चुनाव प्रणाली फेर्ने कि ?
हामीले अभ्यास गरेको व्यवस्था मिश्रित चुनाव प्रणालीमा कुनै पनि पार्टीको बहुमत आउने अवस्था प्रायः हुँदैन ।
राजनीति सबैले गर्न मिल्ने र खेल्न मिल्ने खेल हो । राजनीति एउटा व्यक्तिदेखि समुदाय, गाउँ, सहर जिल्ला सर्वत्र हुन्छ । केन्द्र राजनीतिको प्रमुख स्थल हो । राजनीति सबैले गर्दागर्दै सबैले सधैं गर्न र खेल्न नमिल्ने खेल पनि हो । राजनीति सबैले सधंै खेल्न नसकिने र नमिल्ने भएको हुनाले यसमा पनि निश्चित, नियम, समय र विधि अनि प्रक्रिया निर्धारण गरिएको हुन्छ ।
राजनीतिमा सत्ताको दौडमा प्रतिस्पर्धा गर्न पार्टीहरू र तिनका प्रतिनिधि मान्छेहरू चुनिएर जान्छन् । ती मान्छेहरू व्यक्ति व्यक्तिले गर्ने राजनीतिको छनोटमार्फत छानिएर पुगेका हुन्छन् । जसरी खेल मैदानमा खेल खेल्ने अवसर सयौं खेलाडीमध्ये केही र निश्चित संख्याले प्राप्त गर्दछ त्यसैगरी राजनीतिमा पनि सत्ताको खेल खेल्न विभिन्न तह र तप्काका खेलाडी स्थानीय निकायदेखि प्रदेश र केन्द्रसम्म चुनिएर, छानिएर र छाँटिएर आएका हुन्छन् । त्यसैले ती खेलाडी सत्ताको वैधानिक हकदार हुन् । जसलाई संविधान र विधानले चिनेको र जानेको हुन्छ । जसले जनताको वारेस लिएर गएका हुन्छन् ।
सामान्यतया राजनीतिको वैधानिक खेल खेल्ने पात्रहरू तिनै हुन् । उनीहरूकै निर्णयले वैधानिकता प्राप्त गर्दछ जो जनताद्वारा विभिन्न चुनावमार्फत प्रतिनिधि बनेर पुगेका छन् । हामीले प्रायः पाँच वर्षको लागि चुनेका प्रतिनिधिलाई आधुनिक राजनीतिको भाषामा हाम्रो सेवक बन्न भरिया बन्न पठाएका हौं । यिनै खेलाडीले गोल हान्ने, स्पाइक गर्ने, चौका छक्का हान्ने काम गर्न पाउँछन् । प्रजातन्त्र लोकतन्त्रको मर्म र उद्देश्य यही हो । आफूले चुनेर पठाएका प्रतिनिधिले आवधिक निर्वाचनमार्फत शासन गर्ने र सत्ताको व्यवस्थापन गर्नेतिर हामी विधि र प्रक्रियामा पुग्ने कामलाई कर्मकाण्ड गरे जस्तो गरेर बाहिर बाहिर सत्ताको अभ्यास गर्छौं ।
वैधानिकता प्राप्त गर्ने निकाय एकातिर राजनीतिको खेल अर्कोतिर भइरहेको हुन्छ । निर्णय गर्ने बहुसंख्यक प्रतिनिधि अरूले सुनाएको निर्णयमा लालमोहर लाउने पात्रमात्र भएर बसेका हुन्छन् । वैधानिक निकायभन्दा बाहिर पार्टीपार्टी बीच सामान्य छलफल, लेनदेन र भागबन्डा अस्वाभाविक होइन । तर सबै धन्दा बाहिर गरिएर लालमोहर लाउनमात्र संसद्मा छिराउनु राम्रो मानिन्न । हाम्रो राजनीतिमा देशभित्रको ग्राउन्ड बाहिरका खेलाडीमात्र नभएर देशबाहिरका खेलाडी पनि खेलको निर्णायक बनिदिन्छन् ।
सामान्यतया खेलमा रेफ्रीको भूमिका हुन्छ तर रेफ्री बन्नुपर्ने तटस्थ बस्नुपर्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय निकाय नै स्वयं खेल खेल्न मैदानमै छिर्ने प्रतिस्पर्धा ज्यादै लाजलाग्दो विषय बनेको छ । नेपालमा नेपालीले आफैं खेल्ने खेलमा बाहिरको खेलाडीको निर्लज्ज प्रवेश सबै नेपालीको शिर झुकाउने सवाल हो । यो नेपाली मन्त्रिपरिषद् विदेशीले प्रवेश पाउने २००७ सालको पेरिफेरिको समयदेखि आजपर्यन्त अनेक रूप, रंग, सवाल र सर्तमा भएको छ । हिजो हाकाहाकी देखादेखि उपस्थित हुने परम्परा थियो आज त्यसको स्वरूप बदलिएर आएको छ । उपस्थिति, हस्तक्षेप र निर्देशनमा आधुनिकीकरण गरिएको छ कम गरिएको छैन । पार्टीहरूले डिक्टेसन पाएका छन् । सोहीअनुसार लेख्छन् ।
