निर्यात छलाङसँगै आन्तरिक उत्पादनको चुनौती
देश आत्मनिर्भर होइन आयातमुखी भयो भन्दै सधैं चिन्ता छ । निर्यात केही गर्न सकिएन भन्ने हुँदाहुँदै यो वर्ष मुलुकको निर्यातले कीर्तिमानी नै कायम गर्यो । आर्थिक वर्ष २०८१/०८२ मा नेपालको निर्यात व्यापारले २ खर्ब ७७ अर्ब रुपैयाँको आँकडा बनाएको छ ।
आँकडाको यो कीर्तिमानले निश्चय नै उत्साह वृद्धि गरेको छ । अघिल्लो वर्षको तुलनामा निर्यातमा ८१.८० प्रतिशतको वृद्धि चानेचुने उपलब्धि होइन । तर प्रश्न सँगसँगै उठेको छ के यो वृद्धि दिगो छ ? के यसले मुलुकको अर्थतन्त्रलाई साँच्चिकै बलियो बनाइरहेको छ ? यी प्रश्नहरूको उत्तर भने उत्साहजनक पाइन्न । निर्यातको जग कमजोर छ । किनभने कीर्तिमानी यो निर्यात वृद्धिको मुख्य आधार भटमासको तेल हो । जसको कच्चापदार्थ नेपालको होइन । भटमास तेलले कुल निर्यातमा ३८.५ प्रतिशत हिस्सा योगदान गरेको छ ।
१ खर्ब ६ अर्ब रुपैयाँमात्रैको भटमास तेल निर्यात भएको छ । तर, हामीले १ खर्ब ८ अर्ब रुपैयाँको कच्चा तेल आयात गरेका छौं । सूर्यमुखी र पाम तेल निर्यातको कथा पनि उस्तै हो । यी तीन वस्तुको निर्यातले कुल निर्यातको झन्डै आधा हिस्सा ओगट्छ, तर यिनको कच्चा पदार्थ लगभग शतप्रतिशत आयातित छ ।
तेल निर्यातबाट उकासिएको निर्यातको आँकडाको सोझो अर्थ हो– हाम्रो निर्यात वृद्धि उत्पादनमा आधारित नभई, आयातित कच्चा पदार्थको सामान्य प्रशोधन र पुनःनिर्यातमा टिकेको छ । विदेशी मुद्राको ठूलो हिस्सा कच्चा पदार्थ आयातमा बाहिरिएको छ । यो त अरूको बारीमा फलेको अन्न आफ्नो बोरामा पोको पारेर बेचेजस्तो भएको छ तेल निर्यातको कथा । भटमास र सूर्यमुखी तेलको निर्यात भारतको कर नीतिका कारण सम्भव भएको छ । जसै उसले कर फेर्छ, हाम्रो निर्यात रोकिन्छ । यसर्थ हाम्रो निर्यात व्यापार टिकाउ र दीर्घकालीन खालको छैन ।
भारतले हाम्रा वस्तु रोक्न अनेक बहाना गर्दै आएको भुक्तभोगी देश हौं हामी । निकट विगतमै उसले हाम्रो स्टिल, प्लाइउड र सिमेन्टमै रोक लगाइदियो । जब आफूलाई आन्तरिक उत्पादनलाई महत्त्व दिन मन लाग्छ भारतले बहाना बनाइहाल्छ । तसर्थ खास निर्यात गर्ने हो भने उसले उत्पादन नगर्ने र अत्यावश्यक हुने वस्तु उत्पादनमा हामी लाग्नुपर्छ ।
अलैंची, अदुवा, चिया, कफी, जडीबुटी, ऊनी गलैंचा, तयारी पोसाकजस्ता उत्पादनहरूको कच्चा पदार्थ स्वदेशमै उपलब्ध छ । यस्ता वस्तुको निर्यातले मात्रै वास्तविक अर्थमा विदेशी मुद्रा आर्जन गर्छ र रोजगारी सिर्जना गर्छ । अलैंची, तयारी पोसाकजस्ता वस्तुको निर्यात भने घटेको छ । हामी अर्बौंको स्याउ विदेशबाट आयात गर्छौं, तर हुम्ला–जुम्लाका स्याउले बजार नपाएर बोटमै कुहिन्छ ।
यो हाम्रो नीतिगत असफलता र प्राथमिकताको विचलनको ज्वलन्त उदाहरण हो । साँच्चिकै आयात प्रतिस्थापन गर्दै निर्यात वृद्धि गर्ने हो भने ‘आयात–प्रशोधन–निर्यात’को मोडेलबाट ‘आन्तरिक उत्पादन–प्रशोधन–निर्यात’को मोडेल जानुपर्छ । कृषिउपज र मौलिक उत्पादनको व्यावसायिक उत्पादन, प्रशोधन, प्याकेजिङ र ब्रान्डिङमा ध्यान दिनुपर्छ ।
भनिन्छ, कृषि वस्तुको स्वदेशी बजार नै चार खर्ब रुपैयाँको छ । निर्यात वृद्धि गर्न नसके पनि आयात घटाउने हो भने पनि अर्थतन्त्रलाई टेवा पुग्ने थियो । तसर्थ हालै प्राप्त निर्यात वृद्धिको कीर्तिमानीको भुलभुलैयामा रम्नु हुँदैन । आन्तरिक उत्पादन वृद्धिमै लाग्नुपर्छ र स्वदेशी कच्चापदार्थमा निर्भर वस्तुको निर्यात र स्वदेशमै खपतमा जानुपर्छ ।
प्रतिक्रिया दिनुहोस !