मिथिलाका सबै डान्सबार बन्द गर्न निर्देशन
ढल्केवर(धनुषा) : धनुषाको मिथिला नगरपालिकाले नगरभित्रका सबै डान्सबार बन्द गर्न निर्देशन दिएको छ। बिहीबार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार भण्डारीले एक सूचना जारी गर्दै नगरभित्र सञ्चालित सबै डान्सबार सात दिनभित्र अनिवार्य बन्द गर्न निर्देशन दिएको हो।
नगरपालिका भित्र विभिन्न अन्य व्यवसाय सञ्चालन गर्ने गरी अनुमति लिई डान्सबार सञ्चालन गरेको कारण समाजमा उच्छ्रुङ्गलता बढी आपराधिक क्रियाकलापलाई बढावा मिलेको देखिएको ब्यहोरा व्यापक जनगुनासो प्राप्त भएको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताए।
‘मिडियाहरूमा पनि छ्यापछ्याप्ती खबरहरू आएपछि नगरपालिकाले एक्शन लिएको छ,’ प्रमुख प्रशासकीय अधिकृत भण्डारीले भने ‘सातदिनभित्र बन्द गर्न भनिएको छ। त्यसलाई उल्लङ्घन गरिए नगरपालिका नियमानुसार अघि बढ्छ।’ नगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका होटेल तथा गेष्ट हाउसहरूमा बसोबासका लागि आउने प्रत्येक पाहुनाहरूको स्पष्ट परिचय खुल्ने कागजात अनिवार्य रूपमा राखेर मात्र बस्न अनुमति दिन पनि सूचना जारी गरेको छ।
नगरपालिका क्षेत्र भित्र सञ्चालनमा रहेका होटल तथा गेष्ट हाउसहरूमा अपरिचित व्यक्तिहरू आएर बस्ने र आपराधिक क्रियाकलापहरू गर्ने गरेको पाइएकाले त्यस्तो व्यवस्था गर्न निर्देशन दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताए। नगरपालिका लगायतका नियमनकारी निकायबाट अनुगमनको क्रममा पाहुनाहरूको परिचयपत्र राखेको फेला नपरे नियमानुसार कारबाही गर्ने नगरपालिकाले चेतावनी समेत दिएको छ।
अश्लीलता फैलाएको भन्दै स्थानीयले तीन दिनअघि मात्रै ढल्केवरको दुई डान्सबार तोडफोड गरेका थिए। लामोसमयदेखि डान्सबारले समाजमा फैलाएको विकृतिविरुद्ध स्थानीय प्रशासनलाई गुहार्दा समेत कुनै सुनवाइ नभएपछि स्थानीयहरू अहिले सशक्त आन्दोलनमा उत्रिएका छन्। स्थानीय गाउँले महिलाहरूले नेतृत्व गरेको आन्दोलनले उग्र रूप लिएपछि डान्सबार सञ्चालनको विषय पेचिलो बनेको छ।
‘प्रहरी प्रशासन यहाँ हुने अवैध क्रियाकलापको मतियार हो। उनीहरूकै संरक्षणमा यो धन्दा चलेको छ,’ डान्सबारको बिरोधमा खरो उत्रिएकी मिथिला नगरपालिका–५ विश्रामपुरकी एक महिलाले आक्रोश पोख्दै भनिन् ‘यो धन्दाले हाम्रो गाउँ बर्बाद बनाएको छ। घरको छोरीचेली बाहिर निस्कन डराउँछन्। हामीलाई गाउँमा बाँच्नै गाह्रो बनाएको छ।’
इलाका प्रहरी कार्यालय ढल्केबरको ५० मिटरकै दूरीमा खुलेयाम अनैतिक क्रियाकलाप हुँदा समेत प्रहरी प्रशासन कारबाहीको साटो संरक्षणमा लाग्नुले स्थानीय नागरिकहरू झन् असुरक्षित बनेको उनले बताइन्। पछिल्लो समय ढल्केवर क्षेत्रका अधिकांश होटलहरूमा यौनजन्य क्रियाकलाप भइरहेको स्थानीयहरूले गुनासो गर्दै आएका छन्। उनीहरूले यस्ता गतिविधिले समाजमा गलत सन्देश फैलाएको भन्दै समयमै नियन्त्रण गर्न माग गर्दै आएका छन्। तर, यसमा प्रहरीप्रशासनको भूमिका शंकास्पद देखिएपछि स्थानीयहरूले आफैं सक्रियता बढाएका हुन्।
अघिल्लो सातामात्रै वेश्यावृत्ति धन्दा चलाएको आरोपमा धनुषाको ढल्केवरस्थित रहेको मौसम होटलका सञ्चालक पक्राउ परेका थिए। खुलेयाम रुपमा वेश्यावृत्ति धन्दा चलाएर ठाउँलाई बदनाम गराएको भन्दै स्थानीय सचेत युवाहरूले होटलमाथि निगरानी बढाएका थिए।
गत शुक्रबार राति करिब ९ बजेको समयमा ती युवाहरूले होटलमा छड्के हान्दा अवैध यौन क्रियाकलाप भइरहेको पाइएपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीलाई खबर गरेलगत्तै अवैध यौन क्रियाकलापमा संलग्नहरू भागेका थिए। आफूहरूको सूचना पाएर प्रहरीले नै त्यहाँबाट उनीहरूलाई भगाएको ती युवाहरूको आशंका छ। ‘प्रहरीले प्राय होटलहरूबाट महिनावारी पैसा असुल्छन्। प्रहरीहरू पैसा खाएपछि त्यस्तालाई पक्राउ गर्ने कुरै हुँदैन,’ नाम उल्लेख नगर्ने शर्तमा ती युवाले भने ‘यो ठाउँमा अति भइसकेको छ। स्थानीय प्रहरी प्रशासनको भूमिकामा चित्त बुझाउने ठाउँ छैन। हामी अब चुप लागेर बस्न सक्ने अवस्था छैन। धन्दामा लाग्नेहरूलाई लखेट्नुको विकल्प देख्दिन।’
होटलमा छड्केमा पुगेका सचेत युवाहरूलाई देखेपछि होटल सञ्चालकले दररेट सुनाएको भिडियो सार्वजनिक भएको थियो। ‘कस्तो चाहियो ? तपाईंलाई जस्तो चाहिन्छ त्यस्तै हामीसँग छ। तीन हजार वाला छ, २५ सयको छ। जस्तो लिनुस्,’ होटल सञ्चालकले नक्कली ग्राहक बनेर पुगेका ती युवाहरूलाई भनेको स्पष्ट सुनिन्छ।
त्यसै भिडियोको आधारमा होटल सञ्चालकलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ। प्रहरीका अनुसार अवैध धन्दाका लागि ग्राहकसँग मोल मोलाई गरेको भिडियो प्रमाण भेटिएपछि पक्राउ गरिएको हो।
प्रतिक्रिया दिनुहोस !