विधायिकी अपरिपक्वता

विधायिकी अपरिपक्वता
सुन्नुहोस्

जेठ २ गते संसद्को राज्य व्यवस्था समितिले ‘निजामती सेवाबाट अवकाश वा राजीनामा दिएका कर्मचारीले दुई वर्ष पूरा नभएसम्म संवैधानिक वा सरकारी पदमा नियुक्ति पाउन नपाउने’ भन्ने प्रावधानसहित विधेयकको प्रतिवेदन सर्वसम्मतिले पारित गरेको थियो । तर संसद्बाट पारित भएर आउँदा ‘संवैधानिक वा कूटनीतिक नियुक्ति तथा नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्तिबाहेक’ भन्ने आयो । जुन प्रयोजनका लागि त्यस्तो व्यवस्था गर्नुपरेको हो, त्यही बाहेक भन्ने थप्ने काम कसले गर्‍यो भन्ने विषयले मुलुक तरंगित बन्यो । प्रतिनिधिसभाले असार २३ गते अध्ययन तथा छानबिन गर्न गठन गरेको विशेष समितिले ल्याएको प्रतिवेदनले पनि दोषी यकिन नगरी सबैलाई पानीमाथिको ओभानो सावित गरिदिएको छ ।

खासमा कर्मचारीहरूलाई मात्रै अवसर दिने प्रवृत्तिकै अन्त्य जरुरी थियो । तिनलाई पनि सङ्लने समय अर्थात् ‘कुलिङ पिरियड’ राख्न खोज्दासमेत गम्भीर षड्यन्त्रपूर्वक त्यस्तो प्रावधानमै गडबड गरिएको छ । यो हाम्रो विधायिकी प्रक्रियाको अपरिपक्वता, राजनीतिक नेतृत्वको गैरजिम्मेवारपन हो । प्रतिनिधिसभा जस्तो गरिमामय संस्थामा प्रस्तुत हुने विधेयकको प्रतिवेदनमा यति ठूलो त्रुटि हुनु र त्यसको जिम्मेवारी लिनुको सट्टा एकअर्कालाई दोष दिएर पन्छिन खोजिएको छ । 

स्वाभाविक रूपमा राजनीतिक नेतृत्व, विशेषगरी समितिका सदस्यहरू र सभापति, जिम्मेवारीको कठघरामा उभिनुपथ्र्यो । तर, भयो उल्टो । सुरुमा कर्मचारीहरूमाथि दोष थोपर्ने प्रयास गरियो, मानौं विधेयक निर्माणको सम्पूर्ण प्रक्रिया र त्यसको अन्तिम अनुमोदनको अधिकार कर्मचारीमा निहित छ । यो सरासर आफ्नो जिम्मेवारीबाट पन्छिने र कर्मचारीतन्त्रलाई ‘सफ्ट टार्गेट’ बनाउने प्रवृत्ति हो । संसदीय समितिको नेतृत्व गर्नु भनेको केवल बैठकको अध्यक्षता गर्नुमात्र होइन, समितिबाट पारित हुने हरेक दस्तावेजको शुद्धता र वैधता सुनिश्चित गर्नु पनि हो । गल्ती स्वीकार्नु र त्यसको नैतिक जिम्मेवारी लिनु नै राजनीतिक इमानदारी हो ।

खासगरी राजनीतिक नेतृत्वले आफू अनुकूल ‘एसम्यान’लाई संवैधानिक नियुक्ति दिलाउँदै आएको छ । र, कर्मचारीहरू पनि चाकडी, चाप्लुसीमा लागेर पद हत्याउने गरेका छन् । त्यसैको परिणाम हो, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लोकमानसिंह कार्कीजस्ता व्यक्तिहरूको विगतमा भएको नियुक्ति । अनि राजनारायण पाठकजस्ता व्यक्ति पनि नियुक्त भए र अख्तियार दुरुपयोग गर्दै घूसमा संलग्न रहे । 

राजनीतिक नेतृत्वमा अध्ययन र अनुसन्धानको कमी हुँदा उनीहरू निर्णय प्रक्रियाका लागि पूर्ण रूपमा कर्मचारीतन्त्रमा निर्भर हुन्छन्, जसले गर्दा कर्मचारीहरूले नै राजनीतिलाई चलाउँछन् । सरकार चलाउँदा त यस्तो हुन्थ्यो नै संवैधानिक आयोगमा पनि कर्मचारीहरू नै हाबी हुँदै आएका छन् । निजामती सेवाभन्दा बाहिरका र अन्तर्राष्ट्रिय स्तरमा समेत दक्षता प्रमाणित गरेका स्वतन्त्र विज्ञहरूले संवैधानिक आयोग र त्यस्तै विशिष्ट नियुक्तिमा अवसर पाएका छैनन् । स्वार्थ समूहबाट नियुक्त भएका व्यक्तिहरूले पदको दुरुपयोग गर्ने, भ्रष्टाचारमा मुछिने र संस्थागत सुधार गर्न नसक्ने उदाहरणहरू प्रशस्त छन् । 

निजामती सेवामा एकैखाले समुदायको वर्चस्व छ, उही समूहले नै बारम्बार संवैधानिक नियुक्ति पाउँदा समावेशी राज्यको सिद्धान्त र संविधानको भावनामाथि प्रहार भएको छ । ‘कुलिङ पिरियड’ विवादलाई केवल एक व्यक्तिको गल्ती वा एउटा समितिको कमजोरीका रूपमा मात्र हेरिनु हुँदैन । यो हाम्रो विधायिकी प्रक्रियामा सुधारको आवश्यकता, राजनीतिक नेतृत्वमा हुनुपर्ने उत्तरदायित्वको बोध र कर्मचारीतन्त्रसँग विश्वासको सम्बन्ध पुनस्र्थापित गर्नुपर्ने टड्कारो आवश्यकताको सूचक हो । 
 
 
 
 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.