रिपोर्टर डायरी : ...अनि रवि लामिछानेलाई एसीसहितको सुविधा दिइएको समाचार लेखें
गत शुक्रबार, म अफिसमा काम गर्दै थिएँ। सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग सम्बन्धित प्रकाशित समाचार पढें। सामाजिक सञ्जालमा पनि उक्त विषय छ्याप्छ्याप्ती रूपमा देखें। पाठकको रूपमा समाचार पढिसकेपछि, एउटा बन्दीमाथि साह्रै नै अत्याचार भएको महसुस मलाई भयो। 'लामिछानेलाई राखिएको अँध्यारो कोठामा न राम्ररी हावा पस्छ, न उज्यालो छ' भनिएपछि यस विषयमा मैले चासो देखाएँ। 'कसैमाथि पनि यस्तो अत्याचार हुनुहुँदैन' भन्ने मलाई लाग्छ। तर, समाचार लेख्नुभन्दा पहिले मलाई वास्तविकता बुझ्नुथियो। मैले यस विषयमा सम्बन्धित स्रोतहरूसँग सोधीखोजी गर्न थाले।
मेरा विश्वस्त स्रोतहरूसँग मैले गोप्यरूपमा सम्पर्क गरेँ। लामिछानेको कारागार बसाइको विषयमा सोधखोज गरेँ। मैले बुझ्ने क्रममा कारागार प्रशासनले लामिछानेलाई अन्य कैदीभन्दा धेरै राम्रो एसीसहितको सुविधा दिएको सूचना पाएँ। केही घण्टाअघिसम्म लामिछानेमाथि अत्याचार भएको महसुस गरेको मैले त्यो सूचनापछि दोधारमा परें। रुपन्देही जिल्ला कारागारमा कुनै कैदीबन्दीलाई पनि एसीलगायतको सुविधा दिइएको छैन। तर, रास्वपा सभापतिले त्यो सुविधा पाएका रहेछन्। मेरा लागि त्यो सूचना अति नै महत्त्वपूर्ण थियो। मैले त्यो सूचनालाई पुष्टि गर्ने प्रमाणहरू जुटाउनतिर लागें। प्रमाणको रूपमा त्यहाँ जोडिएको एसीको फोटो/भिडियो मलाई आवश्यक थियो। विश्वस्त सूचना भए पनि फोटो/भिडियो बिना समाचार लेख्न सम्भव थिएन। स्रोतहरूले रिपोर्टरहरूलाई डुबाएका थुप्रै उदाहरणहरू छन्, पछि मलाई पनि त्यस्तै नहोस् भनेर मैले प्रमाणका लागि अड्डी नै कसेँ।

फोटो/भिडियोका लागि आफ्नो स्रोतलाई परिचालन गरे। सफलता हात लागेन। सजिलै लागोस् पनि कसरी? एसीको भित्री र बाहिरी दुई वटा युनिट हुन्छ। एसीको एउटा युनिट कोठाभित्र हुन्छ भने प्रायः धेरै भवनमा बाहिरी युनिट (आउटडोर) भित्ताको सहारामा राखिएको देखेको छु। कोठाभित्र रहेको एसीको युनिटको फोटो/भिडियो पाउने सम्भावना देखिएन। एसीको बाहिरी युनिट पनि कोठाको चारवटामध्ये कुनै पनि भित्ताको सहारामा लगाइएको देखिएन। तर, म आफ्नो स्रोतप्रति पूर्ण विश्वस्त थिए। त्यसपछि सूचना पाएँ कि, एसीको बाहिरी युनिट (आउटडोर) कुनै भित्ताको सहारा नभई कोठाको छतमाथि तलबाट नदेखिने गरी राखिएको छ।
मोबाइललाई आफ्नो कार्यालय क्षेत्रको बीटीएस टावरमा कनेक्सनमा राखेर बाहिर निस्किएको म अफिस आएर तत्काल गुगल स्ट्यालाइट इमेजमा लामिछानेलाई राखिएको कोठाको छत हेरें। कोठाको छतमा कुनै वस्तु भएको अनुमान गरेँ। किनभने तस्बिरमा स्पष्ट नदेखिए पनि सेतो रंगको वस्तु प्रस्ट देखिन्थ्यो। प्राप्त सूचना र गुगल स्ट्यालाइट इमेज हेर्दा कोठाको छतमाथि केही न केही रहेको भन्नेमा म ढुक्क भएँ। साँझ परिसकेको थियो। समाचार पठाउन ढिलाइ भइरहेको थियो।
