अनमी हुनु जानकीजस्तो

अनमी हुनु जानकीजस्तो
सुन्नुहोस्

जानकीहरूले राज्यबाट कुनै प्रेरणा त पाएका छैनन् नै उनीहरूको व्यक्तिगत कुशलता र त्यागको परिणामस्वरूप नै आज दुर्गमले स्वास्थ्य सेवा पाइरहेको छ ।

स्वास्थ्यकर्मीमा पनि अनमी अर्थात् एक्जुलरी नर्स मिडवाइफको पद स्वास्थ्य क्षेत्रमा भुइँ तहमा छ । तर, अनमीहरूले गर्दै आएको काम कुनै चिकित्सकको भन्दा कम देखिन्न । विशेषगरी दुर्गम क्षेत्रमा जहाँ डाक्टर वा अन्य विशेषज्ञ स्वास्थ्यकर्मीको पहुँच हुँदैन, त्यहाँ अनमीहरूले स्वास्थ्य सेवाको मेरुदण्डको रूपमा काम गरेका छन् । त्यसैको एउटा उदाहरण हुन्, बैतडीकी जानकी पुजारा ।

बैतडीको सिगास गाउँपालिकाकी अनमी जानकी पुजाराले नवजात शिशुलाई लगातार ६ घण्टासम्म मुखले श्वास दिएर उनले जुन जीवनदान दिइन्, त्यो कुनै चमत्कारभन्दा कम छैन । यो घटना एकातिर व्यावसायिक समर्पणको अनुपम उदाहरण हो भने अर्कोतिर यसले नेपालको ग्रामीण स्वास्थ्य सेवाको दयनीय अवस्था र राज्यको उपेक्षालाई नंग्याइदिएको छ । 

अनमी जानकी पुजारासँग निसासिएको शिशुलाई कृत्रिम श्वास दिन अत्यावश्यक ‘एम्बु ब्याग’समेत स्वास्थ्यचौकीमा उपलब्ध थिएन । तर उनको व्यक्तिगत लगावकै कारण शिशु जोगाउन सफल भइन् । त्यसो त यो घटना केवल एउटा स्वास्थ्यकर्मीको निष्ठा र लगावमात्रै होइन, देशभरका हजारौं स्वास्थ्यकर्मीको संघर्ष र समर्पणको उदाहरण हो । जानकीले एकजना शिशु जोगाइन् । दुर्गमका थुप्रै अनमीहरूले बाटोमा हिँड्दाहिँड्दै सुत्केरी हुन लागेका गर्भवतीको ज्यान जोगाएका छन् । सुत्केरी हुन नसकेका महिलालाई सुरक्षित सुत्केरी गराएर शिशु र आमाको प्राण बचाएका छन् । 

अनमीहरू स्वास्थ्यचौकी र प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत हुन्छन् । उनीहरूले नै गर्भवती महिलाहरूको नियमित स्वास्थ्य जाँच गर्ने, तौल लिने, रक्तचाप नाप्ने र आवश्यक सल्लाह दिने काम गर्छन् । भन्नाले कसैको जन्मसँगै सम्बन्धित छ उनीहरूको जिम्मेवारी । जसै व्यक्तिको स्वास्थ्य जन्म र त्यसभन्दा अघि गर्भबाट सुरु हुन्छ । अनमीहरूले गरेको सूक्ष्म निगरानी र उपचारकै कारण व्यक्ति स्वस्थ बन्छ । त्यसैले देशैभरि गाउँगाउँका शिशुको जन्म, गर्भवती र सुत्केरीसम्मको स्वास्थ्यमा जुन सुधार नेपालमा आएको छ, त्यसमा अनमीहरूकै योगदान छ ।

घरघरै पुगेर उनीहरूले नेपालको स्वास्थ्य सेवामा जुन खालको योगदान गरेका छन्, अतुलनीय छ । चिकित्सकले बिरामीको उपचार, शल्यक्रिया गरेर बचाउनुभन्दा अनमीले सुत्केरी गराउनेदेखि पोषण, खोपका क्षेत्रमा पुर्‍याएको योगदानले देशको समग्र स्वास्थ्यमै ठूलो क्रान्ति गरेका छन् । सामान्य स्वास्थ्यकर्मी भए पनि अनमीको जिम्मेवारचाहिँ नागरिकको स्वास्थ्यमा प्रारम्भिक तहको र महत्वपूर्ण अनि गहन छ । अनमीहरूले स्थानीय भाषा र संस्कृति बुझेर सेवा दिने भएकाले समुदायको विश्वास जित्न सफल भएका छन् । यही विश्वासका कारण सरकारका खोप, पोषण, परिवार नियोजनलगायत स्वास्थ्य कार्यक्रम तथा अभियानहरू सफल भएका छन् । null

जानकीहरूले राज्यबाट कुनै प्रेरणा त पाएका छैनन् नै उनीहरूको व्यक्तिगत कुशलता र त्यागको परिणामस्वरूप नै आज दुर्गमले स्वास्थ्य सेवा पाइरहेको छ । जानकी पुजाराहरूको आज जुन प्रशंसामा भइरहेको छ, त्यो केही दिनमै सेलाएर जान सक्छ । उनीहरूको सच्चा सम्मान तब हुनेछ जब राज्यले दुर्गमका हरेक स्वास्थ्यचौकीलाई स्रोत, साधन र जनशक्तिले सम्पन्न बनाउनेछ । जब कुनै पनि स्वास्थ्यकर्मीले उपकरणको अभावमा आफ्नो वा बिरामीको जीवन जोखिममा राख्नुपर्ने छैन । जब ग्रामीण भेगका आमा र शिशुले अकालमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुनेछ । जानकी पुजाराहरूले त आफ्नो कर्तव्य पूरा गरेकै छन् । अब राज्य पनि ब्युँझनुपर्छ । हाम्रो स्वास्थ्य प्रणालीलाई ब्युँझाउने अवसरका रूपमा उनले शिशु जोगाएको घटनालाई लिनुपर्छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.