पहिरोका कारण पाल्पाका सडक अवरुद्ध
तानसेन : वर्षाका कारण पाल्पामा राजमार्ग र ग्रामीण सडकहरू अवरुद्ध भएका छन्। सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल खण्डको सिद्धवावा क्षेत्रमा ढुङ्गासहितको पहिरोले सडक अवरुद्ध भएको छ।
सोमबारदेखि पहिरोले सिद्धबाबा क्षेत्रमा सडक खुल्ने र बन्द हुने भइरहेको थियो। मंगलबार बिहानैदेखि सिद्धबाबा क्षेत्रमा पहिरो झरेका कारण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। सिद्धबाबा मन्दिर नजिकै सडकमाथिबाट ठुलो चट्टान र माटोसहितको पहिरो खसेपछि सडक दुवैतर्फबाट अवरुद्ध भएको हो। वर्षा रोकिएपछि मात्र पहिरो पन्छाई सडक खुलाउने दोभान प्रहरी चौकीले जनाएको छ।
यसैगरी आर्यभञ्ज्याङ्ग रामपुर सडक पनि पहिरोका कारण अवरुद्ध भएको प्रहरी चौकी आर्यभञ्ज्याङ्गले जानकारी दिएको छ। तानसेन तम्घास सहायक राजमार्गको हार्थोक रिडी सडक खण्डको माल्मुङमा पनि पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। पाल्पामा तीन दिनदेखि वर्षा भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस !