सत्य : एक राजनीतिक अस्त्र

सत्य : एक राजनीतिक अस्त्र

शक्ति नै सत्यलाई परिभाषित गर्ने गतिलो औजार भएको पाइन्छ ।  समाज विकासमा देखिएको अभ्यास यही हो ।

सत्यसम्बन्धी प्रश्न युगौंदेखि दर्शन, धर्म, राजनीति र पत्रकारिताको केन्द्रीय विमर्श हो ।  सत्य के हो ? ‘सत्यमेव जयते’ भन्ने दर्शन हामीले सुनिरहेका छौं तर आजभोलि सत्य भन्नासाथ एकरूप र सार्वभौम ठान्न गाह्रो हुँदै गएको छ ।  एउटै घटनालाई फरकफरक खेमा, विचार वा तप्काबाट फरक रूपमा बुझिन्छ र देखिन्छ ।  यस्तो परिस्थितिमा सत्य एकरूपमा होइन, बहुआयामिक देखिन्छ ।  समाजशास्त्रीय संरचना, साहित्यिक व्याख्या र राजनीतिक स्वार्थले सत्यको स्वरूप बदलिन थालेको हो ।  कसैका लागि सत्य अनुभूति हो, कसैका लागि प्रमाणित यथार्थ, कसैका लागि त केवल आस्था मात्र । 

‘मेरो सत्य’, ‘तपाईंको सत्य’, ‘सत्ताको सत्य’, ‘भुइँको सत्य, केन्द्रको सत्य’ र ‘संघर्षको सत्य’ जस्ता सत्यहरू विचारधाराको रंग, वर्गको अनुभूति, जातीय अवस्थिति र सन्दर्भअनुसार भिन्न भिन्न देखिन्छन् ।  त्यसैले आज सत्य पत्ता लगाउने काम जटिल र धेरै गहँुगो काम भएको छ ।  सामान्यतया सत्य भन्नाले वस्तुगतरूपमा यथार्थ के हो भन्ने ज्ञान दिने शब्द र अर्थ हो ।  सत्यलाई 
दृष्टिबोधअनुसार तथ्यमा आधारित, प्रमाणित, अडिग र अस्वीकार गर्न नसकिने चिज भनेर बुझ्न सकिन्छ । 

सत्यसम्बन्धी दृष्टिकोण  :  सत्य सधैं मानव चिन्तनको केन्द्रमा छ ।  सत्यलाई विभिन्न सभ्यता, युग, संस्कृति र दार्शनिक धाराहरूले पृथक् पृथक् अर्थ प्रदान गरेका छन्  : –

वैदिक र उपनिषदीय युगको दृष्टि – ऋग्वेदमा सत्यलाई ‘ऋतु’ भनिएको छ, ब्रह्माण्डको शाश्वत नियम भनेर अर्थ प्रदान गरिएको छ ।  बृहदारण्यक उपनिषद् (२.१.२०) मा भनिएको छ, ‘सत्यं ब्रह्म’ अर्थात् सत्य नै ब्रह्म हो ।  ‘सत्येनैव जयते नानृत’ – असत्यले होइन, सत्यले मात्र विजय हुन्छ ।  यहाँ सत्यलाई र नैतिक सत्यको रूपमा हेर्ने गरिएको छ ।  सत्यको आदि, मध्य र अन्त्य नै ईश्वर हो ।  दार्शनिक तथा आध्यात्मिक दृष्टिकोण हो, जुन मुख्यत :  वेदान्त दर्शनसँग सम्बन्धित छ । 

बुद्धवाणीमा सत्य  :  बुद्धका लागि सत्य अनुभूतिको परिणाम हो ।  उनले चार आर्य सत्यमार्फत जीवनको दु : ख, त्यसको कारण, निवारण र मार्ग प्रस्तुत गरेका छन् ।  आत्मा आफैंको सहारा हो ।  यहाँ सत्य कुनै दैवी आदेश होइन, तर आत्मअनुभव र विवेकको परिणाम हो भन्ने व्याख्या र विश्लेषण छ । 

सत्य निर्माणको शक्ति – जो सत्तामा छन्, जो शक्तिमा हुन्छन्, उनीहरूले आफ्नो भाष्यलाई ‘सत्य’ बनाउने प्रयास गर्छन् ।  सत्ता र शक्तिमा नहुनेले पनि आफ्नो भाष्य सत्य बनाउन प्रयास गर्छन् तर शक्ति र सत्ता आर्जन नहुँदासम्म शक्तिहीनको भाष्य सत्य बन्न कठिन हुन्छ ।

युनानी दार्शनिकहरूको दृष्टिकोण  :  सुकरात भन्थे, ‘आफूलाई चिन । ’ उनको विचारमा सत्य त्यतिबेला भेटिन्छ, जब मानिसले आफ्नो आत्मा विवेक र ज्ञानमाथि प्रश्न गर्दछ ।  उनको विश्वास थियो, सत्य तर्क र आत्मसमालोचनाको माध्यमबाट भेट्न सकिन्छ ।  प्रश्न सोधेर सत्यको नजिक पुग्न सकिन्छ ।  प्लेटो सत्य एक आदर्श रूप हो ।  यो इन्द्रिय संसारमा होइन, विचार संसारमा पाइन्छ ।  गुफाको दृष्टान्तमार्फत उनले साँचो ज्ञान र मिथ्या ज्ञानको अन्तरस्पष्ट पारेका थिए ।  गुफामा बसिरहेको मान्छेको धारणा र गुफाबाहिर निस्केको मान्छेले गर्ने सत्यबोधबारे प्रकाश पारेर सत्यलाई हेर्ने बुझ्ने र पारख गर्ने दृष्टिकोण स्पष्ट पारेका थिए ।  अरस्तुले सत्यलाई तर्कको सिद्धान्तमा राख्दै भनेका थिए, ‘जे छ त्यसलाई छैन भन्नु वा जे छैन त्यसलाई छ भन्नु गलत हो ।  तर, जे छ त्य सलाई छ भन्नु र जे छैन त्यसलाई छैन भन्नु सत्य हो । ’

मध्ययुगीन धार्मिक दृष्टिकोण  :  थोमस एक्विनास ‘सत्यलाई ईश्वरसँग जोड्छन् र सत्य भनेको वस्तु र बुद्धिको मेल हो भन्छन् । ’ इस्लामिक दर्शन भन्छ, ‘ईश्वरको अविनाशी वास्तविकता मान्दै सत्य अनुभव र कारण दुवैबाट प्राप्त हुनसक्छ । ’ आधुनिक युगका विचारहरू भिन्न छन् ।  रेने डेसकार्ट भन्छन्, ‘आत्मचिन्तनबाट उत्पन्न आत्मप्रमाणिकता सत्यको आधार हो । ’ इमानुएल कान्ट सत्यलाई अनुभव र तर्कबीचको समन्वयमा राखेर व्याख्या गर्थे ।  

वैज्ञानिक दृष्टिकोण  :  अल्बर्ट आइन्स्टाइन भन्छन्, ‘सत्य भनेको सापेक्ष हो ।  सन्दर्भअनुसार बदलिन सक्छ ।  भौतिक सत्य अनुभवजन्य प्रमाण र गणितीय स्थिरता सत्य हुन्छ । ’ कार्ल पोपरको मत यस्तो छ, ‘कुनै पनि वैज्ञानिक सत्यलाई खण्डन गर्न सकिने आधार हुनुपर्छ ।  त्यो खण्डन नभएसम्मै मात्र त्यो सत्य हो । ’ बेल हुक्स सत्ता र वर्चस्वको प्रश्नमा सत्य खोज्छिन् ।  सत्य बहुआयामिक र शक्ति सन्तुलनसँग गाँसिएको हुन्छ भनेर विश्लेषण गरिन् ।  
समकालीन दृष्टिकोण  :  आजको पोस्ट ट्रुथ युगमा सत्यको परिभाषा झनै जटिल हुँदै गएको छ ।  सामाजिक सञ्जाल, राजनीतिक प्रचार र व्यक्तिगत व्याख्याले सत्यलाई विविधतामा विभाजन गर्दछ ।  युबल नोहा हरारीका अनुसार, ‘सत्यभन्दा पनि मान्छेले साझा मिथकमा बाँच्न रुचाउँछन् ।  यही बानीको विकासले सत्य मिथक झैं प्रतीत हुन्छ । ’