सरकार फेर्ने जब चर्चा चल्छ तब संसद् बाहिर बढी चहल र एक्सरसाइजहरू हुन्छन् । पूर्वन्यायाधीश र बहालवाला न्यायाधीशहरूसमेत आफ्नो इन्ट्रेस्ट देखाएर उत्ताउलो बनेर वक्तव्यबाजीमा उत्रन्छन् । समाजका प्रबुद्ध वर्गको आफ्नो दृष्टिकोण सुझाव र सल्लाह अन्यथा होइन तर आफ्नो हितको लागि त्यो केन्द्रित देखिनु दुर्भाग्यपूर्ण हुनेछ । यही अवस्था हो गैरखेलाडीको खेलमैदानमा प्रवेश र हस्तक्षेप । जब पार्टीहरू आफ्नो निर्णय क्षमता गुमाउँछन् तव राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी मैदान छिर्न र निर्देश गर्न आइपुग्छन् । पूर्व, पश्चिमका र उत्तर, दक्षिणका राजदूतहरू नेताको दैलोदैलोमा देउसी खेल्न पुग्छन् । अनावश्यक सल्लाह दिन्छन् । कसैलाई उक्साउँछन् कसैलाई तर्साउँछन् । कसैलाई ऊर्जा दिन्छन् कसैलाई टेको झिकिदिन्छन् । कहिले गैरराजनीतिक व्यक्तिको फरमान जारी गर्छन् र सम्भावित नामको उर्दी पस्कन्छन् । सल्लाह दिनेले हस्तक्षेप गर्नेले आफ्नो गच्छेअनुसार गरिरहेका छन् । कसैलाई न्यायालय देखाएर तर्साउँछन् । कसैलाई शक्तिकेन्द्र र भक्तिकेन्द्र देखाएर । जब राजनीति तरल हुन्छ तव आकार दिने र तरल राजनीतिलाई आफ्नो साँचोमा ढाल्न देश विदेश सक्रिय रहन्छ । सम्बन्धित खेलाडी अन्योलग्रस्त हुन्छन् । असम्बन्धित पात्रहरू अर्ती, उपदेश, आदेश, अचानो र आरो लिएर आइपुग्छन्, तव रेटिनुपर्ने आम नेपालीको गर्दन हो । जुन हाम्रो देशका पार्टी र नेताहरूले आजसम्म पु¥याउन नसकेको बुद्धि हो ।
नेपाली दल र नेताको बुद्धिलाई व्यंग्य गर्न कवि भूपि शेरचनले ‘हामी फगत क्यारेमका गोटी हौ स्ट्राइकरले जता हान्छ त्यतै मुन्टिनु गोटीको नियति हो । भनेर कवितामार्फत नेपाली राजनीतिमा हस्तक्षेप विगतदेखि भएको संकेत गरेका थिए । आज पनि त्यही नियति भोगिरहेका छौं । हामी आफैं आफ्नो स्ट्राइकर बन्न किन सकिरहेका छैनौं ? आजको राजनीतिको मूल विमर्श यही हो । जहिल्यै गोटी बन्नुपर्ने नियतिबाट उम्कने उपाय के हो ? कतै हाम्रो व्यवस्थामा खराबी त छैन ? कुनै पनि व्यवस्था आफैंमा गुण र दोषरहित हुँदैन भनिन्छ । तर मात्रात्मक रूपमा गुण हावी हुने परिपाटी हामीले किन अवलम्बन गर्न सकेनौं ? व्यवस्थालाई हेर्ने दृष्टिदोष पो छ कि ? राजनीतिमा हाम्रो आवश्यकताभन्दा बढी चासो पो रह्यो कि ? होइन भने आज हामीले अभ्यास गरेको व्यवस्था मिश्रित चुनाव प्रणालीमा कुनै पनि पार्टीको बहुमत आउने अवस्था प्राय हुँदैन ।
बहुमत आए पनि टिकाउन नसकेको हाम्रो अघिल्लो संघ र प्रदेशको चुनावपछिको सत्ताको खेलले प्रस्ट पारेको छ । संसद्मा गणितको खेल भएको कारण सबैभन्दा ठूलो दल फुटेर संसद्मा तेस्रो स्थान प्राप्त दल नेपाली कांग्रेसले सरकारको नेतृत्व गरेको र सबैभन्दा ठूलो दल नेकपा एमाले सत्ताभन्दा बाहिर बसेको दृश्यसमेत देखिएकै हो । पछिल्लो निर्वाचनपछि संसद्को सबैभन्दा ठूलो दल कांग्रेस प्रतिपक्षमा बसेको र दोस्रो ठूलो दल एमाले तेस्रो दल माओवादीको स्टेक होल्डर भएर सत्ता सयरमा गएका हुन् । हाल संसद्का दुई ठूला दल कांग्रेस र एमाले मिलेर सरकार चलाइरहेका छन् ।
झन्डै दुई तिहाइ बहुमत प्राप्त पार्टीको सरकार गिरेको घटनाले पनि संसद्मा हुने सत्ताको अस्थिरता समान्य हो । सत्तामा पुग्ने सत्ताबाट एकले अर्कोलाई विस्थापन गर्न खोज्ने खेल सामान्य हो । हामी चुनाव प्रणाली फेर्न सक्दैनौं भने सत्तामा पार्टीहरू पाँच वर्षभित्र अनेक पटक आउने जाने गरेको खेल हेर्न सधैं बाध्य हुनेछौ । हाम्रोजस्तो मिश्रित चुनाव प्रणाली अवलम्बन गर्ने जुनसुकै देशमा पनि पार्टीहरूबीच सत्ताको छिनाझमट चलिरहन्छ । सत्ता असमयमा तल माथि भइरहन्छ । विधि र प्रक्रियासम्मत भएका कुरालाई सामान्य रूपमा बुझ्ने र ग्रहण गर्ने संस्कृति नभएसम्म राजनीति विरक्तलाग्दो बनिरहन्छ । राजनीतिको मैदानमा हुने विधिसम्मत खेललाई खेलाडीकै जिम्मामा छोडेर आम मान्छे आआफ्नो कर्ममा व्यस्त बने राजनीति यति गिजोलिन पुग्दैन ।
बाहिर बसेर पनि सबैलाई राजनीति गर्नु छ । शिक्षक प्राध्यापकलाई पढाउन छोडेर राजनीति हेर्नु र गर्नुछ । डाक्टर बिरामी जाँच्न छोडेर, किसान हलो छोडेर, न्यायाधीश न्याय दिन छोडेर, वकिल वकालत छोडेर, विद्यार्थी पढ्न छोडेर राजनीति हेर्न र गर्न व्यस्त बनेपछि राजनीति वैधानिक खेलाडीभन्दा बाहिर पुग्छ । हामी सबैलाई राजनीति मैदान चाहिएको छ । राजनीतिमा आकर्षण देखिएको छ । राजनीतिमा पाँच वर्षको लागि चुनिएर जानेहरू भगवान्जस्ता लागेका छन् त्यसैले पनि राजनीति बिझाएको छ । आफू हुन् नपाएकोमा पोलेको छ दुखेको छ । राजनीतिमा कलाकार जानु परेको छ, समाजसेवी जोडिनु परेको छ, खेलाडी घुस्रिन परेको छ । सेवानिवृत्त कर्मचारी जागिर छोडेको भोलिपल्ट राजनीति ज्वाइन् गर्छ । पत्रकार दल खोलेर हाम्फाल्छ । साहित्यकार लेख्न छोडेर राजनीतिमा मरिहत्ते गर्छ । समाजका यावत् पेसाका यावत् मान्छेलाई आफ्नो पृथक् परिचय र प्रतिष्ठाभन्दा राजनीतिमा बढी रहर छ । सत्तामा जाने म्यान्डेट नभए पनि सबैलाई चुनाव जितेको भोलिपल्ट मन्त्री, उपप्रधानमन्त्रीको लस्कर र प्रधानमन्त्री चाहिएको छ । हामी सबैले अराजनीति गरेको कारण राजनीति मैलिएको हो । राजनीति भनेको जो जुन पेसा र व्यवसायमा छौं त्यही आफ्नो भूमिका र जिम्मेवारी गजबले निभाउन सके शुद्ध राजनीति त्यही हुन्छ ।
परिणाममुखी राजनीति आफ्नो क्षेत्रमा निर्वाह गर्ने भूमिका हो । राजनीतिको परिधि बाहिर बसेकालाई पनि जतिसुकै बेला राजनीति चाहिएकोले राजनीति अराजनीति भएर धमिलो र हिलोमैलो भएको हो । व्यवस्था नै त्यस्तो रोजेपछि राजनीतिमा हुने सत्ताको कित्ता परिवर्तन र सत्ता साझेदारीको हेराफेरिलाई सामान्य रूपमा नै बोध गर्नुपर्छ । वैदेशिक हस्तक्षेपबाहेक देशभित्रका पार्टी र नेताको विवेक र निर्णयलाई अस्वीकार गर्न मिल्दैन । हामीले हाम्रो क्षमता र व्यवस्थाअनुसारका नेता पाएका छौं ।
आम जनताको खास चासो सत्ता फेरिँदा जनताले पाउने सेवा र सुविधाको प्राथमिकता फेरिनु भएन । बस्, शासन गर्न पुगेका पार्टीहरू जसले शासन गरे पनि देश र जनतालाई केन्द्र विन्दुमा राख्न सकून् । कि चुनाव प्रणाली फेरांै कि चुनावमा जहिल्यै कुनै पनि पार्टीलाई बहुमत प्रदान गरौं कि व्यवस्थाअनुसारको अवस्था हो सत्ता परिवर्तनलाई सहज रूपमा स्वीकार गरौं । सत्ता र शक्तिको राजनीतिक फेरबदललाई अतिरञ्जना नगरौं । वैदेशिक र अवाञ्छित हस्तक्षेपबाहेक नेपालका दल र तिनको निर्णय अराजनीति र असंवैधानिक हुन सक्दैन ।
प्रतिक्रिया दिनुहोस !