गुल्मीमा अविरल वर्षा, मुसिकोटमा गोठ भत्किँदा पशुचौपाया मरे, परिवार विस्थापित

गुल्मीमा अविरल वर्षा, मुसिकोटमा गोठ भत्किँदा पशुचौपाया मरे, परिवार विस्थापित
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

गुल्मी : गुल्मीमा आइतबारदेखि परेको अविरल वर्षाका कारण विभिन्न स्थानमा विपद्का घटना घटेका छन्। जिल्लाको मुसिकोट नगरपालिका–१ रगनाममा गोठ भत्किँदा पाँचवटा पशुचौपायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

अविरल वर्षाका कारण ६६ वर्षीय जयबहादुर थापाको ढुंगा-माटोले बनेको टिनले छाएको दुईतले कच्ची गोठ सोमबार बिहान करिब ११ बजे भत्किँदा गोठभित्र रहेका ३ गाई,१ बाच्छा र १ बाख्रा पुरिएर मृत्यु भएको हो। घटनापछि प्रहरी चौकी पौदी अमराईबाट प्रहरी नायब निरीक्षक लखनलाल चौधरीको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेको छ। हाल स्थानीयवासी र प्रहरीको सहयोगमा उद्धार कार्य जारी छ।

स्वास्थ्य चौकीमा पहिरो

सोमबार बिहान करिब साढे ३ बजेतिर पहिरो जाँदा  चन्द्रकोट गाउँपालिका–१ सराङस्थित दिब्रुङ स्वास्थ्य चौकीको सुत्केरी स्याहार कक्ष पूर्णरूपमा क्षति भएको छ। मानवीय क्षति नभए पनि भवनको पछाडिको भागमा ठूलो क्षति पुगेको इलाका प्रहरी कार्यालय चन्द्रकोटले जनाएको छ। पहिरो हटाउने कार्य भइरहेको जिल्ला प्रहरी नायब उपरीक्षक डीएसपी गंगा बहादुर सारुले जानकारी दिए।

घर जोखिममा,परिवार विस्थापित

त्यसैगरी, सोमबार बिहान करिब ८ बजे चन्द्रकोट गाउँपालिका–४ पुङगामा ३३ वर्षीय अमर बहादुर कुमालको दुईतले कच्ची घरको दक्षिणपट्टि पहिरो खस्दा घरको गारो चर्किएको छ। घर उच्च जोखिममा रहेको भन्दै चार सदस्यीय परिवारलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ। उनीहरू हाल नजिकै रहेको निजका बुवा वीरबहादुर कुमालको घरमा बसाइँसराइ गरेका छन्।

जिल्लामा निरन्तर वर्षा भइरहेकाले पहिरो र बाढीको जोखिम अझै बढेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। जिल्ला प्रहरी कार्यालयले नागरिकलाई सतर्क रहन र जोखिमयुक्त स्थानमा नबस्न आग्रह गरेको छ। जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार गुल्मीका करिब दुई सयभन्दा बढी स्थान उच्च जोखिममा रहेका छन्। 

अविरल वर्षाका कारण विभिन्न स्थानका सडक पहिरोका कारण अवरुद्ध भएका छन्। केही सडक खुलाउने प्रयास भइरहेको भए पनि कतिपय सडक अझै सञ्चालनमा आउन सकेका छैनन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.