बाँदर झुक्याउन कफी खेती
सिन्धुपाल्चोक : बाँदर आतंकबाट परम्परागत बाली जोगाउन नसकेपछि सिन्धुपाल्चोकका किसानले यसको विकल्पमा कफीखेती गर्न थालेका छन् । विभिन्न खाद्य तथा नगदे बालीलाई बाँदरले खान थालेपछि किसानले वैकल्पिक खेती सुरु गरेका हुन् । लगाएको बाली जोगाउन नसकेपछि बाँदरलाई झुक्याउँदै वैकल्पिक खेती गर्ने किसानको संख्या बढ्दो छ । वैकल्पिक खेतीप्रति चासो नदिएका किसान सरकारले खेतीयोग्य जमिन बाँझो नराख्ने नीति ल्याएसँगै कफीखेतीतर्फ लागेका हुन् ।
कफीखेतीका लागि सिन्धुपाल्चोकको भू—बनोट उत्तम मानिन्छ । एकपटक रोपेपछि वर्षौंसम्म आम्दानी हुने भएकाले यहाँका किसानहरू कफीखेतीमा आकर्षित हुन थालेका हुन् । सिन्धुपाल्चोकको १ सय २४ हेक्टर जमिनमा कफीखेती गरिँदै आएको सिन्धु कफी सहकारी संघले जनाएको छ । संघका अनुसार जिल्लाका करिब २ हजार १ सय ५० बढी किसानले कफीखेती गरेका छन् । उनीहरू समूहगत र व्यक्तिगत रूपमा कफीखेती गर्दै आएका छन् । गत वर्ष १ करोड ३२ लाख रुपैयाँबराबरको ३१ टन कफी उत्पादन भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको माग दिनप्रतिदिन बढ्दै गइरहेको छ । सिन्धुपाल्चोकबाट मात्रै १० दशमलव तीन मेट्रिकटन कफी अग्र्यानिक प्रमाणीकरण गरेर जापान, कोरिया, अस्ट्रेलिया, अमेरिकामा निर्यात भएको थियो । अस्ट्रेलियामा ‘हिमालयन अग्र्यानिक कफी’ भनेर जाने गरेको छ । संघका अनुसार ‘ए’ ग्रेडको ‘पार्चमेन्ट ग्रिनविच’ कफी प्रतिकिलो साढे ९ अमेरिकी डलरमा कोरिया, ९ अमेरिकी डलरमा जापान र १० अमेरिकी डलरमा अमेरिका जाने गरेको छ । सन् २००८ मा जिल्ला कफी सहकारी संघ स्थापना भएदेखि जिल्लामा उत्पादित कफी विदेश निर्यात हुन थालेको हो । समुद्र सतहबाट ८ सय मिटरभन्दा माथि हिउँ, तुषारो नपर्ने ठाउँसम्म लगाइएको कफी गुणस्तरीय मानिन्छ ।
सरकारले गर्यो कफीमा लगानी
एक वडा एक उत्पादन क्षेत्र कार्यक्रमअन्तर्गत चौतारा साँगाचोकगढी नगरपालिका– १० छनोट भएर कफीखेती कार्यक्रम सञ्चालन गरिएको छ । बागमती प्रदेशको ६० प्रतिशत लगानी, चौतारा साँगाचोकगढी नगरपालिकाको २० प्रतिशत र लक्षित समूहको २० प्रतिशत लगानीमा कार्यक्रम चालु आर्थिक वर्षमा सञ्चालन भइरहेको नगरपालिकाका सहायक प्राविधिक रामहरि दाहालले बताए ।
सो कार्यक्रमअन्तर्गत वडा नम्बर १० मा २७ हजार कफीका बिरुवा रोपिएको दाहालले जानकारी दिए । उनका अनुसार ३० हजार बिरुवा रोप्ने लक्ष्य भएपनि २७ हजार मात्रै रोप्न सकिएको हो । उक्त बिरुवा हुर्काउनका लागि जैविक विषादी बनाउने एक सय वटा ड्रम पनि उनीहरूलाई वितरण गरिएको छ ।