त्यसपछि कोठाको छतमा एसीको बाहिरी युनिट छोपेर राख्न खोजेको जस्तो अवस्थामा रहेको भन्ने पुष्टि भयो। तस्बिर खिच्न लगाएँ। प्रमाण जुट्ने भएपछि समाचार लेख्न सुरु गरेँ। समाचारमा भनाइका लागि कारागार प्रमुख सुरेश भण्डारीलाई पटक-पटक फोन सम्पर्क गरेँ। फोन उठेन। तर, उनको आवाज नसुनी समाचार नपठाउने निधोमा थिएँ। बल्ल बल्ल उनी सम्पर्कमा आए । लामिछानेको सुविधाको विषयमा कुरा निकाल्ने लगत्तै उनले आफू व्यस्त रहेकाले कुरा गर्न नमिल्ने प्रतिक्रिया दिए। त्यही कुरा कोट गरेर मैले समाचार पठाएँ।
समाचारको लिङ्क : रवि लामिछानेलाई जेलमा भीआइपी सुविधा, एसीमा बस्छन्, साँझ बाहिर डुल्छन्
त्यसपछि खिचिएको तस्बिर हेर्न गएँ। खिचाई त्यति चित्त बुझेन। त्यसैले तस्बिर अफिसमा पठाइनँ। आफूसँग सुरक्षित राखे। रात परेकाले केही हदसम्म सफा देखिने तस्बिर र भिडियो खिच्ने योजना बनाएँ। कसैले थाहा नपाउने गरी लामिछानेको कोठाको छतमा राखिएको एसीको तस्बिर र भिडियो खिचेर आफूसँग राखेँ।
हेर्नुस् तस्बिर

प्रकाशित समाचारको विषयमा धेरै टीका टिप्पणी सुरु भयो। तारान्तर फोनको घण्टी बज्न सुरु भयो। चिनेका केहीलाई प्रतिक्रिया दिएँ। अनि सुतें।
भोलि (शनिबार) त्यसैमाथि जनैपूर्णिमा/रक्षाबन्धन पर्वको अवसरमा सार्वजनिक बिदा। खासै काम गरिएन। एसी सुविधाको सम्बन्धमा समाचार प्रकाशित भएपछि शनिबार बिहान रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) डा. टोकराज पाण्डे सो सम्बन्धमा बुझ्नका लागि कारागार पुगेको तर लामिछानेको कोठामा नहेरेको सूचना प्राप्त भयो। कारागार प्रमुख सुरेश भण्डारीले सिडिओ पाण्डेलाई लामिछानेको कोठामा एसी नरहेको बिफ्रिङ गरे। उनले पनि आफ्नो कर्मचारीलाई नपत्याउने कुरै भएन।
समाचार प्रकाशित भएलगत्तै त्यसैरात लामिछानेको कोठाबाट एसी र कुलर हटाइएको भन्ने सूचना प्राप्त भयो। सोमबार बिहान फेरि त्यही कोठाको छतको तस्बिर/भिडियो खिचेँ। जहाँ पहिला एसीको बाहिरी युनिट राखिएको थियो। अहिले त्यहाँबाट हटाइएको छ।
हेर्नुस् तस्बिर

राष्ट्रिय मानव अधिकार आयोगको टोलीले कारागारको अनुगमन गर्ने सोमबार बिहान खबर पाएँ। पानी सिमसिम परिरहेको थियो। अलि ढिला भइरहेकाले हतपतमा एउटा रोटी, तरकारी र एउटा केरा खाएर कारागारतिर हानिएँ। भैरहवाको बर्मेलीटोल पुग्दा पानी अलि चर्कियो। मोटरसाइकल छेउ लगाएर ओर्लिन खोजें। फेरि सोँचे, पानी दर्कियो भने झन् रोकिनुपर्छ। त्यसैले वर्षाको प्रवाह नगरी अगाडि बढेँ। कारागार कार्यालय बाहिर पुग्दा निथ्रुक्कै भइसकेको रहेछु।
