मल खोइ ? आपूर्तिकर्ता जवाफदेही बनून्

मल खोइ ? आपूर्तिकर्ता जवाफदेही बनून्
सुन्नुहोस्

कृषि प्रधान भनिने मुलुक नेपालका किसानका दुःख धेरै छन् । देशको प्रमुख खाद्यबाली धानकै लागि मल, बिउ र मलको अभाव सधैं नै किसानले भोग्नुपर्छ । यसपालि पनि भोगे । राष्ट्रिय खाद्यबालीका हकमा हुँदै आएको यो दुरवस्था राष्ट्रिय लज्जा नै बनिरहेको छ । यसबारे सरकार बेखबर छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्धित मन्त्री र अधिकारीहरूलाई बोलाएर बैठकमै आक्रोश व्यक्त गरेका छन् ‘किसानले किन मल पाएका छैनन्, सरकारको बदनाम गर्ने काम नगर्नू’ भनेर । 

तीन दिनभित्र ठोस योजना ल्याउन उनले निर्देशन दिनुबाटै सरकार यसबारे जानकारमात्रै होइन, संवेदनशील र गम्भीर छ भन्ने पनि देखाउँछ । र के पनि देखिन्छ भने छटपटीमा किसानमात्रै होइन, सरकार पनि छ । प्रधानमन्त्रीको आक्रोश जायज हुँदाहुँदै पनि हरेक वर्ष दोहोरिने यो संकटबारे के सरोकारवाला निकायले बेलैमा किन समाधान खोजेन भन्ने प्रश्न पनि उठ्छ ।

मधेस प्रदेशमा मात्रै मागको एक चौथाइभन्दा कम मल आपूर्ति भएको छ । देशभरको आवश्यकता ८ लाख टन हो । तर, ३ देखि साढे ३ लाख टनमात्र आयात भएको छ । किसानको आवश्यकतालाई प्राथमिकतामा राखेर समयमै पर्याप्त मल खरिद प्रक्रिया अगाडि बढाएको भए यो दिन आउने थिएन । अनि प्रधानमन्त्री मन्त्रीसँग आक्रोशित नभएर कोसँग हुनु ? वीरगन्जस्थित कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङको गोदाममा भने मल मौज्दात छ । तर पर्साकै किसानले खेतमा हाल्न नपाएर भौतारिनु परेको छ । भनेपछि मलको आपूर्तिमा मात्रै होइन, हाम्रो वितरण प्रणाली पनि निकम्मा छ भन्ने पुष्टि भएको छ । 

प्रदेश, जिल्ला र स्थानीय तह हुँदै सहकारीसम्म पुग्ने लामो र झन्झटिलो कागजी प्रक्रियाले आएको मल किसानकहाँ पुग्न नसकेको हो । यहाँ प्रक्रियागत जडतामात्र छैन, यसभित्र भ्रष्टाचारको गन्ध पनि मिसिएको छ । नवलपरासीमा सहकारीले समयमै मल उठाएन । कपिलवस्तुमा सहकारी सञ्चालक नै कालोबजारी गरे । सीमावर्ती क्षेत्रमा भारतीय बजारबाट महँगो र कमसल मल किन्न किसान बाध्य छन् । यसले वितरण प्रणालीमाथिको अनुगमन कमजोर देखाउँछ । त्यसैले त किसान सडकमा उत्रिएर मलको माग गरिरहेका छन् ।

प्रधानमन्त्रीको तीनदिने निर्देशन समस्याको तत्कालको दबाब कम गर्ने प्रयास होला, तर पनि निरन्तर दीर्घकालीन समाधान खोजिरहनु पर्छ । समाधानका लागि बहुआयामिक कदम चाल्नु अपरिहार्य छ । सरकारले किसानको मागअनुसार पर्याप्त मल समयमै खरिद गर्न वार्षिक क्यालेन्डर बनाएरै काम गर्नुपर्छ । झन्झटिलो वितरण प्रणालीलाई सरलीकरण गर्नुपर्छ । स्थानीय तह र सहकारीलाई जिम्मेवार र पारदर्शी बनाउन कडा अनुगमन संयन्त्र बनाउनुपर्छ । 

गोदाममा मल रोकिने अवस्थाको अन्त्य तत्काल गरिनुपर्छ । दीर्घकालमा देशमै रासायनिक मल कारखाना स्थापना गर्ने वा छिमेकी मुलुकसँग सरकार–सरकार (जी–टू–जी) सम्झौता गरी नियमित आपूर्तिको ग्यारेन्टी गर्नेतर्फ ठोस पहल हुनुपर्छ । जबसम्म सरकारले मलको मुद्दालाई राष्ट्रिय प्राथमिकतामा राखेर नीतिगत, प्रक्रियागत र व्यावहारिक सुधार गर्दैन, तबसम्म हरेक वर्ष किसान रुने दिनको अन्त्य हुँदैन । त्यसैले पनि तत्कालका लागि आपूर्ति सहज बनाएर दीर्घकालको समाधान खोज्नुपर्छ ।

 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.