डिजिटल ठगीको दुष्चक्र

डिजिटल ठगीको दुष्चक्र
सुन्नुहोस्

नेटवर्किङ व्यवसायमाथि नेपालमा प्रतिबन्ध लागेको छ । युनिटी लाइफ र हर्बोजस्ता कम्पनीहरूले सर्वसाधारणको अर्बौं रकम नेटवर्किङकै नाममा डुबाएका थिए । त्यसपछि नै नेपालमा वस्तु विनिमय ऐनमार्फत नेटवर्किङ व्यवसायमा बन्देज लागेको छ । तर नेटवर्किङ व्यवसायबाट हुने ठगीका स्वरूप फेरिएका छन् । इन्टरनेटका माध्यमबाट नेटवर्किङ व्यवसाय भन्दै ठगिन क्रम उस्तै छ । हाइपर फन्ड अर्थात् हाइपर भर्सको नाममा संगठित रूपमा भएको नेपालीहरूको अर्बौंको ठगी भएको छ । 

प्रविधिका माध्यमबाट नेपालभित्र र बाहिरका नेपालीलाई नेटवर्किङ कम्पनीले ठगेको छ । पछिल्लो समय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले यस्तो ठगीको अनुसन्धान गरेको छ । हाइपर भर्स प्रकरणको प्रकृति हेर्दा यो निकै योजनाबद्ध र संगठित अपराध हो भन्ने स्पष्ट हुन्छ । बेलायत, पोर्चुगल, अमेरिका, अस्ट्रेलियाजस्ता देशमा बस्ने नेपालीहरू नै यसका मुख्य सञ्चालक रहेको प्रहरीको अनुसन्धानले देखाएको छ । 

तीन सय डलर लगानी गरेपछि तेब्बर हुने प्रलोभन दिएर हाइपर भर्सबाट थुप्रै नेपाली ठगिएका छन् । आखिर लोभ र लालचकै कारण त्यसरी नेपाली ठगिएका हुन् । चिन्दै नचिनेको व्यक्तिले गरेको प्रस्ताव सजिलै स्वीकार्ने सोझासादा नेपालीलाई नेटवर्किङ व्यवसायका नाममा गिरोहले ठगेको छ । कतिसम्म भने प्रहरी अनुसन्धानले यो धन्दाबाट एउटै नेपालीको डेढ करोड रुपैयाँसम्म पनि डुबेको छ । त्यसरी ठगहरूले ५० करोड रुपैयाँसम्म ठगेका हुन सक्छन् । यो प्रहरीको प्रारम्भिक अनुमान हो । वास्तविकता अझै ठूलो हुन सक्छ । 

ठगहरूले भने उल्टै ‘नेपालका सबै निकाय किनिदिन सक्छौं, तिमीहरूले केही गर्न सक्दैनौ’ भन्दै धाकधम्की दिएका छन् । नेपालमा जसलाई पनि ठग्न सकिन्छ र नेपालमा ठगीधन्दा गर्नेमाथि कारबाही हुँदैन भन्ने ठगहरूको मनोबलको द्योतक हो त्यो धम्की । अहिले पीडितहरू न्यायका लागि प्रहरी कार्यालय भौंतारिइरहेका छन् । ललितपुर जिल्ला प्रहरी कार्यालयमा उजुरीका चाङ लागेको छ । सीआईबीले केही व्यक्तिलाई पक्राउ गरी संगठित अपराध र ठगीमा मुद्दा चलाए पनि विदेशमा रहेका मुख्य योजनाकारहरूलाई पक्राउ गर्न सकिएको छैन । हुन् पनि प्रविधिले पृथ्वीको जुनसुकै कुनामा बसेर जसलाई पनि ठग्न सजिलो भएको छ । 

नेटवर्किङ व्यवसायको नाममा भइरहेको यो डिजिटल ठगी पहिलो होइन र अन्तिम पनि पक्कै नहोला । यसको अन्त्यका लागि त सजिलै र कामै नगरी पैसा आउँछ भन्ने कुरामा विश्वास हट्नुपर्छ । त्यस्तो लोभको पनि अन्त्य हुनुपर्छ । युनिटी र हर्बोका ठगहरूलाई राज्यले हदैसम्मको कारबाही गरेको भए पनि फेरि यसरी फेरि कसै ठगीको फणा उठाउन सक्दैनथ्यो । तर हाम्रो राज्यले यस्ता अपराध नियन्त्रण गर्न कठोर र परिणाममुखी कदम चालेको छैन । 

सरकारले यस्ता अपराधमा संलग्न स्वदेशी वा विदेशी जोसुकैलाई कानुनी कठघरामा उभ्याउन अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) र सम्बन्धित देशहरूसँगको समन्वयलाई तीव्र बनाउनुपर्छ । सोझासादा नेपालीलाई वित्तीय साक्षरता र डिजिटल अपराधबारे जनचेतना फैलाउनु उत्तिकै आवश्यक छ । प्रविधिको विकाससँगै अपराधका नयाँ स्वरूपहरू देखा पर्नु स्वाभाविक हो, तर त्यसलाई निस्तेज पार्ने पूर्वतयारी र बलियो कानुनी संयन्त्र निर्माण गर्नु राज्यको प्रमुख दायित्व हो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.