आयोगको टोली कारागारमा अनुगमन गर्ने खबर प्राप्त भएपछि नेपाल पत्रकार महासंघ रुपन्देहीको अध्यक्ष दिनेश पाण्डेसहितको पत्रकार टोली रिपोर्टिङका लागि पुगेको थियो। आयोगका आयुक्त लिली थापाको नेतृत्वमा पुगेको टोली अनुगमनका लागि कारागार गेटबाट भित्र पस्यो। पत्रकारहरूलाई भित्र प्रवेश निषेध गरियो। त्यसपछि सबै पत्रकार गेट बाहिर कुरेर बस्नु पर्यो।
करिब सवा घण्टा कारागारभित्र बिताएको टोली अनुगमन गरेर बाहिर आएपछि गेट बाहिर उपस्थित पत्रकारहरूलाई आयुक्त थापाले कैदी-बन्दीको अवस्थाबारे प्रतिक्रिया दिएर गाडी चढेर त्यहाँबाट निस्किइन्। त्यसपछि कारागार प्रमुख भण्डारीसँग पनि प्रतिक्रिया लिन पत्रकार टोलीबीच निधो भयो। फोन सम्पर्कमा उनले आफूले माथि रिपोर्टिङ गरिरहेको र एकछिनमा सम्पर्क गर्ने बताएपछि केही समय गेट बाहिर पर्खिएर बस्यौं। केही समयपछि कारागार प्रमुख भण्डारी गेट बाहिर आए।
त्यसपछि पत्रकारहरूले भित्र बसेर कुराकानी गर्न आग्रह गरेर गेटभित्र पसे। लगत्तै क्यामेरा, मोबाइल गेटमै राखेर मात्र भित्र जाने मिल्ने सर्त राखियो। पत्रकारको हतियारको रूपमा रहेको क्यामेरा नै लैजान नदिएपछि पत्रकारहरूले भित्र जानुको अर्थ नरहेको भन्दै गेट बाहिर निस्किए। गेटभित्र प्रमुख भण्डारी र बाहिर पत्रकारहरू भए। क्यामेरामा बोल्न नचाहे पनि पुर्पक्षका लागि थुनामा रहेका रवि लामिछानेलाई एसी सुविधा प्रदान गरिएको हो वा होइन? विषयमा प्रतिक्रिया दिन आग्रह गरे। उनले हो/होइन केही भनेनन्।
त्यसपछि कारागारमा लामिछानेलाई राखिएको छुट्टै कोठाको माथि राखिएको एसीको बाहिरी युनिट (कम्प्रेसर) को तस्बिर देखाउन खोजेपछि उनले अन्य सबै पत्रकारलाई छाडेर अन्नपूर्णकर्मी (मलाई)लाई हल्का रूपमा गेटभित्र ताने। लगत्तै पत्रकार प्रकाश न्यौपाने पनि फुत्त गेटभित्र छिरे। प्रहरीले गेट बन्द गरे। महासंघका अध्यक्षसहित अन्य पत्रकार बाहिर रहन पुगे।

त्यसपछि लामिछाने रहेको कोठाको छतमाथि राखिएको एसीको बाहिरी युनिट (कम्प्रेसर)को तस्बिर र समाचार प्रकाशितपछि हटाइएको अवस्थामा उक्त स्थलको तस्बिर देखाउँदै प्रश्न गरिएपछि उनले तस्बिर जुम गरेर हेरे। क्यामेरामा बोल्नै नचाहेका उनले त्यसपछि भने, ‘मलाई यो लफडामा नपार्नुस्। मैले हजुरहरूलाई गर्नुपर्ने सहयोग गर्छु।’
उनी निकै आत्तिएको अवस्थामा देखिएका थिए। कुरै गर्न नचाहेका उनी त्यसपछि कार्यकक्षतर्फ लम्किए र हामी दुई जना गेट बाहिर निस्कियौं।
कोठाबाट एसी हटाइसकेपछि सोमबार कारागारको अनुगमन गर्न पुगेको राष्ट्रिय मानव अधिकार आयोगको टोलीले लामिछानेको कोठामा एसी देख्ने कुरै भएन। जसअनुसार उनले एसी नरहेको भन्ने पत्रकारहरूलाई प्रतिक्रिया दिइन्। तर, अनुगमन टोलीमै रहेकी इन्सेक रुपन्देहीको अध्यक्ष रिमा बिसीले कोठामा एसी नरहेको तर, कोठामा एउटा प्वाल रहेको बताइन्। जसलाई एसीको पाइपको लागि प्रयोग गरिएको थियो।
प्रतिक्रिया दिनुहोस !