सामाजिक सुरक्षा भत्ताबाट झिमरुक ४ र ६ का नागरिक वञ्चित
प्यूठान : झिमरुक गाउँपालिका ४ र ६ का नागरिकहरू सामाजिक सुरक्षा भत्ताबाट वञ्चित भएका छन् । मच्छीमा शाखा कार्यालय रहेको ज्योति विकास बैंकले गाउँमै पुगेर सेवा दिन नमान्दा गाउँबस्तीमै भत्ता वितरण गर्न नसकिएको सम्बन्धित वडाध्यक्षहरूले गुनासो गरेका छन् ।
‘चुनाव जित्दा पहिलो निर्णय सामाजिक सुरक्षा भत्ता बस्तीबस्तीमै पुगेर वितरण गर्ने निर्णय गरेका थियौं’, वडा नम्बर ६ का अध्यक्ष धनबहादुर पुनले भने, ‘ज्योति विकास बैंक मच्छी शाखामा पुगेर गाउँमा गएर भत्ता वितरण गर्नका लागि पटकपटक आग्रह गरें तर बैंकले नमान्दा अहिलेसम्म निर्णय कार्यान्वयन गर्न सकिएको छैन ।’ वडाध्यक्ष पुनले चुनावताका आफ्नो बस्तीबस्तीमै पुगेर सामाजिक सुरक्षा वितरण गर्ने लिखित प्रतिबद्धतासमेत मतदाताका हातहातमा पुर्याएका थिए ।
‘हाम्रो निर्णय र अभियानमा बैंक बाधक बन्यो’, पुन भन्छन्, ‘बैंकले कर्मचारी छैनन् । जान सकिँदैन भनेपछि जनतालाई हामीले के जवाफ दिने समस्या परेको छ ।’
उनका अनुसार वडा नम्बर ६ बाट ज्येष्ठ नागरिक, एकल महिला, बालबालिका, अपांग गरी कुल ५ सय ८५ जना नागरिकले सामाजिक सुरक्षाभत्ता बुझ्दै आएका छन् । त्यसमध्ये ३ सय ५५ जना महिला र २ सय ३२ जना पुरुष छन् । वडामा पर्ने धँगे, नेटा, मर्कावाङ, कुभिन्डे, चिचिन्डे, चिसावाङ र घुम्नेठाँटीका बस्तीमा भत्ता वितरण शिविर सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको उनको भनाइ छ ।
त्यस्तै, झिमरुक गाउँपालिका वडा नम्वर ४ ले पनि वडा कार्यालय र बस्तीबस्तीमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न सकेको छैन् । वडाध्यक्ष सीताराम पोख्रेलले पनि बैंकले नमान्दा भत्ता वितरण गर्न नसकिएको प्रतिक्रिया दिएका छन् । यहाँबाट करिब ३ सय ८० जना व्यक्तिहरूले भत्ता बुझ्दै आएका छन् । वडा कार्यालयसहित चुँधारा, बांगेकोट र बौडामा सामाजिक सुरक्षा भत्ता वितरण शिविर सञ्चालन गर्नुपर्ने देखिएको उनको भनाइ छ ।
गाउँपालिकाको वडा नम्बर १, २, ३, ५, ७ र ८ का बस्तीबस्ती र वडा कार्यालयमा पुगेर मच्छीमै रहेको सिटिजन्स बैंकले सामाजिक सुरक्षा वितरण गरिरहेको छ । यस बैंकले गाउँपालिकाको सम्पूर्ण आर्थिक कारोबारसमेत गदैै आइरहेको छ । बैंकका शाखा प्रबन्धक बालकृष्ण पोख्रेलका अनुसार बैंकमार्फत चौथो चौमासिकसहित वार्षिक करिब १२ करोड रुपैयाँ सामजिक सुरक्षाभत्ता वितरण हुँदै आएको छ । उक्त बैंकबाट भत्ता बुझ्ने लाभग्राही कुल २ हजार ६ सय जना छन् ।
अरू वडाका वृद्धाहरूले गाउँमै भत्ता बुझेको कुरा सुने पनि आफू बैंकमा पुग्नु परेको झिमरुक गाउँपालिका वडा नम्बर ६ की ८० वर्षीया शिवादेवी गिरीले गुनासो गरिन् । ‘गाविस हुँदा घरमा पनि भत्ता बुझ्ने गरेका थियौं’, उनले भनिन्, ‘अहिले गाउँपालिका हुँदा बैंकमा धाउनुपर्यो । सुख होला भनेको उल्टै दुःख भयो ।’
पालिकाभरिका नागरिकलाई गाउँबस्तीमै पुगेर बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्यलाई मूर्तरूप दिन वडा नम्बर ४ र ६ ले गर्दा नसकिएको गाउँपालिका अध्यक्ष पितबहादुर महतारा क्षेत्रीले प्रतिक्रिया दिए ।
‘ती दुई वडाको भत्ता सुरुदेखि नै ज्योति विकास बैंकमार्फत वितरण हुँदै आएको छ’, क्षेत्रीले भने, ‘बैंक र वडा कार्यालयका अध्यक्ष, जनप्रतिनिधिहरूसँग पनि पटकपटक छलफल गरेका थियौं तर त्यसले पूर्णता पाउन सकेको छैन । निकट भविष्यमै वडा नम्बर ४ र ६ का नागरिकलाई पनि बस्तीमा पुगेर भत्ता वितरण गर्ने व्यवस्थालाई टुंगोमा पुर्याउँछौं ।’
ज्योति विकास बैंक केन्द्रीय कार्यालयका गुनासो सुन्ने अधिकारी बलदेव थापाले गाउँपालिका र वडा कार्यालयले बैंकले राखेका सर्तहरू पूरा गरेमा गाउँमै पुगेर भत्ता वितरण गर्न सकिने प्रतिक्रिया दिए । ‘हामीले भत्ता वितरण गर्न गाउँमा जानै सकिँदैन भनेका छैनौं’, थापाले भने, ‘अरू धेरै जिल्लाहरूमा सेवा दिइरहेका छौं । त्यहाँ पनि सेवा दिन सकिन्छ ।’ तर, भत्ता वितरण कार्यक्रम सार्वजनिक बिदाको दिन हुनुपर्ने, वडा कार्यालयले गाउँमा भत्ता बुझ्ने सेवाग्राही भेला गराइदिनुपर्ने, सुरक्षाको व्यवस्था हुनुपर्ने र सवारीसाधनको व्यवस्थापन पालिकाले गरिदिनुपर्ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस !