कुमाल परिवारलाई किरिया खर्च जुटाउन मुस्किल
बुटवल : दुवै मिर्गौला फेल भएर घरको अभिभावकको मृत्यु भएपछि प्यूठानका कुमाल परिवारलाई किरिया खर्च जुटाउन समेत मुस्किल परेको छ। झिमरुक गाउँपालिका–६ निन्युखर्क प्यूठानकी शान्ता कुमाल र उनका तीन छोरीहरू गम्भीर आर्थिक संकटबाट गुज्रिरहेका छन्।
‘श्रीमान नारायण कुमालको उपचार गर्दा भए जतिको पैसा सकियो’, शान्ताले भनिन्, ‘पैसा पनि सकियो श्रीमानलाई पनि बचाउन सकिएन। श्रीमानको उपचार दुई लाख खेत बन्धक राखेर र अरू सहयोग सहयोग जुटाएर उपचार गरेका थियौं।’ भैरहवामा उपचार गर्दा सहयोग संकलनबाट ६ लाख र खेत बन्धक राखेर दुई लाख गरी ८ लाख रुपैयाँ सकिएको उनले बताइन।
चार छोरीमध्ये जेठीको बिहे भएको छ। अरू तीन छोरीको पालनपोषण र हेरचाह उनको काँधमा छ। तर, आम्दानीको उपाय नभएपछि यो परिवार अहिले बिचल्लीमा परेको हो। माइली छोरी १८ वर्षीया अस्मिताले कक्षा ११ मा पढ्छिन्। साइली १४ वर्षीया अन्जुले आठ कक्षा र कान्छी ९ वर्षीया संगीता कुमालले चार कक्षामा पढ्छन्।
किरिया बसेको र अन्तिम संस्कारमा लाग्ने खर्चको समेत जोहो गर्न हम्मेहम्मे परिरहेको यो परिवारलाई भोलिका दिन कसरी बिताउने भन्ने चिन्ताले पिरोलिरहेको छ। ‘छोरीहरू दाङमा त्रिवेणी गाउँपालिका रोल्पाका उपाध्यक्ष लेखमणी डाँगी ज्यूको घरका बसेर पढ्छन्’,उनले श्रीमती शान्ताले भनिन्,‘साथमा श्रीमान हुनुहुन्थ्यो र आड भरोसा थियो सबै गुम्यो।’
कुमाल परिवारको दर्दनाक पीडा देखेर झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोखरेलले उनको घरमै पुगेर १३ औं दिनको दिन आवश्यक पर्ने खाद्यान्न सहयोग गरेका छन्। ‘व्यक्तिगत रूपमा उहाँहरुलाई केही राहत मिलोस् भनेर चामल, नुन र तरकारी घरमै पुगेर दिएको छुँ’,पोखरेलले भने,‘राहत स्वरूप तत्कालका लागि थोरै सहयोग गरेको छु। भावी दिनमा पनि थप सहयोगका लागि पहल गर्छु।’
पोखरेलले कुमाल परिवारलाई सान्त्वना स्वरूप गाउँपालिकाबाट गर्न सकिने सहयोगको लागि समेत सोच बनाएको प्रतिक्रिया दिए।
प्रतिक्रिया दिनुहोस !