कफी सुकाउने ५० थान त्रिपाल वितरण गरिएको उनको भनाइ छ । त्यहाँ सिँचाइको लागि चार वटा प्लास्टिक पोखरी र तीन वटा अन्य पोखरी निर्माण गरिएको उनले बताए । उक्त २७ हजार बिरुवामा सबै अरेविकाको बोर्बन र काटुरा जातको कफी लगाइएको छ । उक्त वडामा प्रत्येक गाउँमा एउटा कफी उत्पादक समूह बनाइएको छ । जसअनुसार चार वटा समूह र एउटा सहकारी आबद्ध छन् । उक्त वडाको ६ सय रोपनीमा कफी लगाइने लक्ष्य भए पनि हाल चार सय रोपनीमा कफीखेती गरिएको छ । बाँकी अर्को सालमा रोपिने सिन्धु कफी सहकारी संघकी अध्यक्ष मन्दु थापाले बताइन् ।
कफी रोपेको तीन वर्षपछि फल दिन थाल्छ । सुरुको वर्षमा एउटा बोटमा करिब एक किलोको दरले फल्छ, चौथो वर्षमा २ देखि साढे २ किलो फल्ने र पाँचौँ वर्षदेखि करिब ५ किलोको दरले फल्ने अध्यक्ष थापाले बताइन् । कफीलाई छहारीको व्यवस्था गर्ने, काँटछाँट गर्न आवश्यक छ । यसो गरेर फल्न थालेको १२÷१५ वर्षपछि पुनर्जन्म दिए कम्तीमा ६०/७० वर्षसम्म फल दिने उनको भनाइ छ । छहारीको लागि २५ सय फलफूलका बिरुवा रोपिएको छ । जसमध्ये सुन्तला, कागती र एभोकाडो रोपिएको छ । एउटा बिरुवा खरिद गर्न सरकारी मूल्य २७ रुपैयाँ छ तर नर्सरीहरूले प्रतिबिरुवा ३० देखि ३५ रुपैयाँ लिने गरेको थापाले बताइन् ।
चौतारा साँगाचोकगढी नगरपालिकामा करिब ३ हजार ५ सय केजी कफी उत्पादन हुने गरेको छ । अहिले वडा नम्बर १० मा लगाएको कफीले पाँच वर्षपछि करिब थप डेढ लाख किलो कफी उत्पादन हुने उनले बताइन् । नगरभित्रका करिब चार सय किसानले कफीखेती गरिरहेका छन् । सबैभन्दा बढी १० नम्बरमा कपी उत्पादन भइरहेको छ । कदमबासमा लगाएको एउटा बोट कफीमा ४०÷४५ किलोसम्म फलेको विगत उनले सम्झिइन् । ‘कफीको लागि हाम्रो पालिका उर्वरभूमि हो । त्यसैले अहिले कफीखेतीमा जोड दिएका छौं,’ चौतारा साँगाचोकगढी नगरपालिकाको उपप्रमुख सीता थापाले भनिन्, ‘कफी उत्पादन, प्रशोधन गरेर अन्तर्राष्ट्रिय बजारमा बेच्ने कुराले कफी किसानको जीवन माथि उठाउन मद्दत पुग्छ ।’
कफीका लागि बजारको समस्या नआउने उनले बताइन् । कफीको उचित मूल्यको लागि वातावरण निर्माण गरेर योजनामा लाग्नुपर्ने उनको भनाइ छ । कफी किसानहरूलाई नगरको तर्फबाट भरपूर सहयोग हुने भन्दै उपप्रमुख थापाले अन्य बाली लगाउँदा बाँदरले दुःख दिने गरेकाले पनि कफीखेतीमा किसानको आकर्षण बढेको बताइन् ।
‘युवा पुस्तामा कफीको आकर्षण बढ्दो छ’, थापाले भनिन्, ‘आफ्नै माटोमा जीवन देख्नुपर्छ भन्ने सोच बोकेका कृषकलाई कफीका बिरुवा वितरण गर्छौं ।’ किसानले उत्पादन गरेको कफी बिक्रीका लागि बजारीकरणको लागि समेत नगरले व्यवस्था गर्ने उनको भनाइ छ । ‘हामी कफीका बिरुवामात्रै वितरण गर्दैनौं, कफी उत्पादन भएपछि बिक्रीको जिम्मासमेत लिने योजनामा छौं’, उनले भनिन्, ‘एक किलो होस् वा एक सय किलो बिक्री भएपछि बजारको चिन्ता लिनु पर्दैन ।’ थापाले सबैभन्दा चाँडो उत्पादन लिन सकिने र बाँदरबाट कम क्षति हुने कफीखेतीलाई प्रोत्साहन गरिएको बताइन् ।
एकै कृषकले रोपे १० हजार कफीका बिरुवा
स्थानीय सरकारले कफीखेतीलाई प्रवर्द्धन सुरु गरेपछि चौतारा साँगाचोकगढी नगरपालिका–१० मा कृषक एवं व्यवसायी भूपेन्द्र थापाले व्यावसायिक कफीखेती सुरु गरेका छन् । उनले ४६ रोपनी जग्गामा १० हजार कफीको बिरुवा रोपेका छन् । कफीखेतीलाई भविष्यमा आम्दानीको भरपर्दो स्रोतका रूपमा विकास गर्ने लक्ष्यसहित उनले कफीखेतीको सुरुवात गरेको बताए । ‘नेपाली भूमिमा उत्पादित कफीको अन्तर्राष्ट्रिय बजारमा राम्रो माग छ,’ उनले भने, ‘सही प्रविधि र व्यवस्थापनसहित खेती गर्न सकियो भने कृषि नै युवाहरूको रोजगारीको भरपर्दो आधार बन्न सक्छ ।’
थापाका अनुसार ३ हजार ५ सय बिरुवा जिल्ला कफी सहकारी संघको सहयोगमा उपलब्ध गराइएको हो भने बाँकी बिरुवाहरू उनले निजी प्रयासबाट व्यवस्थापन गरेका छन् । उनको अनुसार कफीखेतीबाट वार्षिक रूपमा एक करोड रुपैयाँभन्दा बढी आम्दानी गर्न सकिने लक्ष्य लिइएको छ । थापाले बाँझो अवस्थामा रहेका थुप्रै जमिनहरूलाई प्रयोगमा ल्याएर उत्पादनमूलक कार्यमा लगाउने उद्देश्य राखेका छन् ।
‘हाम्रा थुप्रै जमिनहरू खेतीयोग्य छन्, तर उत्पादनमूलक गतिविधिमा प्रयोग भएको छैन,’ थापा भन्छन्, ‘त्यस्ता जग्गाहरूलाई व्यवस्थित रूपमा कृषि, विशेषगरी नगदे बालीमा प्रयोग गर्न सके मुलुकको आर्थिक समृद्धिमा उल्लेखनीय योगदान पुर्याउन सकिन्छ ।’ कफीखेती थापाका लागि केवल व्यावसायिक प्रयोजनमात्र होइन, उनी यसलाई सामाजिक रूपान्तरणको अभियान पनि ठान्छन् ।
‘आज हजारौं युवा खाडी र अन्य देशमा पसिना बगाइरहेका छन्,’ उनी भन्छन्, ‘तर देशमै बसेर व्यावसायिक कृषि गर्न सकिन्छ भन्ने सन्देश दिन मैले यो खेती सुरु गरेको हुँ ।’ बिदेसिएका युवालाई पनि यो खेतीले स्वदेश फर्केर केही गर्ने हौसला मिल्ने विश्वास थापाले लिएका छन् ।
प्रतिक्रिया दिनुहोस !