचना प्रणालीसम्बन्धी केही काम त भएका छन् । यद्यपि, प्रकोप झेल्नुपर्दाको अवस्थामा भने ती यथेष्ट छैनन् । केही वर्र्षबीचमा देशका विभिन्न भागमा घटेका प्रकोपजन्य घटनाले हाम्रो विद्यमान चेतावनी र पूर्वसूचना प्रणाली
कत्तिको कमजोर छ भन्ने देखाउँछ ।
प्रविधिको भूमिका : आधुनिक प्रविधिले विपद्को पूर्वतयारी र पूर्वसूचना प्रणालीमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । नेपालमा मोबाइल फोन पहुँच पछिल्लो समय निकै बढेको छ, जसले नागरिकहरूसम्म प्रत्यक्ष सन्देश पुर्याउने माध्यम प्रदान गर्छ । फोनका सेवा प्रदायक कम्पनीहरूले प्रविधिको प्रयोग गरी फोनमा एकै साथ प्रकोपको पूर्वसूचना र चेतावनी पठाउन सक्छन् । नेटवर्क नभए पनि यो सन्देश पुर्याउन सकिन्छ । बाढी, आँधी, तरंग वा अन्य ठूलो जोखिमका बेला मोबाइल फोनबाट ‘रेड एलर्ट’ सम्प्रेषण गरी जनतालाई तुरुन्त सुरक्षा अपनाउन आग्रह गर्ने चलन पश्चिमा मुलुकमा प्रभावकारी देखिन्छ । यो नेपालको सन्दर्भमा पनि सान्दर्भिक छ । यसका अतिरिक्त मौसम एप, एसएमएस सन्देश र सामाजिक सञ्जालमार्फत् चेतावनी तुरुन्तै पठाउन सकिन्छ । रेडियो र टेलिभिजनको प्रयोगले पनि प्रकोपको चेतावनी फैलाउन मद्दत पुग्छ ।
आपत्कालीन साइरन र स्पिकरको प्रयोग पनि बाढीजस्ता केही प्रकोपमा प्रभावकारी मानिन्छन् । कृत्रिम बुद्धिमत्ता र मेसिन लर्निङको प्रयोगले पूर्वानुमान गर्न अझ सटिक बनाउँछन् भने ड्रोन र स्याटेलाइटले पहिरो, बाढी र डढेलोजस्ता विपद् विकासको वास्तविक समयनिगरानी गर्न सक्छन् । तर प्रविधिमात्र समाधान होइन । यसलाई परम्परागत ज्ञान, समुदायको सहभागिता र बलियो संस्थागत संरचनासँग संयोजन गर्नु आवश्यक छ । देशभरको जोखिम नक्सांकन गर्न सकियो भने कुन ठाउँमा बाढी आउँछ, कहाँ पहिरो जान्छ, कुन क्षेत्र भूकम्पको जोखिममा छ, यस्ता कुराको जानकारी हुन्छ । अनि, यसैको आधारमा मानिसले आफ्नो घर सुरक्षित ठाउँमा छ कि छैन भनेर थाहा पाउँछन् । विकासका योजना गर्दा या सहरको विस्तार गर्दा यस्तो नक्सांकनले कसरी प्रकोपको जोखिमलाई छल्ने भन्ने धारणा प्रदान गर्छ ।
र अन्त्यमा, प्रकोपलाई रोक्न त सकिँदैन, यसको प्रभावलाई न्यूनीकरण गर्न भने अवश्य सकिन्छ । प्रकोपको चेतावनी र पूर्वसूचना प्रणाली यसको सबैभन्दा प्रभावकारी उपाय हो । विश्वका अन्य देशहरूको सफलताबाट सिक्दै नेपालले पनि भौगोलिक र सामाजिक परिस्थिति अनुकूल प्रणाली विकास गर्नुपर्छ । यसका लागि राजनीतिक इच्छाशक्ति, वैज्ञानिक दृष्टिकोण, सुझबुझपूर्ण योजना र जनताको सहयोग अपरिहार्य हुन्छ । आज जे जस्तो तयारी गर्छौं, त्यसले भोलि हाम्रो परिवारको ज्यान बचाउन मद्दत गर्छ ।
प्रकोपको पूर्वतयारी गर्न समय धेरै छैन । हरेक दिन ढिलाइले हजारौंलै जोखिममा पार्न सक्छ । प्रकोपको पुर्वसूचना प्रणाली निर्माण गर्न तत्काल खर्च त लाग्छ नै । तर यो लागत होइन, लगानी हो । विश्व बैंकको अध्ययनले देखाएको छ, प्रकोप तयारीमा एक रुपैयाँ खर्च गर्दा पाँच रुपैयाँको फाइदा हुन्छ । प्रकोपपछि सरकारले वार्षिक करोडौं रुपैयाँ राहत र पुनर्निर्माणमा खर्च गर्नु परिराखेको छ । यदि पहिल्यै तयारी गरेर प्रकोपको क्षति घटाउन सकियो भने यो खर्च बचाउन सकिन्छ । सरकारले यसलाई प्राथमिकतामा राख्नुपर्छ । नागरिकहरूले यसमा दबाब दिनुपर्छ । आज नै सुरुआत गरौं, भोलि ढिलो हुनेछ ।
प्रतिक्रिया दिनुहोस !