निर्यात छलाङसँगै आन्तरिक उत्पादनको चुनौती

निर्यात छलाङसँगै आन्तरिक उत्पादनको चुनौती
सुन्नुहोस्

देश आत्मनिर्भर होइन आयातमुखी भयो भन्दै सधैं चिन्ता छ । निर्यात केही गर्न सकिएन भन्ने हुँदाहुँदै यो वर्ष मुलुकको निर्यातले कीर्तिमानी नै कायम गर्‍यो । आर्थिक वर्ष २०८१/०८२ मा नेपालको निर्यात व्यापारले २ खर्ब ७७ अर्ब रुपैयाँको आँकडा बनाएको छ । 

आँकडाको यो कीर्तिमानले निश्चय नै उत्साह वृद्धि गरेको छ । अघिल्लो वर्षको तुलनामा निर्यातमा ८१.८० प्रतिशतको वृद्धि चानेचुने उपलब्धि होइन । तर प्रश्न सँगसँगै उठेको छ के यो वृद्धि दिगो छ ? के यसले मुलुकको अर्थतन्त्रलाई साँच्चिकै बलियो बनाइरहेको छ ? यी प्रश्नहरूको उत्तर भने उत्साहजनक पाइन्न । निर्यातको जग कमजोर छ । किनभने कीर्तिमानी यो निर्यात वृद्धिको मुख्य आधार भटमासको तेल हो । जसको कच्चापदार्थ नेपालको होइन । भटमास तेलले कुल निर्यातमा ३८.५ प्रतिशत हिस्सा योगदान गरेको छ । 

१ खर्ब ६ अर्ब रुपैयाँमात्रैको भटमास तेल निर्यात भएको छ । तर, हामीले १ खर्ब ८ अर्ब रुपैयाँको कच्चा तेल आयात गरेका छौं । सूर्यमुखी र पाम तेल निर्यातको कथा पनि उस्तै हो । यी तीन वस्तुको निर्यातले कुल निर्यातको झन्डै आधा हिस्सा ओगट्छ, तर यिनको कच्चा पदार्थ लगभग शतप्रतिशत आयातित छ । 

तेल निर्यातबाट उकासिएको निर्यातको आँकडाको सोझो अर्थ हो– हाम्रो निर्यात वृद्धि उत्पादनमा आधारित नभई, आयातित कच्चा पदार्थको सामान्य प्रशोधन र पुनःनिर्यातमा टिकेको छ । विदेशी मुद्राको ठूलो हिस्सा कच्चा पदार्थ आयातमा बाहिरिएको छ । यो त अरूको बारीमा फलेको अन्न आफ्नो बोरामा पोको पारेर बेचेजस्तो भएको छ तेल निर्यातको कथा । भटमास र सूर्यमुखी तेलको निर्यात भारतको कर नीतिका कारण सम्भव भएको छ । जसै उसले कर फेर्छ, हाम्रो निर्यात रोकिन्छ । यसर्थ हाम्रो निर्यात व्यापार टिकाउ र दीर्घकालीन खालको छैन । 

भारतले हाम्रा वस्तु रोक्न अनेक बहाना गर्दै आएको भुक्तभोगी देश हौं हामी । निकट विगतमै उसले हाम्रो स्टिल, प्लाइउड र सिमेन्टमै रोक लगाइदियो । जब आफूलाई आन्तरिक उत्पादनलाई महत्त्व दिन मन लाग्छ भारतले बहाना बनाइहाल्छ । तसर्थ खास निर्यात गर्ने हो भने उसले उत्पादन नगर्ने र अत्यावश्यक हुने वस्तु उत्पादनमा हामी लाग्नुपर्छ । 

अलैंची, अदुवा, चिया, कफी, जडीबुटी, ऊनी गलैंचा, तयारी पोसाकजस्ता उत्पादनहरूको कच्चा पदार्थ स्वदेशमै उपलब्ध छ । यस्ता वस्तुको निर्यातले मात्रै वास्तविक अर्थमा विदेशी मुद्रा आर्जन गर्छ र रोजगारी सिर्जना गर्छ । अलैंची, तयारी पोसाकजस्ता वस्तुको निर्यात भने घटेको छ । हामी अर्बौंको स्याउ विदेशबाट आयात गर्छौं, तर हुम्ला–जुम्लाका स्याउले बजार नपाएर बोटमै कुहिन्छ । 

यो हाम्रो नीतिगत असफलता र प्राथमिकताको विचलनको ज्वलन्त उदाहरण हो । साँच्चिकै आयात प्रतिस्थापन गर्दै निर्यात वृद्धि गर्ने हो भने ‘आयात–प्रशोधन–निर्यात’को मोडेलबाट ‘आन्तरिक उत्पादन–प्रशोधन–निर्यात’को मोडेल जानुपर्छ । कृषिउपज र मौलिक उत्पादनको व्यावसायिक उत्पादन, प्रशोधन, प्याकेजिङ र ब्रान्डिङमा ध्यान दिनुपर्छ । 

भनिन्छ, कृषि वस्तुको स्वदेशी बजार नै चार खर्ब रुपैयाँको छ । निर्यात वृद्धि गर्न नसके पनि आयात घटाउने हो भने पनि अर्थतन्त्रलाई टेवा पुग्ने थियो । तसर्थ हालै प्राप्त निर्यात वृद्धिको कीर्तिमानीको भुलभुलैयामा रम्नु हुँदैन । आन्तरिक उत्पादन वृद्धिमै लाग्नुपर्छ र स्वदेशी कच्चापदार्थमा निर्भर वस्तुको निर्यात र स्वदेशमै खपतमा जानुपर्छ ।
 
 
 
 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.