१. विचारधाराअनुसार सत्यको व्याख्या – वामपन्थी, दक्षिणपन्थी, उदारवादी, राष्ट्रवादी सबैको आफ्नै दृष्टिकोण हुन्छ ।  एउटै घटनाको रिपोर्ट वामपन्थीले ‘जनअधिकारको संघर्ष’ भन्न सक्छ, दक्षिणपन्थीले ‘राष्ट्रविरोधी उक्साहट’ । 
२. मिडियाअनुसार सत्यको निर्माण– आजको युगलाई ‘पोस्ट ट्रुथ’ युग पनि भनिन्छ, जहाँ भावना र धारणाले तथ्यलाई छायाँमा पार्छन् ।  विभिन्न समाचार संस्थाहरूले आफ्नो स्वार्थअनुसार सत्यको टुक्रा मात्र देखाउँछन् ।  इन्टरनेट र सोसल मिडियाले सत्यभन्दा व्याख्या र अफवाहलाई धेरै स्थान दिएका हुन्छन् ।  हरेक व्यक्ति ‘सत्य’का आफ्नै संस्करण बनाएर बाँड्न सक्षम छन् । 
३. अनुभवजन्य सत्य– सबैको सामाजिक, जातीय, वर्गीय अनुभव फरक हुन्छ ।  दलितका लागि सत्य अन्याय र बहिष्कार हो भने सत्तामा भएकाका लागि स्थायित्व र विकास पनि हुनसक्छ ।  नारीका लागि लैंगिक भेद पीडा र अपमानको विषय मानिन्छ भने सामाजिक नियमले यसलाई नियतिसँग जोडेर पनि हेर्दछ । 
४. भाष्यको प्रतिस्पर्धा– वर्तमान परिप्रेक्ष्यमा सत्य को हो ? भन्दा कसले कति प्रभावकारी भाष्य सिर्जना गर्छ भन्ने कुराले सत्यापनमा निर्णायक भूमिका खेल्छ ।  के सत्य सापेक्ष हो ? सत्य प्रसंग, दृष्टिकोण, समयअनुसार बदलिन्छ ।  तर, केही कुरा यस्ता पनि हुन्छन्, जसलाई निरपेक्ष सत्य मानिन्छ ।  जस्तै, गुरुत्वाकर्षणको नियम, वैज्ञानिक तथ्य, ऐतिहासिक (यदि सही प्रमाण छन् भने) घटनाहरू ।  तर, समाज, राजनीति, धर्म, नैतिकता जस्ता क्षेत्रमा सत्य 
प्राय :  व्याख्या र विश्लेषणयोग्य मानिन्छ । 

क) समाजशास्त्रीय दृष्टिकोणबाट सत्य  :  समाजशास्त्रले सत्यलाई केवल तटस्थ तथ्यको रूपमा हेर्दैन, बरु सामाजिक बनावट, सांस्कृतिक सन्दर्भ र वर्गीय अवस्थिति र संरचनात्मक अवधारणा लाभा÷हानिको सिद्धान्तअनुसार व्याख्या गर्छ । 
सत्य र सामाजिक स्थान– एक दलित युवाको सत्य र एक उच्च जातीय कुलीनको सत्य फरक हुन्छ किनकि उनीहरूको अनुभूति, अवसर र अधिकारमा असमानता हुन्छ ।  रुकुमको जातीय नरसंहार पीडितको सत्य जातीय विभेद र अत्याचार हो भने शक्तिशाली पक्षको सत्य परम्परागत मर्यादा, संस्कृति र प्रतिरक्षा हो । 

