तातोपानी नाकाको कहरः अब भरियाको भर

तातोपानी नाकाको कहरः अब भरियाको भर
सुन्नुहोस्

सिन्धुपाल्चोक : चीनसँगको उत्तरी सीमा नाका तातोपानीको कोदारी सडक पहिरोले बगाएको छ। सडक सञ्जाल विच्छेद भएसँगै चीनबाट भित्रिएका सामान बोकेर पहिरो वारी तार्ने भरियाको ताँती देखिन्छ।

तातोपानी नाकाको मितेरी पुलबाट करिब २ किलोमिटर काठमाडौंतर्फ भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित पर्ने इकोमा पहिरो गएको १० दिन बितिसकेको छ। पहिरोले कोदारी सडकखण्ड अबरुद्ध बन्न पुग्दा तातोपानी नाका अस्तब्यस्त बनेको छ। पहिरो पन्छाउन नसक्दा अत्यावश्यक सामग्री आयातदेखि स्थानीयलाई आवतजावतमा समेत समस्या परेको छ। नाका नजिकै सडक बन्द भएपछि नेपाल छिरेका कन्टेनरको सामान भरियामार्फत बोकाउन थालिएको छ।

चीनबाट ल्याइएका फलफूलजन्य सामानहरू कुहिन थालेपछि भरियालाई बोकाएर पहिरो कटाउन थालिएको व्यवसायी शारदाप्रसाद पराजुलीले जानकारी दिए। ‘सडक अवरुद्ध भएको १० दिन भइसक्यो। व्यवसायीले ल्याएको स्याउ, आँप, अङ्गुर, लसुन, प्याज लगायतका सामानहरू कुहिन थालेपछि हामीले भरियालाई बोकाएर सामान तारिरहेका छौं,’ पराजुलीले भने– ‘हामीले पहिरो वारीबाट कन्टेनरमा आएको सामान पल्टी गरेर सामान भन्सार यार्डसम्म लान सुरु गरेका हौं।’

नाकाको सडक खोल्न अझै केही समय लाग्ने भएकाले कुहिने सामान व्यवसायीले बोकाएर भन्सार ल्याउन थालेका तातोपानी भन्सार कार्यालयले जनाएको छ। तातोपानी भन्सार अधिकृत सूर्य काफ्लेले सडक अवरुद्ध भएकाले राजस्व संकलनमा प्रत्यक्ष प्रभाव परेको बताए। सडक अवरुद्ध हुने क्रम जेठबाटै सुरु भएको उनले बताए। 

भन्सारको यो महिनाको राजस्व ३६ प्रतिशत मात्र संकलन भएको छ। काफ्लेले भने, ‘बेलाबेलामा हुने सडक अवरुद्धका कारण भन्सार कारोबार प्रभावित हुँदै आएको छ।’ कतिपय फलफूल बोकेका गाडी चीनको भागमा अड्किएको कन्टेनरमा समेत सामानहरू कुहिन थालेको व्यवसायीहरूको भनाइ छ। ‘सडक बनिरहेको छ, जति बनाए पनि बगिनै रहेको छ’, पराजुली भन्छन्– ‘सडकको भर लागेन, सबै कुहिने डरले त्यसपछि हामीले सामान बोक्न थालेका हौं।’ उनले भरियालाई बोकाएर सामान ल्याउँदा कुच्चिने, बिग्रने र नासिने गरेको समेत उनले सुनाए।

शनिबारदेखि बोक्न थालिएकोमा हालसम्म २८ कन्टेनरका सामान बोकाएर पल्टी गरिएको छ। चीनबाट भन्सारसम्म ल्याउने ४० फुटे कन्टेनर बराबर नेपालमा ३ वटा कन्टेनर भरिन्छ। एउटा कन्टेनर बराबर सामान पल्टी गरेको १ लाख ३० हजार ज्याला तिरेको व्यवसायी पराजुली बताउँछन्।

कतिपय फलफूल बोकेका गाडी चीनको भागमा अड्किएको छ त्यसमा समेत समस्या आएको ढुवानी कर्ता ट्रान्सपोटहरूले बताएका छन्। नेपाली व्यवसायीहरूले सामान हालेको झन्डै ६ सय कन्टेनर लोड भएर चिनियाँ भूभागमा अड्किएको छ भने कतिपय सामान न्यालमको वयरहाउसमा छन्। बाढी र पहिरोले रसुवा नाका बन्द भएको कारण व्यवसायीहरू तातोपानी नाकाबाट आयात गर्न बाध्य छन्। 

इकोमा बर्सेनि पहिरो झर्ने गर्छ, वर्षातसँगै आएको पहिरोमा अहिले लेदो बग्दै गरेकोले पैदल यात्रा गर्न समेत गाह्रो भएको वडाध्यक्ष कुमार श्रेष्ठ बताउँछन्। ‘माथिबाट आएको पहिरो पन्छाएर सडक खोल्न लागि परेका छौं,’ अध्यक्ष श्रेष्ठले भने– ‘पहिरो माथि बस्ती छ, त्यसलाई समेत जोगाएर सडक सञ्चालनमा ल्याउने तयारीमा छौं।’ यातायात अवरुद्ध भएपछि मानसरोवर आउजाउ गर्ने तीर्थयात्री हिँडेरै वारपार गर्न बाध्य भएको उनको भनाइ छ।

रसुवा नाकामा बाढीले क्षति पुर्‍याएपछि तातोपानीमा आयातको चाप बढ्दो क्रममा छ। तर नाकामा सडक समस्याका कारण व्यवसायी चिन्तित बनेका छन्। व्यवसायीले दसैं लक्षित सामान हालेका छन् तर सडक अहिलेसम्म नखुल्दा उनीहरूमा निराश छाएको नाका सम्बद्ध व्यवसायीहरू बताउँछन्। तातोपानी नाकाको सडक समस्या यस्तै भइरहे दशैं तिहारका लागि ल्याइएका सामान समयमा नै बजारमा पुग्न नसक्ने सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले जनाए।

‘सडक समस्याकै कारण दसैं र तिहारका लागि हालिएको सामान तातोपानी नाका र चिनियाँ भागमा अड्किएका छन्’, बस्नेतले भने– ‘तत्काल सडक सुचारु नगर्ने हो भने दसैं तिहारका लागि ल्याइएका सामान समयमा नै बजारमा पुग्न नसक्ने र महंगो हुने देखिन्छ।’ सडक खुलाउन निरन्तर लागि परिरहेका अध्यक्ष बस्नेतले रसुवा भन्सार पूर्ण रुपमा बन्द भएपछि चीनसँग स्थलमार्ग भएर गरिने व्यापारको एउटै मात्र नाका जोडिएको तातोपानीको सडक व्यवस्थित गर्न सरकारी अधिकारीहरू गम्भीर नभएको दुखेसो पोखे।

अहिले रसुवातर्फको केरुङको गोदाममा रहेको तयारी पोशाक लगायतका मालवस्तु तातोपानीबाटै ल्याउनुपर्ने बाध्यता रहेको छ। तातोपानी नाकाबाट नेपाल ल्याउनुपर्ने झण्डै ६ सय कन्टेनर केरुङमा रहेको व्यापारीहरू बताउँछन्। उक्त सामान तातोपानी नाका भएर नेपाल भित्रन सडक खुल्नुपर्छ। वाणिज्य संघका अध्यक्ष बस्नेत पर्याप्त साधन र निर्माण सामग्रीको उपलब्धता नभएसम्म सडक अस्थायी खुलाउन पनि कठिन भएको बताउँछन्।

सडक खुलाउन सडक डिभिजन कार्यालय चरिकोट लागि परिरहेको छ। सडक खुलाउन सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख अमितकुमार श्रेष्ठले पहिरो पन्छाइरहेको जानकारी दिए। ‘पहिरो पन्छाउँदै छौं, झर्न रोकिएन, भुगोल नै त्यस्तै छ। लेदो माटो झरिरहेको छ। भासिने समस्या छ’, श्रेष्ठले भने।

पहिरो बनाउन सडक डिभिजिन कार्यालय चरिकोटले नियमित रुपमा एक्स्काभेटर प्रयोग गर्ने गर्छ। स्थानीय व्यापारीले पनि दिनहुँजसो सडक सफा गर्छ। यद्यपि, सडकमाथिबाट धिमा गतिमा बग्ने दबदबे पहिरोले सडक नियमित अवरुद्ध हुन्छ। पहिरोमाथि कोदारी गाउँ छ। ३० भन्दा बढी घर पनि सोही पहिरोको जोखिममा परेका छन्। 

भोटेकोशी गाउँपालिकाले इको पहिरो नियन्त्रण गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई पत्र नै दिएर जानकारी गराएको थियो। ‘हामीले सडक समस्या समाधानका लागि भनेर भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई ज्ञापन पत्र बुझाएका थियौं’, शेर्पाले भने– ‘मन्त्रीज्यूले एक हप्ताभित्र समस्या समाधान गर्ने वचन दिनुभएको थियो। तर पूरा भएको छैन।’ मन्त्री दाहालले ज्ञापनपत्र बुझ्दै सम्बन्धित निकायलाई तुरुन्त समस्या समाधानका लागि निर्देशन दिने प्रतिबद्धता जनाए पनि इको पहिरो नियन्त्रण वा नयाँ ट्रयाक बनाउनेबारे आजसम्म कुनै ठोस पहलकदमी भएको छैन।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.