मधेस अर्थात् खडेरी प्रदेश

मधेस अर्थात् खडेरी प्रदेश
तस्बिर : प्रधानमन्त्री सचिवालय
सुन्नुहोस्

बर्खाको मौसम आकाशमा कालो बादल हुनुपर्ने हो र धर्तीमा पानी बर्सनुपर्ने हो । तर मधेस प्रदेशमा भने यो बेला पनि खडेरीको कालो बादल मडारिएको छ । अन्नभण्डार भएको भूमिमा धान रोप्ने मुख्य मौसममा पानीको अभावमा आकाशतिर हेरेर दिन बिताउन किसान बाध्य छन् । आकाशबाट पानी नपर्नु प्राकृतिक कुरा हो, तर सिँचाइको प्रबन्ध नहुनु देशकै कमजोरी छ । समस्याको जड सिँचाइ नहुनु त हुँदै हो, त्यसमाथि भएका संरचनाको चरम बेवास्ता र अव्यवस्थापन पनि अर्काे विडम्बना हो । 

मधेस प्रदेशको कुल खेतीयोग्य जमिनमध्ये केवल ४९ प्रतिशतमा सिँचाइ सुविधा छ । बाँकीमा छैन । नदीनालाको पानी नहरबाट खेतखलियानमा नपुर्‍ याए पनि डिप बोरिङका ट्युबवेलहरू नभएका भने होइनन् । तर दशकौं लगाएर सरकारी र निजी लगानीमा निर्माण भएका हजारौं डिप ट्युबवेलहरू आज बेकामे छन् । कृषि मन्त्रालयको हालैको प्रतिवेदनअनुसार पञ्चायतकालदेखि जडान भएका आधाभन्दा बढी डिप ट्युबवेल प्रयोगविहीन छन् । समृद्ध तराई–मधेस सिँचाइ विशेष कार्यक्रम र जनकपुर कृषि विकास योजनाजस्ता ठूला आयोजनामार्फत बनाइएका सयौं ट्युबवेलमध्ये अधिकांश कि त बिग्रिएका छन्, कि अधुरा छन्, कि सञ्चालनमा नै छैनन् । 

भएका ट्युबवेल पनि बेकामे हुनुको कारण पम्प हाउस र विद्युतीकरणको काम अधुरो हुनु हो । ट्रान्सफर्मर र तारजस्ता उपकरण चोरी भएका छन् । केही स्थानमा पाइपभित्र ढुंगा–इँटा हालेर जानाजान अवरोध सिर्जना गरिएको छ । यसमा राज्यभन्दा समाज र समुदाय जिम्मेवार हुनुपर्ने हो । अनि कतिपय ठाउँमा उपभोक्ता समितिभित्रको विवाद पनि ट्युबल प्रयोगविहीन हुनुको कारण हो । डिजेल इन्जिनमा आधारित प्रविधि र मर्मत–सम्भारको अभावले बिग्रेका बोरिङहरू हजारको हाराहारीमा छन् । मधेसलाई सुक्खा क्षेत्र घोषणा गर्दै पाँच सय डिप ट्युबेल बनाउने भनेको छ । जबकि त्यसभन्दा ज्यादा पहिल्यै थिए, बरु तिनको हिफाजत भएन । राज्यको लगानी बालुवामा पानी हालेसरह बनाउने हो भने नयाँ साधनको हालत पनि पुरानाको जस्तो नहोला भन्न सकिन्न । यसमा समाज र समुदाय नै जिम्मेवार र जवाफदेही हुनुपर्छ । सञ्चालन र मर्मतमा नियमितता हुनुपर्छ । अनि सुरक्षित पनि । सुरक्षाका लागि सरकारले प्रत्येक ट्युबवेलमा प्रहरी खटाउने होइन, सुरक्षाको जिम्मा उपभोक्ता हो । 

मधेसका थुप्रै जिल्लामा कोशी, गण्डक, बागमती र कमला नहरले केही जिल्लालाई मात्र आंशिक राहत दिए पनि अधिकांश कृषि भूमि भूमिगत सिँचाइमा निर्भर छ । भूमिगत सिँचाइका पूर्वाधार अर्थात डिप ट्युबवेल धराशायी हुँदा आज खडेरीका बेला संकट आइपरेको छ । यसले मधेसको कृषि उत्पादनमा प्रत्यक्ष असर पार्दै राष्ट्रिय खाद्य सुरक्षामा नै गम्भीर चुनौती थप्ने निश्चित छ । संकटको घोषणा गरेर मात्र जिम्मेवारी पूरा हुँदैन । सरकारले बिग्रेका र प्रयोगविहीन डिप ट्युबवेलहरूको अवस्था पहिचान गरी मर्मत–सम्भारका लागि विशेष अभियान चलाउनु अपरिहार्य छ । 

चोरी र तोडफोड रोक्न स्थानीय तह र प्रहरी प्रशासनसँगको समन्वयमा सुरक्षा व्यवस्था मिलाउनुपर्छ । जसमा उपभोक्ता समितिहरू पनि जिम्मेवार नबनी धरै छैन । दीर्घकालीन समाधानका लागि डिजेल आधारित प्रविधि विस्थापित गर्नुपर्छ । बरु सौर्य ऊर्जालगायतका नवीकरणीय ऊर्जा प्रयोग गर्नुपर्छ । कर्णाली नदीको पानी रानीजमरा सिँचाइमार्फत पश्चिम तराईको जिल्ला कैलालीका खेतीहरूमा हिजोअस्तिबाटै पुग्न थालेको छ ।

पूर्वी तराई अर्थात् मधेस प्रदेशमा सुनकोशी–मरिन डाइभर्सन आयोजनालाई युद्धस्तर अघि बढ्ने हो भने खडेरीको पर्वाह हुने थिएन । सुनकोशीको पानी सुरुङमार्फत मरिन खोलामा खसालेर बागमती नदीमा मिसाउँदा मधेस प्रदेशका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराका करिब १ लाख २२ हजार हेक्टर जमिनमा बाह्रैमास सिँचाइ सुविधा पुग्नेछ । सँगसँगै ३१ मेगावाट बिजुली उत्पादन पनि हुनेछ । 

बिडम्वना यो आयोजनाको काम सुस्त छ । तराईको एउटा कुनामा खुसीयाली र अर्को कुनामा खडेरीको पीडाले हाम्रो राष्ट्रिय एकता र सन्तुलित विकासको अवधारणालाई नै गिज्याइरहेको छ । पानीको अभावले रित्तिन लागेको अन्न भण्डारलाई भर्न र किसानको आँसु पुछ्न अब प्रतिवेदन र घोषणाले मात्र पुग्दैन । राजनीतिक इच्छाशक्तिको खडेरी अन्त्य हुनुपर्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.