अर्घाखाँचीमा ३ हजार १ सय १८ हेक्टर जमिनमा सिँचाइ सुविधा
अर्घाखाँची : अर्घाखाँचीमा ३ हजार १ सय १८ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ। जिल्लामा ८ हजार ५ सय ४४ हेक्टर सिँचाइ योग्य जमिन रहेकोमा ३६.४९ प्रतिशत जमिनमा सिँचाइ सुविधा पुगेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय अर्घाखाँचीका डिभिजन प्रमुख भेषराज भुसालले बताए।
जिल्लामा २१ हजार २ सय ४७ हेक्टर जमिनमा खेती गरिँदै आएको छ। जस मध्ये ८ हजार ५ सय ४४ हेक्टर सिँचाइ योग्य जमिन रहेकोमा ३ हजार १ सय १८ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको डिभिजन प्रमुख भुसालको भनाइ छ।
जल श्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय अर्घाखाँचीले आयोजना गरेको वार्षिक प्रगति समीक्षामा बोल्दै डिभिजन प्रमुख भुषलले एक वर्षको अवधिमा १ सय २३ वटा सिँचाइका योजना सम्पन्न गरेको जानकारी दिए। गत आर्थिक वर्ष २०८१/८२ मा जिल्ला भरमा रहेका १ सय ३३ मध्ये १ सय २३ वटा योजना सम्पन्न गरेको, २ वटा कार्यान्वयनको चरणमा रहेको र ८ वटा योजना मापदण्ड अनुसार नभएकाले ती योजनामा काम गरिएको छैन।
कार्यालयले उत्कृष्ट कार्यसम्पादन गर्ने अर्घा कन्स्ट्रक्सन, समयभन्दा अगावै उत्कृष्ट कार्य सम्पादन गर्ने लुम्बिनी निर्माण सेवा, उत्कृष्ट रूपमा योजना कार्यान्वयनमा ल्याउने चौबाटार जलस्रोत उपभोक्ता समिति र ३६ वर्ष सम्म (कार्यालयको संस्थापक कर्मचारीका रूपमा) काम गरेर अनिवार्य अवकाश हुने डम्बरबहादुर खत्रीलाई सम्मान गरेको छ।
प्रतिक्रिया दिनुहोस !