मदन भण्डारी राजमार्गको पश्चिम खण्डमा विवादै–विवाद

मदन भण्डारी राजमार्गको पश्चिम खण्डमा विवादै–विवाद
मदन भण्डारी राजमार्गअन्तर्गत रुख कटानको अनुमति नपाउँदा काम रोकिएको बड्डीचौर–खम्बागाडे सडक खण्ड ।
सुन्नुहोस्

सुर्खेत : देशलाई पूर्व–पश्चिम जोड्ने मदन भण्डारी राजमार्गको सुर्खेत खण्डमा एकपछि अर्को विवाद उत्पन्न हुन थालेका छन् । विवादकै कारण राजमार्गको काममा अवरोध भइरहेको छ । बारम्बार उत्पन्न हुने विवादले यो राजमार्गअन्तर्गत सुर्खेतको पश्चिम खण्डको काममा ढिलाइ भइरहेको हो ।

सुर्खेतको पश्चिम क्षेत्रका नागरिक भरपर्दो सडक नहुँदा वर्षौंदेखि सास्ती भोग्न बाध्य छन् । तर मदन भण्डारी राजमार्गले समेट्ने भएपछि यहाँका नागरिक उत्साहित थिए । तर स्तरोन्नति भएर कालोपत्रे सडकमा यात्रा गर्ने पश्चिम क्षेत्रका नागरिकको रहर पूरा हुन अझै समय लाग्ने देखिन्छ । कारण यही खण्डमा नै राजमार्गको स्तरोन्नतिको काममा सुरुवातदेखि नै विभिन्न विवाद उत्पन्न भइरहेका छन् । बारम्बार आउने विवादले पश्चिम खण्डको काममा ढिलाइ भइरहेको मदन भण्डारी राजमार्ग आयोजना कार्यालय सुर्खेतले जनाएको छ ।

यो राजमार्गको पश्चिम खण्डमा डीपीआर चरणमै विवाद भएको थियो । वराहताल र पञ्चपुरीमा स्थानीयले डीपीआर चरणमै अवरोध गरेपछि काम प्रभावित भएको थियो । वराहतालको बड्डीचौर र पञ्चपुरीको बराइँचे तथा दुलालथाईमा स्थानीयले राजमार्गको सर्वे नै गर्न दिएनन् । राजमार्गको दायाँबायाँ सडक छाड्ने विषयमा स्थानीयले असहमति जनाउँदै काममा अवरोध गरेका थिए । अन्ततः लामो प्रयासपछि यो विवाद भने समाधान भयो । तर यही खण्डमा अर्को विवाद सुरु भयो । बड्डीचौरदेखि खम्बागाडेसम्मको खण्डमा सडकमा रहेका रुख हटाउने विवादले काम नै रोकियो । रुख काट्ने अनुमति नपाउँदा तीन वर्षसम्म यो खण्डको काम नै हुन पाएन ।

यद्यपि हालै यो खण्डमा रुख कटानको सम्झौता भएको छ । अब रुट कटानको प्रक्रिया अगाडि बढेको छ । तर तीन वर्षसम्म रुख कटानको अनुमति नपाउँदा राजमार्गको यो खण्डमा काम नै रोकियो । यसले पनि राजमार्ग निर्माणमा ढिलाइ हुन पुग्यो । पछिल्लो पटक आएर पश्चिम खण्डकै विभिन्न तीन स्थानमा विवाद उत्पन्न भएको छ । विवादका कारण राजमार्गको काममा अवरोध भइरहेको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार राजमार्गअन्तर्गत पश्चिम खण्डमा पर्ने गुटु, बिजौरा र लगाममा विवाद देखिएको छ । विवादका कारण गुटु र बिजौरामा काम नै हुन सकेको छैन । लगाम हुँदै डोटी जोड्ने खण्डमा भने स्थानीयले आयोजनाको डीपीआरभन्दा अन्यत्रबाट राजमार्ग लैजानुपर्ने माग अगाडि सारेका छन् । यो खण्डमा पनि सडक निर्माण गर्दा विवाद पेचिलो हुने देखिन्छ ।

