आयोगको ‘स्वमूल्यांकन’ कि दलमाथि नियन्त्रण ?

आयोगको ‘स्वमूल्यांकन’ कि दलमाथि नियन्त्रण ?
सुन्नुहोस्

निर्वाचन आयोगले हालै सार्वजनिक गरेको ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि’को मस्यौदाले राजनीतिक दलहरूमा तरंग सिर्जना गरेको छ । आयोग दलहरूलाई पारदर्शी र जवाफदेही बनाउने उद्देश्यबाट कार्यविधि आएको भन्दै छ । दलहरू भने यसको कानुनी धरातल र संवैधानिक आधार नभएको बताउँदै विरोधमा उत्रिएका छन् । कार्यविधि पारित भइहालेको र लागू भएको भने होइन ।

छलफलकै क्रममा भएको हुँदा यसमाथिको बहसले पक्कै निष्कर्ष ल्याउला भन्ने अपेक्षा गर्न सकिन्छ । दलहरूभित्र आन्तरिक लोकतन्त्र सुदृढ गर्न, आर्थिक पारदर्शिता कायम गर्न र समावेशिता सुनिश्चित गर्न स्वमूल्यांकन आवश्यक रहेको तर्क आयोगको छ । यी उद्देश्यहरू आफैंमा सकारात्मक छन् । तर, असल नियतले मात्र कुनै पनि कामको वैधानिकता पुष्टि हुँदैन । आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ६१ ले दिएको अधिकार प्रयोग गरी कार्यविधि बनाएको दाबी गरेको छ । तर, उक्त दफाले ऐनको कार्यान्वयनका लागि आवश्यक कार्यविधि र निर्देशिका बनाउने अधिकार दिएको हो, स्वमूल्यांकनबारेको होइन । कार्यविधिले दलहरूलाई अंकभारका आधारमा मूल्यांकन गर्ने, त्यसका लागि आयोगका सचिवको नेतृत्वमा समिति गठन गर्ने र प्रतिवेदन आयोगमा बुझाउनुपर्ने जस्ता व्यवस्थाहरू अघिसारेको छ । त्यसैमा दलहरूको आपत्ति हो । आपत्ति नाजायज लाग्दैन ।  

संविधानको धारा २६९ ले दल गठन, दर्ता र सञ्चालनको स्वतन्त्रता प्रदान गरेको छ । धारा २७० ले राजनीतिक दलमाथि प्रतिबन्ध लगाउने गरी कानुन बनाउन नपाइने स्पष्ट व्यवस्था गरेको छ । आयोगको प्रस्तावित कार्यविधिले दलहरूको स्वतन्त्र सञ्चालनमा अंकुश लगाउन खोजेको देखिन्छ । संविधानको धारा २४६ ले निर्वाचन आयोगको काम, कर्तव्य र अधिकार स्पष्ट तोकेको छ । त्यसमा दलहरूको आन्तरिक कार्यसम्पादनको मूल्यांकन गरी श्रेणीकरण गर्ने अधिकार आयोगलाई दिइएको छैन । संवैधानिक निकायहरू संविधान र कानुनले तोकेको सीमाभित्र चल्नुपर्छ । 

सत्तासीन दलदेखि प्रतिपक्षीसम्म, ठूलादेखि सानासम्म लगभग सबै दलहरू एकै स्वरमा कार्यविधिको विपक्षमा छन् । तसर्थ, यो कार्यविधि आयोगले पारित गराउने र कार्यान्वयनमा लैजाने सम्भावना देखिन्न । लोकतन्त्रमा राजनीतिक नेतृत्वले कर्मचारीतन्त्रलाई निर्देशन र नियन्त्रण गर्छ, कर्मचारीतन्त्रले राजनीतिक दललाई होइन । दलहरूको अन्तिम मूल्यांकन गर्ने सार्वभौम अधिकार जनतामा निहित हुन्छ, जसको प्रयोग उनीहरूले आवधिक निर्वाचनमार्फत गर्छन् । जनताको जनादेशभन्दा ठूलो मूल्यांकन अरू हुन सक्दैन । त्यसो त दलहरूभित्र व्याप्त अपारदर्शिता, आन्तरिक लोकतन्त्रको अभाव र आर्थिक अनुशासनहीनता जस्ता समस्याहरू लोकतन्त्रका लागि चुनौती हुन् । तर, यसको समाधान आयोगले आफ्नो अधिकार क्षेत्र नाघेर ‘डन्डा’ चलाउनु होइन । दलहरूको नियमनका लागि कानुन अपर्याप्त भए त्यसको सुधारको प्रक्रिया संसद्बाटै थालिनुपर्छ ।

निर्वाचन आयोगले सरकारलाई कानुन संशोधनका लागि सुझाव दिन सक्छ । तर, कानुन बनाउने संसद्को अधिकार आफैंले प्रयोग गर्न खोज्नु संवैधानिक विचलन हो ।  झन् यही बेला निर्वाचन आयोग प्रमुख आयुक्तविहीन छ । यस्तो बेला हतारमा प्रस्तावित कार्यविधिले दलहरूलाई सशंकित पार्नु स्वाभाविक छ । आयोगले मस्यौदा तत्काल फिर्ता लिनु नै बुद्धिमानी हुन्छ । त्यसले आयोगको निष्पक्षता र साखमाथि लागेको दाग मेट्न मद्दत गर्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.