सडक चौडा गर्ने नगरको सूचनाले स्थानीय ‘आतंकित’
प्यूठान : भालुवाङ–प्यूठान सडकखण्डको मुख्य बजार क्षेत्र रहेको व्यस्त सडकखण्ड हो, बेलुवा–बाग्दुला सडकखण्ड । यो सडकखण्ड चौडा गर्न प्यूठान नगरपालिकाले ३५ दिने सूचना सार्वजनिक गरेसँगै स्थानीय ‘आतंकित’ बनेका छन् ।
नगरपालिकाले सडक विस्तार गर्दा कहाँसम्म क्षति गर्ने हो भन्ने यकिन जानकारी नहुँदा स्थानीय त्रसित बनेका हुन् । प्यूठान मुख्य बजार क्षेत्रमा पर्ने ८ किलोमिटर दूरी रहेको यो सडक प्यूठानको मुख्य व्यापारिक क्षेत्र हो । ‘सडक क्षेत्रभित्र पर्ने कुन संरचनामा कति क्षति पुग्छ भन्ने यथेष्ट जानकारी नहुँदा स्थानीयमा चिन्ता बढाएको छ’, प्यूठान नगरपालिका–४ बिजुवारका स्थानीय महेश्वर केसीले भने, ‘क्षति हुने संरचनामा नगरपालिकाले मार्किङ गर्नु पर्दछ ।’ स्थायी तथा अस्थायी भौतिक संरचनामा पुग्ने क्षतिबारे प्राविधिक टोलीको अध्ययन बिना जारी गरिएको सूचनाले स्थानीयलाई त्रसित बनाएको उनले बताए । ‘अहिले साढे सात भन्ने पछि १५ हुँदै २१ भन्न थालियो भने के गर्ने, स्पष्ट जानकारी हुनुपर्छ’, उनले थपे ।
मुख्य बजार क्षेत्रमा दिनानुदिन सवारी चाप र यस क्षेत्रमा जनसंख्या बढ्दै गएकाले सडक विस्तार आवश्यक रहेको प्यूठान नगरपालिका–१ क्वाडीका स्थानीय गोविन्द पोख्रेलले बताए । हालको साँघुरो सडकको केन्द्रविन्दु कहाँ र सडक क्षेत्राधिकारले समेट्ने क्षेत्र कति भन्नेबारे नगरपालिकाले स्थानीयलाई स्पष्ट जानकारी दिनुपर्ने उनको भनाइ छ । ‘बजार र बस्ती एकातिर, बाटो अर्काेतिर हुन सक्दैन’, उनले भने, ‘हाल कायम रहेको सडकभित्र पर्ने क्षेत्राधिकारको रेखांकन आवश्यक छ ।’
नगरपालिकाले प्यूठान नगरपालिका–१ बेलुवादेखि वडा नं. ८ बाग्दुलासम्म हाल कायम रहेको सडकको केन्द्रविन्दुबाट दायाँ ७.५ र बायाँतर्फ ७.५ गरी १५ मिटर सडक स्तरोन्नति गर्न सूचना जारी गरेको हो । नगरपालिकाले सडकको क्षेत्राधिकार भित्र पर्ने यस खण्डमा रहेका पक्की तथा कच्ची संरचनाहरू तथा सडक आसपासमा रहेका निजी सामग्रीहरू ३५ दिनभित्र हटाउन सूचना जारी गरेको हो ।
सडक डिभिजन कार्यालय प्यूठान, संघीय सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय दाङ र प्यूठान नगरपालिकाको संघीय समपूरक अनुदानतर्फ स्वीकृत वार्षिक कार्यक्रमबमोजिम सडक स्तरोन्नति गर्न लागिएको प्यूठान नगरपालिकाका प्रमुख विष्णुबहादुर योगीले बताए । सडक डिभिजन कार्यालय मार्फत ४ करोड, सहरी विकास कार्यालय र प्यूठान नगरपालिकामार्फत ३/३ करोड गरी १० करोडको लागतमा सडक स्तरोन्नति गरिने उनको भनाइ छ ।
‘कानुनी व्यवस्थाअनुसार जारी गर्नुपर्ने भएकाले ३५ दिने सूचना जारी गरेका हौं’, प्रमुख योगीले अन्नपूर्णसँग भने, ‘छिट्टै डिभिजन सडक कार्यालय, नापी कार्यालय, नगरपालिका सम्मिलित प्राविधिक टोली गठन गरी सडकले ओगट्ने क्षेत्रमा मार्किङ गर्ने काम गर्नेछौं ।’
स्थायी संरचनाहरू बिस्तारै हटाउँदै सहज ठाउँमा तत्काल सडक विस्तारको काम सुरु गर्नुपर्ने आवश्यकता रहेको प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष सन्देश आचार्यले बताए । ‘सवारी चाप बढ्दै गएकाले अहिलेको साँघुरो सडकले थेग्न सक्दैन’, उनले भने, ‘स्पष्ट योजनाअनुसार सडक विस्तार यसअनुसारको संरचना निर्माण आवश्यक छ ।’
प्रतिक्रिया दिनुहोस !