आयोजनाले १२ मिटर चौडाइमा सडक निर्माण गरिरहेको छ । तर गुटु खण्डमा भने राजमार्गको चौडाइ ३० मिटर हुनुपर्ने माग स्थानीय जनप्रतिनिधिले गरेका छन् । यही विवादका कारण यहाँ काम अगाडि बढ्न सकेको छैन । मदन भण्डारी राजमार्ग कार्यालय सुर्खेतका इन्जिनियर रेशम वली भन्छन्, ‘गुटुमा स्थानीयले बजार क्षेत्र भएकाले फोरलेन सडक चाहियो भन्छन्, जनप्रतिनिधिको माग राजमार्गको चौडाइ ३० मिटर हुनुपर्छ भन्ने छ । तर हामीले डीपीआरबमोजिम काम गर्नुपर्नेहुन्छ, यही विषय टुंगो नलाग्दा गुटुमा काम प्रभावित भइरहेको छ ।’ यस्तै गुटु–बल्दे खण्डको बिजौरामा पनि स्थानीयले अवरोध गरेका छन् । यहीकारण यो खण्डमा आयोजनाले काम गर्न सकिरहेको छैन ।

बिजौराको अस्पताल चौकदेखि बिजौरा बजार हुँदै डुङखोला सम्मको झन्डै १५ सय मिटरमा विवाद छ । डीपीआरमा अस्पताल चौकदेखि बिजौरा बजार हुँदै सडक डुङखोलासम्म जोड्ने उल्लेख छ । डीपीआर निर्माणको क्रममा कुनै अवरोध नगरेका स्थानीयले अहिले निर्माणमा अवरोध गरिरहेका हुन् । डीपीआरअनुसार सडक निर्माण गर्दा बिजौरा बजार नै विस्थापित हुने अवस्था आएपछि विवाद सुरु भएको स्थानीयको भनाइ छ । 

डीपीआरअनुसार सडक निर्माण भएमा आफूहरू विस्थापित हुने भन्दै स्थानीयले राजमार्गलाई अन्यत्रबाट घुमाएर लैजानुपर्ने अडान राखेका छन् । तर राजमार्ग कार्यालयले राष्ट्रिय राजमार्ग घुमाउनुभन्दा जति सक्यो छोटो मार्ग हुनेगरी निर्माण हुनुपर्ने बताउँदै आएको छ । यो स्थानमा भइरहेको अवरोध हटाउन थुप्रै सर्वपक्षीय छलफल पनि भए । तर हालसम्म पनि सहमति जुट्न नसकेको आयोजनाले जनाएको छ । विवादका कारण यो स्थानमा पनि काम रोकिएको छ । यस्तै विवादकैबीच पछिल्लो पटक आएर लगाम हुँदै डोटी जोड्ने करिब ३० किलोमिटर खण्डमा नयाँ विवाद सुरु भएको छ ।

यो खण्डमा स्थानीयले धामीसेनबाट बेनीघाट हुँदै राजमार्गलाई डोटीसम्म जोड्नुपर्ने माग राखेका छन् । यसरी लैजाँदा राजमार्गको लम्बाइ करिब ४६ किलोमिटर थपिन्छ । तर डीपीआरअनुसार राजमार्गलाई धामीसेनबाट पाल्पाघाट हुँदै डोटी लैजाँदा ८ किलोमिटर मात्र दूरी रहेको आयोजनाको भनाइ छ । यसकारण पनि राजमार्गलाई स्थानीयको मागअनुसार अगाडि बढाउन नसकिने आयोजनाले अडान लिएको छ । राजमार्गको दूरी जतिसक्यो छोटो हुनुपर्ने भन्दै डीपीआरबाहेक अन्यत्रबाट सडक लैजान नसकिने आयोजना कार्यालयका इन्जिनियर रेशम वलीले बताए ।

सुर्खेत पश्चिमको बड्डीचौरबाट मदन भण्डारी राजमार्ग लगामसम्म जोडिन्छ । यो खण्डमा राजमार्गको दूरी ८५ किलोमिटर छ । त्यहाँबाट अगाडिको खण्ड डोटीमा पर्दछ । यो राजमार्गअन्तर्गत सुर्खेतको पूर्वी खण्डमा भने काम अन्तिम चरणमा छ । यो खण्डमा अब केवल १६ सय मिटरमात्र कालोपत्रे हुन बाँकी छ । यो राजमार्गअन्तर्गत पूर्वी खण्डमा भेडाबारीदेखि धुलियाबिटसम्मको दूरी ३५ किलोमिटर सडक पर्दछ । यस्तै, यो खण्डमा पर्ने १२ वटामध्ये अब एउटामात्र पुल सञ्चालनमा आउन बाँकी रहेको छ । तर पश्चिम खण्डमा विवादका कारण बारम्बार काममा अवरोध हुने गरेको आयोजनाको भनाइ छ । यो राजमार्गअन्तर्गत सुर्खेतमा झन्डै १ सय ५८ किलोमिटर सडक पर्दछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.