अनुदान रकमको माग गर्दै उखु किसानले गरे विरोध प्रदर्शन
मलंगवा : उखुको अनुदान रकम राज्यले नदिएपछि सर्लाहीका उखु किसानहरूले मंगलबार चिनी उद्योग अगाडि टायर बालेर प्रदर्शन गरेका छन्।
सर्लाहीमा रहेका ३ वटै उद्योग अगाडि टायर बालेर किसानहरूले प्रदर्शन गरेका छन्। राज्यबाट प्रदान गरिने प्रति क्विन्टल ७० रुपैयाँ अनुदान रकमबाट ३५ रुपैयाँ बाँकी राखेको र आर्थिक वर्ष २०८२/०८३ को बजेटमा अनुदान रकम कटौती गरेकोले किसानहरू आन्दोलनमा उत्रेका हुन्। हरिवनको इन्दुशंकर चिनी उद्योग, गोडैताको महालक्ष्मी सुगर मिल र धनकौलको अन्नपूर्ण चिनी उद्योग अगाडि किसानहरूले प्रदर्शन गरेका छन्।
गत वर्षको बाँकी अनुदान रकम ३५ रुपैयाँ राज्यले दिनु पर्ने र यस आर्थिक वर्षमा कटौती गरिएका ७० रुपैयाँ अनुदान रकम दिने सुनिश्चितता नगरेसम्म आन्दोलन नरोकिने किसानहरूले बताएका छन्। गोडैताको महालक्ष्मी सुगर मिल अगाडि उखु उत्पादक संघ सर्लाहीले आयोजना गरेको प्रदर्शनमा आफूहरूको माग पूरा नभए काठमाडौं केन्द्रित आन्दोलन गर्ने समेत चेतावनी किसानहरूले दिएका छन्।
राज्यले अनुदान रकम कटौती गरेर किसान मार्न खोजेको गोडैता नगरपालिका नगरप्रमुख देवेन्द्र यादवले आरोप लगाएका छन्। राज्यले अनुदान नदिएसम्म आन्दोलन नरोकिने यादवले चेतावनी दिए। अन्यबालीझै उखुलाई पनि पकेट जोन गरेर किसानलाई प्रोत्साहन गर्नुको साटो राज्यले किसानलाई मार्न खोजेको बलरा नगरपालिकाका नगरप्रमुख रामाशंकर कुशवाहाले बताए।
उखु किसानको १ अर्ब ६० करोड अनुदान रकम बाँकी रहेको केन्द्रीय उखु उत्पादक संघर्ष समितिको सह–संयोजक राजकुमार उप्रेतीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !