बड्डीचौर–खम्बागाडे सडकखण्डको ठेक्काको ३ वर्षपछि रूख काट्न अनुमति

बड्डीचौर–खम्बागाडे सडकखण्डको ठेक्काको ३ वर्षपछि रूख काट्न अनुमति
सुन्नुहोस्

सुर्खेत : सडकको ट्र्याक खुलेको झन्डै ३० वर्ष भयो । यही सडकलाई राजनीतिक दलले नारा बनाए । स्तरोन्नति र कालोपत्रे गरिदिने बाचा गरे । तर, अहिले पनि सुर्खेतको पश्चिम क्षेत्रलाई जोड्ने बड्डीचौर–खम्बागाडे सडकखण्डको हालत उस्तै छ । अर्थात् यो सडकमा नागरिकलाई सुविधाभन्दा सास्ती बढी छ । हालसम्म पनि यो सडक कालोपत्रे हुन सकेको छैन ।

ट्र्याक खुलेको वर्षौंसम्म स्तरोन्नति हुन सकेन । पछिल्लो समय मदन भण्डारी राजमार्गमा समेटिएपछि यो सडकको स्तरोन्नति हुने अपेक्षा गरिएको थियो । तर, राजमार्गमा समेटिए पनि यो खण्डमा स्तरोन्नतिको काम हुन सकेन । सडकमा पर्ने रूख कटानको अनुमति नपाउँदा निर्माणको काम नै रोकियो । बड्डीचौर–खम्बागाडे सडकको जम्मा दूरी केबल १३ किलोमिटर छ । यो खण्डको स्तरोन्नतिका लागि भन्दै २०७९ सालमा नै ठेक्का लागेको थियो । सरासर काम भएको भए २०८१ सालमा नै यो सडक कालोपत्रे भइसक्थ्यो । तर, रूख काट्ने अनुमति नपाउँदा निर्माणको काम नै अलपत्र परेको हो ।

लामो कसरतपछि बल्ल यो सडकमा पर्ने रूख काट्ने अनुमति मिलेको छ । अर्थात् सडक स्तरोन्नतिका लागि ठेक्का लागेको तीन वर्षपछि आएर सडकमा पर्ने रूख काट्ने अनुमति मिलेको हो । तीन वर्षअघि नै ठेक्का लागेको भए पनि रूख कटानको अल्झनका कारण काम अगाडि बढ्न सकेको थिएन । तर, अब भने सडक स्तरोन्नतिको कामले गति लिने अपेक्षा गरिएको छ । केही दिनअघि मात्र यो सडकमा पर्ने रूख कटानका लागि त्रिपक्षीय सम्झौता भएको छ । वन तथा भू–संरक्षण विभाग, कर्णाली प्रदेशको पूर्वाधार विकास निर्देशनालय र मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयबीच रूख कटानको सम्झौता भएको हो । 

अब यो सडकमा रोकिएको स्तरोन्नतिको काम अगाडि बढ्नेछ । सम्झौताअनुसार यो सडकमा पर्ने विभिन्न प्रजातिका ८६४ वटा रूख काट्ने बाटो खुलेको छ । सरकारले रूख कटानको अनुमति दिएसँगै अब काम अगाडि बढ्ने पूर्वाधार विकास निर्देशनालय सुर्खेतका प्रमुख सूर्यबहादुर शाहीले बताए । उनले भने, ‘यो सडकको स्तरोन्नतिका लागि २०७९ सालमै ठेक्का आह्वान भएको थियो, तर रूख कटानको अल्झन् थियो । अब भने सडकमा पर्ने रूख कटानको प्रक्रिया अगाडि बढ्छ, यो आर्थिक वर्षभित्रमा कालोपत्रेको काम सकिन्छ ।’ ठेक्का सम्झौताअनुसार २०८१ सालमा नै यो सडक कालोपत्रे भइसक्नुपर्ने थियो । तर, काममा अवरोध भएका कारण २०८३ साल असारसम्मका लागि म्याद थप गरिएको छ ।

पूर्वाधार विकास निर्देशनालयका अनुसार हालसम्म यो सडकको भौतिक प्रगति जम्मा २५ प्रतिशत छ । मदन भण्डारी राजमार्गमा परेको भए पनि यो खण्डको निर्माणमा प्रदेश सरकारले लिएको छ । यो सडकका लागि प्रदेश सरकारले ४२ करोड बजेट विनियोजन गरेको छ । रूख कटान नहुँदा अहिले बड्डीचौर बजारदेखि गिभिनेसम्म झन्डै ६ किलोमिटर र खम्बागाडेतर्फ एक किलोमिटर सडकमा नाला, सपोर्टवाल र कल्भर्ट निर्माण गरिएको छ । तर, ब्युरेनी क्षेत्रमा भने सडकमा रहेका रूखका कारण सडक विस्तारको काम रोकिएको थियो । २०८१ सालमै कालोपत्रे सम्पन्न गर्नुपर्ने भए पनि निर्माण कम्पनीले रूखको कारण देखाउँदै निर्माणमा ढिलाइ गरिरहेको थियो । यो सडकखण्डमा कालोपत्रे भएमा पश्चिम क्षेत्रका नागरिकलाई सहजता हुनेछ ।

ट्र्याक खुलेको झन्डै ३० वर्षपछि सुर्खेतको पश्चिम क्षेत्रलाई जोड्ने सडकमा कालोपत्रे गर्नका लागि तीन खण्डमा काम भइरहेको हो । जसमध्ये बड्डीचौर–खम्बागाडे खण्ड एउटा हो । मदन भण्डारी राजमार्ग नामाकरण गरिएको सडकको पहिलो खण्डअन्तर्गत बड्डीचौरदेखि खम्बागाडेसम्म कालोपत्रे गर्नका लागि ४२ करोड ४७ लाख ६१ हजारमा अनक जयदेवी जेभी बाँकेले सम्झौता गरेको छ । जयदेवीका सञ्चालकले अपेक्षाकृत काम गर्न नसकेपछि मुख्य निर्माण कम्पनी अनकले निर्माणको पूरै जिम्मेवारी आफैं लिएको छ । रूख कटानको काम सकेर दसैंपछि कालोपत्रेको काम अगाडि बढ्ने निर्देशनालयको भनाइ छ । बड्डीचौरलाई शून्य विन्दु मानेर तीन वर्षअघि नै यो सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) गरिएको थियो । तर, संघ सरकारले सडक निर्माणमा चासो नदेखाएपछि कर्णाली प्रदेश सरकारले पश्चिम क्षेत्रका नागरिकलाई सहज यात्राका लागि सडक कालोपत्रे गर्ने कामको अपनत्व लिएको हो । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.