घुससहित पक्राउ परेका वडा अध्यक्षविरुद्ध अख्तियारले हाल्यो मुद्दा
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ परेका वडा अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले रुपन्देही मर्चवारी गाउँपालिका-३ का वडा अध्यक्ष जनार्दन यादवविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।
अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार विभिन्न योजनाहरूको निर्माण कार्य सम्पन्न पछि भुक्तानी गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग तीन लाख घुस लिएको पुष्टि हुनआएपछि वडा अध्यक्ष यादवविरुद्ध भ्रष्टाचार मु्द्दा दायर गरिएको हो।
केही समयअघि वडा अध्यक्ष यादवलाई ३ लाख घुससहित अख्तियारले नियन्त्रणमा लिएको थियो। अनुसन्धानका क्रममा यादवले घुस लिएको पुष्टि हुन आएपछि मुद्दा दायर गरेको अख्तियारले जनाएको छ।
उक्त मुद्दामा रुपन्देही सिद्धार्थनगर नगरपालिका-९ स्थित गणेश ट्रेडिङका सञ्चालकका छोरा विपिन कुमार पाण्डेलाई मतियार बनाइएको छ। उनले वडा अध्यक्ष यादवसँगको मिलेमतोमा सेवाग्राहीबाट घुसवापत ३ लाख रकम बुझेको देखिएकाले मतियारको रुपमा संलग्न भइ भ्रष्टाचार गरेको अख्तियारको ठहर छ।
दुवैजनाविरुद्ध ३/३ लाख विगो र सजायको माग गरिएको अख्तियारको आरोप -पत्रमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस !