रणमैदान भइरहने विश्वविद्यालय

रणमैदान भइरहने विश्वविद्यालय
सुन्नुहोस्

कानुनी राजको थिति नबसाएसम्म त्रिविले हडताल, तोडफोड र आन्दोलनबाट मुक्ति पाउँदैन ।

केही महिनाको रिक्ततापछि स्वच्छ छवि र प्राज्ञिक उचाइ बनाएका प्रा.डा. दीपक अर्याललाई उपकुलपतिका रूपमा पाउँदा त्रिभुवन विश्वविद्यालयमा सुधारको आशा पलाएको थियो । त्यो आशा धेरै दिन टिक्न सकेन । अर्यालले कार्यभार सम्हालेको १० दिन नबित्दै त्यहाँ वितण्डा मच्चियो, त्यो पनि विद्यार्थीबाट ।

माओवादी निकट अखिल क्रान्तिकारीले तालाबन्दीमात्रै गरेन धर्ना, तोडफोड तथा हातपातका घटना हुन थाले । त्रिवि फेरि उही पुरानो राजनीतिक रणमैदान बन्यो । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली त्रिविको कुलपति हुन् । उनैले जसै अर्यालको नियुक्ति गरे, माओवादीले इबी साँध्यो । त्यो त विगतमा एमालेकै सरकारका पालामा उपकुलपतिमा प्रा.डा. धर्मकान्त बाँस्तोला नियुक्त हुँदा कांग्रेसनिकट नेविसंघ र माओवादीको अखिल क्रान्तिकारीले उस्तै आन्दोलन मच्चाएका थिए ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएका बेला प्रा.डा. केशरजंग बराल उपकुलपति बन्दा चाहिँ एमालेनिकट अनेरास्ववियु आन्दोलनमा थियो । गठबन्धन सरकारहरूले राजनीतिक भागबन्डामा उपकुलपति नियुक्ति गर्ने र प्रतिपक्षका विद्यार्थीले आन्दोलनमात्रै होइन हडताल र तोडफोड नै गर्ने चक्र त्रिविमा धेरै वर्षदेखि चलिरहेको छ । यो लज्जास्पद शृंखलाले के देखाउँछ भने विद्यार्थी संगठनहरूका माग र मुद्दाहरू जतिसुकै जायज किन नहुन्, तिनको मुख्य अभीष्ट प्राज्ञिक सुधारभन्दा पनि राजनीतिक भागबन्डा र आफ्नो दलको शक्ति प्रदर्शनमा केन्द्रित छ । अहिले भइरहेको पनि त्यही हो । 

विश्वविद्यालयलाई रणमैदान बनाउन विद्यार्थी संगठनहरूलाई बहाना खास चाहिएको देखिन्न । केवल राजनीतिक प्रतिशोधमा नै उनीहरूको ध्यान छ । जस्तो कि अहिले अखिल क्रान्तिकारीले शुल्क घटाउन माग गरिरहेको छ, जबकि त्रिविले शुल्क नबढाएको १२ वर्ष भएको जनाएको छ । जुन विषयलाई मुद्दा अखिल क्रान्तिकारीले बनाएको छ, तिनको शुल्क घटाउनुपर्ने कारण पनि जायज देखिन्न । उनीहरूको बहाना केवल ती कार्यक्रम मर्ज गरियो भन्नेमात्रै छ । निहुँ खोज्ने र ज्ञानको केन्द्रलाई राजनीतिको रणमैदान बनाउने कुत्सित उद्देश्यबाट मात्रै उनीहरूको कथित आन्दोलन प्रेरित छ । कतिसम्म भने त्रिविमा प्राध्यापकहरूमाथि सांघातिक हमला र ज्यानै लिने उद्देश्यसम्मको घटना भएका छन्, तिनका दोषीलाई कारबाहीमा सरकार चुक्दै आएको छ र त्यस्ता उच्छृंखल तŒवले लाउ पाउँदै आएका छन् । दण्डहीनता नै त्रिविमा अराजकता मच्चाउनेहरूका लागि प्रेरणास्रोत भइरहेको छ । 

विद्यार्थी संगठनहरूले पढाइ भएन, जाँच भएन वा शिक्षाको गुणस्तर कमजोर भयो भनेर आवाज उठाएका हुँदैनन् बरु आफैं पढाइ बिथोल्ने, तालाबन्दी गरेर बन्धक बनाउने र पढाइ, परीक्षा तालिकाअनुसार हुन नदिने गरेका छन् । यस्ता विद्यार्थीलाई त्रिविले रेस्टिकेट गर्न सक्नुपर्छ । सरकारले त्रिविमा पर्याप्त सुरक्षाका साथ त्यहाँका पदाधिकारीलाई काम गर्न दिनुपर्छ । बरु पदाधिकारी र प्राध्यापकहरूबाट पनि गलत र कमजोरी हुन्छ भने तिनलाई पनि कठघरामा उभ्याएर कडा कारबाही गर्नुपर्छ । कानुनी राजको थिति नबसाएसम्म त्रिविले हडताल, तोडफोड र आन्दोलनबाट मुक्ति पाउँदैन । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.