ड्र्यागन खेतीबाटै लाखौं आम्दानी
रामेछाप : देख्दा सामान्य लाग्ने तर मनग्ये आम्दानीको स्रोत बनेको छ, ड्र्यागन खेती । जिल्लामा पछिल्लो समयमा व्यावसायिक खेती नै गरेर लाखौं रकम भिœयाउँछन् रामेछापका किसान । अझ कतिले त घरका छत र कौसीमा समेत खेती गरिरहेका छन् ।
यस्तै एक व्यक्ति हुन्, रामेछापका किसान शिवराम श्रेष्ठ । जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर –८ निवासी श्रेष्ठले केही वर्षअघि लकडाउनको बेला समय बिताउने माध्यम केही नभए युट्युब हेर्ने गर्थे । युट्युब हेर्दै गर्दा उनले खेतीको बारेमा एक भिडियो देखे । मनमा उत्सुकता जाग्यो र खेती गरी छाड्ने निर्णयमा पुगे श्रेष्ठ ।
अब उनी ड्र्यागनको बिरुवा कहाँ पाइन्छ र कसरी प्राप्त गर्ने भन्ने सोच्न थाले । चितवनलगायत केही जिल्लामा पाइन्छ भन्ने थाहा पाएर श्रेष्ठले प्रतिबिरुवा तीन सयका दरले बिरुवा मगाएर खेती सुरु गरे ।
उनको खेतीलाई छिमेकीले पत्याएनन् र भने यो त फल हैन सिउँडीको बोट हो । यस्तो भनाइ सुन्दा शिवराममा केही शंका र कौतुहल छायो । जेहोस् किनिहालेँ अब जे होला भन्दै आफ्नो कर्मलाई निरन्तरता दिए । जब बिरुवा हुर्कंदै फल दिन थाले । हर्षित हुँदै श्रेष्ठले आफैं बिरुवा उत्पादन गर्ने सोच बनाएर अगाडि बढे । श्रेष्ठले अहिले सरल मूल्यमा बिरुवासमेत बिक्री वितरण गरिरहेका छन् । अन्य खेतीभन्दा चाँडै उत्पादन हुने र धेरै आम्दानी हुने भएकाले शिवरामले अहिले झन्डै पाँच रोपनी क्षेत्रफलमा खेती गरेका छन् । पहिले बजारको समस्या थियो अहिले मागअनुसार पु¥याउनसमेत धौ–धौ परेको शिवराम श्रेष्ठ बताउँछन् । गत वर्षभन्दा यो वर्ष उत्पादन धेरै भएका ५ देखि ६ लाखसम्मको व्यापार हुने उनको भनाइ छ ।
शिवराम भन्छन्, ‘दैनिक सयौं युवा बिदेसिएका छन् । आफ्ना खेतबारी बाँझो छ । त्यही खेती गरे यहीँ हीरा फलाउन सकिन्छ । अर्काको देशमा लगाउने श्रम र बगाउने पसिना यहीँ बगाए किन जानू विदेश ।’
प्रतिक्रिया दिनुहोस !