सत्य सापेक्ष हुन्छ – सत्यलाई कसले भन्यो, कसलाई भन्यो, कसका लागि भन्यो भन्ने कुराले निर्धारण गर्छ ।  यही कारण जातीय, लिंगीय, वर्गीय, धार्मिक समुदाय र समूहका आआफ्नै सत्य छन् । 
ख) साहित्यिक दृष्टिकोणबाट सत्य  :  साहित्यले सत्यलाई सिधा भनेको जस्तो होइन तर अनुभूतिजन्य, सांकेतिक र जीवन्त रूपमा प्रस्तुत गर्छ । 
कथामा सत्य – लेखकहरूले पात्रमार्फत सामाजिक यथार्थको झलक दिन्छन् ।  त्यहाँ सत्य कुनै सरकारी दस्तावेज होइन, जीवनको भोगाइ हो ।  साहित्य सत्यको भाषा होइन, भाव भन्ने मान्यता राख्छ ।  भन्छ कि सत्य प्रमाणितभन्दा अनुभूतिजन्य हुन्छ ।  यसर्थ लेखक अनुभूतिलाई सत्यको नाम दिन्छ । 
ग) राजनीतिक दृष्टिकोणबाट सत्य  :  राजनीतिमा सत्य एक अस्त्र हो ।  जसको प्रयोग सत्ताको संरक्षण वा प्रतिरोधको निर्माणका लागि गरिन्छ । 

सत्य अब तटस्थ छैन, पक्षधर छ। आजको युगमा सत्य कुनै देववाणी होइन, त्यो कसले भन्यो, किन भन्यो र कसका लागि भन्यो भन्ने आधारमा अर्थ लाग्छ।  

सत्य निर्माणको शक्ति – जो सत्तामा छन्, जो शक्तिमा हुन्छन्, उनीहरूले आफ्नो भाष्यलाई ‘सत्य’ बनाउने प्रयास गर्छन् ।  सत्ता र शक्तिमा नहुनेले पनि आफ्नो भाष्य सत्य बनाउन प्रयास गर्छन् तर शक्ति र सत्ता आर्जन नहुँदासम्म शक्तिहीनको भाष्य सत्य बन्न कठिन हुन्छ ।  तसर्थ, शक्ति नै सत्यलाई परिभाषित गर्ने गतिलो औजार भएको पाइन्छ ।  समाज विकासमा देखिएको अभ्यास यही छ ।  उदाहरण, विद्रोहलाई ‘आतंकवाद’ भन्नु, आन्दोलनलाई ‘अराजकता’ भन्नु सत्ताको भाष्य हो ।  आन्दोलनकारीको पक्षबाट हेर्दा त्यो ‘न्यायको संघर्ष’ हो र यो जायज हुन्छ । 

पोस्ट ट्रुथ राजनीति र सत्य : आजको युगलाई ‘पोस्ट ट्रुथ’ भनिन्छ, जहाँ भावना, जनधारणा र प्रचारले ‘सत्य’माथि शासन गर्छ ।  प्रचार सञ्चारले सत्यलाई पर्खालले बाँधेर देखाउँछ अनि ‘आफ्नो खेमा’लाई मात्रै साँचो ठान्छ र त्यही अनुसार निष्कर्ष निकाल्छ ।  ‘पोस्ट–ट्रुथ’ भन्नाले यस्तो राजनीतिक संस्कृतिलाई जनाउँछ, जहाँ भावनात्मक अपील र व्यक्तिगत विश्वासहरूले सार्वजनिक धारणा निर्माणमा तथ्यभन्दा बढी प्रभाव पार्छन् ।  यसले त्यस्तो परिस्थितिलाई वर्णन गर्छ, जहाँ सत्य र झुटको बीचको सीमाना धमिलिन्छ र भावनात्मक प्रभाव आधारित कथाहरू बनाइन्छन् न कि प्रमाणित तथ्यको आधारमा पोस्ट–ट्रुथ युग सत्यको अवमूल्यन मात्र होइन, चेतनाको संकट पनि हो ।  जब समाजले तथ्यलाई पन्छाएर भावनालाई सत्यको ठाउँमा राख्छ, तब हामी एउटा भ्रामक, अराजक र आत्मघाती दिशातर्फ अघि बढिरहेका हुनेछौं ।  

निष्कर्ष : सत्य अब कुनै एउटै आकार, एउटै स्वर, एउटै मान्यताको विषय छैन ।  यो बहुआयामिक, बहुभाषिक, बहुभोगाइ र बहुहितसम्बद्ध बनिसकेको छ ।  आज सत्य बुझ्नभन्दा पनि सत्य निर्माण कसरी भयो ?, कसले गर्‍यो ?, किन गर्‍यो ? भन्ने प्रश्नहरू बढी महत्वपूर्ण मानिन्छन् ।  सत्य अब तटस्थ छैन, पक्षधर छ ।  आजको युगमा सत्य कुनै देववाणी होइन, त्यो कसले भन्यो, किन भन्यो र कसका लागि भन्यो भन्ने आधारमा अर्थ लाग्छ । 

एकै घटनालाई हेर्ने दृष्टिकोण भिन्न भए सत्य पनि भिन्न देखिन्छ ।  जातीय विभेद, वर्गीय शोषण वा लंैगिक उत्पीडनमा आधारित घटनामा पीडित पक्षको अनुभूत सत्य र सत्ताधारी पक्षको औपचारिक सत्य एकअर्कालाई काट्ने खालका हुन्छन् ।  सत्य एकै रेखामा बाँधिने विषय होइन ।  यो समय, स्थान, सन्दर्भ, अनुभूति र चेतनाको समुच्चय हो ।  सत्य के हो भन्ने उत्तर प्रश्न गर्ने दृष्टिकोणमा निर्भर रहन्छ ।  त्यसैले सत्य खोज्ने यात्रा भनेको अन्तत :  एउटा खोज प्रयोग र सामयिक दार्शनिक हेराइ हो भनेर बुझ्न सकिन्छ ।  मूर्त सत्य भन्न कठिन छ । 

अहिलेको युग सत्यको होइन, सत्यका लागि संघर्षको युग हो ।  आज सत्य के हो भन्ने प्रश्न सामान्य जस्तो लागे पनि गहिरो खोतल्दा यो युगको सबैभन्दा जटिल र विस्फोटक प्रश्न सावित हुन्छ ।  आज सत्य भाष्य बनाउने सामथ्र्यसँग सम्बन्धित छ ।  जसको सञ्चारमाध्यम, जसको शक्ति, जसको पहुँच त्यसैको सत्य प्रचारित हुन्छ ।  यसलाई सत्यको युद्ध होइन, भाष्यको युद्ध पनि भन्न सकिन्छ ।  सत्तामा रहेका व्यक्तिहरू ‘राज्यको दृष्टिकोण’लाई सत्यको रूप दिन खोज्छन्, भने संघर्षरत वर्ग ‘अनुभवको यथार्थ’लाई सत्य ठान्छन् ।  यसै कारण ‘बोल्न पाउने अधिकार’ नै आज सत्य निर्माण गर्ने प्रमुख औजार भएको छ ।  वर्तमानको चुनौती भनेको ‘सत्य बोल्न सक्ने साहस’मात्र होइन, सत्य सुन्न सक्ने संयमता र विवेक कायम राख्न सक्नु हो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.