सत्य : एक राजनीतिक अस्त्र
शक्ति नै सत्यलाई परिभाषित गर्ने गतिलो औजार भएको पाइन्छ । समाज विकासमा देखिएको अभ्यास यही हो ।
सत्यसम्बन्धी प्रश्न युगौंदेखि दर्शन, धर्म, राजनीति र पत्रकारिताको केन्द्रीय विमर्श हो । सत्य के हो ? ‘सत्यमेव जयते’ भन्ने दर्शन हामीले सुनिरहेका छौं तर आजभोलि सत्य भन्नासाथ एकरूप र सार्वभौम ठान्न गाह्रो हुँदै गएको छ । एउटै घटनालाई फरकफरक खेमा, विचार वा तप्काबाट फरक रूपमा बुझिन्छ र देखिन्छ । यस्तो परिस्थितिमा सत्य एकरूपमा होइन, बहुआयामिक देखिन्छ । समाजशास्त्रीय संरचना, साहित्यिक व्याख्या र राजनीतिक स्वार्थले सत्यको स्वरूप बदलिन थालेको हो । कसैका लागि सत्य अनुभूति हो, कसैका लागि प्रमाणित यथार्थ, कसैका लागि त केवल आस्था मात्र ।
‘मेरो सत्य’, ‘तपाईंको सत्य’, ‘सत्ताको सत्य’, ‘भुइँको सत्य, केन्द्रको सत्य’ र ‘संघर्षको सत्य’ जस्ता सत्यहरू विचारधाराको रंग, वर्गको अनुभूति, जातीय अवस्थिति र सन्दर्भअनुसार भिन्न भिन्न देखिन्छन् । त्यसैले आज सत्य पत्ता लगाउने काम जटिल र धेरै गहँुगो काम भएको छ । सामान्यतया सत्य भन्नाले वस्तुगतरूपमा यथार्थ के हो भन्ने ज्ञान दिने शब्द र अर्थ हो । सत्यलाई
दृष्टिबोधअनुसार तथ्यमा आधारित, प्रमाणित, अडिग र अस्वीकार गर्न नसकिने चिज भनेर बुझ्न सकिन्छ ।
सत्यसम्बन्धी दृष्टिकोण : सत्य सधैं मानव चिन्तनको केन्द्रमा छ । सत्यलाई विभिन्न सभ्यता, युग, संस्कृति र दार्शनिक धाराहरूले पृथक् पृथक् अर्थ प्रदान गरेका छन् : –
वैदिक र उपनिषदीय युगको दृष्टि – ऋग्वेदमा सत्यलाई ‘ऋतु’ भनिएको छ, ब्रह्माण्डको शाश्वत नियम भनेर अर्थ प्रदान गरिएको छ । बृहदारण्यक उपनिषद् (२.१.२०) मा भनिएको छ, ‘सत्यं ब्रह्म’ अर्थात् सत्य नै ब्रह्म हो । ‘सत्येनैव जयते नानृत’ – असत्यले होइन, सत्यले मात्र विजय हुन्छ । यहाँ सत्यलाई र नैतिक सत्यको रूपमा हेर्ने गरिएको छ । सत्यको आदि, मध्य र अन्त्य नै ईश्वर हो । दार्शनिक तथा आध्यात्मिक दृष्टिकोण हो, जुन मुख्यत : वेदान्त दर्शनसँग सम्बन्धित छ ।
बुद्धवाणीमा सत्य : बुद्धका लागि सत्य अनुभूतिको परिणाम हो । उनले चार आर्य सत्यमार्फत जीवनको दु : ख, त्यसको कारण, निवारण र मार्ग प्रस्तुत गरेका छन् । आत्मा आफैंको सहारा हो । यहाँ सत्य कुनै दैवी आदेश होइन, तर आत्मअनुभव र विवेकको परिणाम हो भन्ने व्याख्या र विश्लेषण छ ।
युनानी दार्शनिकहरूको दृष्टिकोण : सुकरात भन्थे, ‘आफूलाई चिन । ’ उनको विचारमा सत्य त्यतिबेला भेटिन्छ, जब मानिसले आफ्नो आत्मा विवेक र ज्ञानमाथि प्रश्न गर्दछ । उनको विश्वास थियो, सत्य तर्क र आत्मसमालोचनाको माध्यमबाट भेट्न सकिन्छ । प्रश्न सोधेर सत्यको नजिक पुग्न सकिन्छ । प्लेटो सत्य एक आदर्श रूप हो । यो इन्द्रिय संसारमा होइन, विचार संसारमा पाइन्छ । गुफाको दृष्टान्तमार्फत उनले साँचो ज्ञान र मिथ्या ज्ञानको अन्तरस्पष्ट पारेका थिए । गुफामा बसिरहेको मान्छेको धारणा र गुफाबाहिर निस्केको मान्छेले गर्ने सत्यबोधबारे प्रकाश पारेर सत्यलाई हेर्ने बुझ्ने र पारख गर्ने दृष्टिकोण स्पष्ट पारेका थिए । अरस्तुले सत्यलाई तर्कको सिद्धान्तमा राख्दै भनेका थिए, ‘जे छ त्यसलाई छैन भन्नु वा जे छैन त्यसलाई छ भन्नु गलत हो । तर, जे छ त्य सलाई छ भन्नु र जे छैन त्यसलाई छैन भन्नु सत्य हो । ’
मध्ययुगीन धार्मिक दृष्टिकोण : थोमस एक्विनास ‘सत्यलाई ईश्वरसँग जोड्छन् र सत्य भनेको वस्तु र बुद्धिको मेल हो भन्छन् । ’ इस्लामिक दर्शन भन्छ, ‘ईश्वरको अविनाशी वास्तविकता मान्दै सत्य अनुभव र कारण दुवैबाट प्राप्त हुनसक्छ । ’ आधुनिक युगका विचारहरू भिन्न छन् । रेने डेसकार्ट भन्छन्, ‘आत्मचिन्तनबाट उत्पन्न आत्मप्रमाणिकता सत्यको आधार हो । ’ इमानुएल कान्ट सत्यलाई अनुभव र तर्कबीचको समन्वयमा राखेर व्याख्या गर्थे ।
वैज्ञानिक दृष्टिकोण : अल्बर्ट आइन्स्टाइन भन्छन्, ‘सत्य भनेको सापेक्ष हो । सन्दर्भअनुसार बदलिन सक्छ । भौतिक सत्य अनुभवजन्य प्रमाण र गणितीय स्थिरता सत्य हुन्छ । ’ कार्ल पोपरको मत यस्तो छ, ‘कुनै पनि वैज्ञानिक सत्यलाई खण्डन गर्न सकिने आधार हुनुपर्छ । त्यो खण्डन नभएसम्मै मात्र त्यो सत्य हो । ’ बेल हुक्स सत्ता र वर्चस्वको प्रश्नमा सत्य खोज्छिन् । सत्य बहुआयामिक र शक्ति सन्तुलनसँग गाँसिएको हुन्छ भनेर विश्लेषण गरिन् ।
समकालीन दृष्टिकोण : आजको पोस्ट ट्रुथ युगमा सत्यको परिभाषा झनै जटिल हुँदै गएको छ । सामाजिक सञ्जाल, राजनीतिक प्रचार र व्यक्तिगत व्याख्याले सत्यलाई विविधतामा विभाजन गर्दछ । युबल नोहा हरारीका अनुसार, ‘सत्यभन्दा पनि मान्छेले साझा मिथकमा बाँच्न रुचाउँछन् । यही बानीको विकासले सत्य मिथक झैं प्रतीत हुन्छ । ’
१. विचारधाराअनुसार सत्यको व्याख्या – वामपन्थी, दक्षिणपन्थी, उदारवादी, राष्ट्रवादी सबैको आफ्नै दृष्टिकोण हुन्छ । एउटै घटनाको रिपोर्ट वामपन्थीले ‘जनअधिकारको संघर्ष’ भन्न सक्छ, दक्षिणपन्थीले ‘राष्ट्रविरोधी उक्साहट’ ।
२. मिडियाअनुसार सत्यको निर्माण– आजको युगलाई ‘पोस्ट ट्रुथ’ युग पनि भनिन्छ, जहाँ भावना र धारणाले तथ्यलाई छायाँमा पार्छन् । विभिन्न समाचार संस्थाहरूले आफ्नो स्वार्थअनुसार सत्यको टुक्रा मात्र देखाउँछन् । इन्टरनेट र सोसल मिडियाले सत्यभन्दा व्याख्या र अफवाहलाई धेरै स्थान दिएका हुन्छन् । हरेक व्यक्ति ‘सत्य’का आफ्नै संस्करण बनाएर बाँड्न सक्षम छन् ।
३. अनुभवजन्य सत्य– सबैको सामाजिक, जातीय, वर्गीय अनुभव फरक हुन्छ । दलितका लागि सत्य अन्याय र बहिष्कार हो भने सत्तामा भएकाका लागि स्थायित्व र विकास पनि हुनसक्छ । नारीका लागि लैंगिक भेद पीडा र अपमानको विषय मानिन्छ भने सामाजिक नियमले यसलाई नियतिसँग जोडेर पनि हेर्दछ ।
४. भाष्यको प्रतिस्पर्धा– वर्तमान परिप्रेक्ष्यमा सत्य को हो ? भन्दा कसले कति प्रभावकारी भाष्य सिर्जना गर्छ भन्ने कुराले सत्यापनमा निर्णायक भूमिका खेल्छ । के सत्य सापेक्ष हो ? सत्य प्रसंग, दृष्टिकोण, समयअनुसार बदलिन्छ । तर, केही कुरा यस्ता पनि हुन्छन्, जसलाई निरपेक्ष सत्य मानिन्छ । जस्तै, गुरुत्वाकर्षणको नियम, वैज्ञानिक तथ्य, ऐतिहासिक (यदि सही प्रमाण छन् भने) घटनाहरू । तर, समाज, राजनीति, धर्म, नैतिकता जस्ता क्षेत्रमा सत्य
प्राय : व्याख्या र विश्लेषणयोग्य मानिन्छ ।
क) समाजशास्त्रीय दृष्टिकोणबाट सत्य : समाजशास्त्रले सत्यलाई केवल तटस्थ तथ्यको रूपमा हेर्दैन, बरु सामाजिक बनावट, सांस्कृतिक सन्दर्भ र वर्गीय अवस्थिति र संरचनात्मक अवधारणा लाभा÷हानिको सिद्धान्तअनुसार व्याख्या गर्छ ।
सत्य र सामाजिक स्थान– एक दलित युवाको सत्य र एक उच्च जातीय कुलीनको सत्य फरक हुन्छ किनकि उनीहरूको अनुभूति, अवसर र अधिकारमा असमानता हुन्छ । रुकुमको जातीय नरसंहार पीडितको सत्य जातीय विभेद र अत्याचार हो भने शक्तिशाली पक्षको सत्य परम्परागत मर्यादा, संस्कृति र प्रतिरक्षा हो ।
सत्य सापेक्ष हुन्छ – सत्यलाई कसले भन्यो, कसलाई भन्यो, कसका लागि भन्यो भन्ने कुराले निर्धारण गर्छ । यही कारण जातीय, लिंगीय, वर्गीय, धार्मिक समुदाय र समूहका आआफ्नै सत्य छन् ।
ख) साहित्यिक दृष्टिकोणबाट सत्य : साहित्यले सत्यलाई सिधा भनेको जस्तो होइन तर अनुभूतिजन्य, सांकेतिक र जीवन्त रूपमा प्रस्तुत गर्छ ।
कथामा सत्य – लेखकहरूले पात्रमार्फत सामाजिक यथार्थको झलक दिन्छन् । त्यहाँ सत्य कुनै सरकारी दस्तावेज होइन, जीवनको भोगाइ हो । साहित्य सत्यको भाषा होइन, भाव भन्ने मान्यता राख्छ । भन्छ कि सत्य प्रमाणितभन्दा अनुभूतिजन्य हुन्छ । यसर्थ लेखक अनुभूतिलाई सत्यको नाम दिन्छ ।
ग) राजनीतिक दृष्टिकोणबाट सत्य : राजनीतिमा सत्य एक अस्त्र हो । जसको प्रयोग सत्ताको संरक्षण वा प्रतिरोधको निर्माणका लागि गरिन्छ ।
सत्य अब तटस्थ छैन, पक्षधर छ। आजको युगमा सत्य कुनै देववाणी होइन, त्यो कसले भन्यो, किन भन्यो र कसका लागि भन्यो भन्ने आधारमा अर्थ लाग्छ।
सत्य निर्माणको शक्ति – जो सत्तामा छन्, जो शक्तिमा हुन्छन्, उनीहरूले आफ्नो भाष्यलाई ‘सत्य’ बनाउने प्रयास गर्छन् । सत्ता र शक्तिमा नहुनेले पनि आफ्नो भाष्य सत्य बनाउन प्रयास गर्छन् तर शक्ति र सत्ता आर्जन नहुँदासम्म शक्तिहीनको भाष्य सत्य बन्न कठिन हुन्छ । तसर्थ, शक्ति नै सत्यलाई परिभाषित गर्ने गतिलो औजार भएको पाइन्छ । समाज विकासमा देखिएको अभ्यास यही छ । उदाहरण, विद्रोहलाई ‘आतंकवाद’ भन्नु, आन्दोलनलाई ‘अराजकता’ भन्नु सत्ताको भाष्य हो । आन्दोलनकारीको पक्षबाट हेर्दा त्यो ‘न्यायको संघर्ष’ हो र यो जायज हुन्छ ।
पोस्ट ट्रुथ राजनीति र सत्य : आजको युगलाई ‘पोस्ट ट्रुथ’ भनिन्छ, जहाँ भावना, जनधारणा र प्रचारले ‘सत्य’माथि शासन गर्छ । प्रचार सञ्चारले सत्यलाई पर्खालले बाँधेर देखाउँछ अनि ‘आफ्नो खेमा’लाई मात्रै साँचो ठान्छ र त्यही अनुसार निष्कर्ष निकाल्छ । ‘पोस्ट–ट्रुथ’ भन्नाले यस्तो राजनीतिक संस्कृतिलाई जनाउँछ, जहाँ भावनात्मक अपील र व्यक्तिगत विश्वासहरूले सार्वजनिक धारणा निर्माणमा तथ्यभन्दा बढी प्रभाव पार्छन् । यसले त्यस्तो परिस्थितिलाई वर्णन गर्छ, जहाँ सत्य र झुटको बीचको सीमाना धमिलिन्छ र भावनात्मक प्रभाव आधारित कथाहरू बनाइन्छन् न कि प्रमाणित तथ्यको आधारमा पोस्ट–ट्रुथ युग सत्यको अवमूल्यन मात्र होइन, चेतनाको संकट पनि हो । जब समाजले तथ्यलाई पन्छाएर भावनालाई सत्यको ठाउँमा राख्छ, तब हामी एउटा भ्रामक, अराजक र आत्मघाती दिशातर्फ अघि बढिरहेका हुनेछौं ।
निष्कर्ष : सत्य अब कुनै एउटै आकार, एउटै स्वर, एउटै मान्यताको विषय छैन । यो बहुआयामिक, बहुभाषिक, बहुभोगाइ र बहुहितसम्बद्ध बनिसकेको छ । आज सत्य बुझ्नभन्दा पनि सत्य निर्माण कसरी भयो ?, कसले गर्यो ?, किन गर्यो ? भन्ने प्रश्नहरू बढी महत्वपूर्ण मानिन्छन् । सत्य अब तटस्थ छैन, पक्षधर छ । आजको युगमा सत्य कुनै देववाणी होइन, त्यो कसले भन्यो, किन भन्यो र कसका लागि भन्यो भन्ने आधारमा अर्थ लाग्छ ।
एकै घटनालाई हेर्ने दृष्टिकोण भिन्न भए सत्य पनि भिन्न देखिन्छ । जातीय विभेद, वर्गीय शोषण वा लंैगिक उत्पीडनमा आधारित घटनामा पीडित पक्षको अनुभूत सत्य र सत्ताधारी पक्षको औपचारिक सत्य एकअर्कालाई काट्ने खालका हुन्छन् । सत्य एकै रेखामा बाँधिने विषय होइन । यो समय, स्थान, सन्दर्भ, अनुभूति र चेतनाको समुच्चय हो । सत्य के हो भन्ने उत्तर प्रश्न गर्ने दृष्टिकोणमा निर्भर रहन्छ । त्यसैले सत्य खोज्ने यात्रा भनेको अन्तत : एउटा खोज प्रयोग र सामयिक दार्शनिक हेराइ हो भनेर बुझ्न सकिन्छ । मूर्त सत्य भन्न कठिन छ ।
अहिलेको युग सत्यको होइन, सत्यका लागि संघर्षको युग हो । आज सत्य के हो भन्ने प्रश्न सामान्य जस्तो लागे पनि गहिरो खोतल्दा यो युगको सबैभन्दा जटिल र विस्फोटक प्रश्न सावित हुन्छ । आज सत्य भाष्य बनाउने सामथ्र्यसँग सम्बन्धित छ । जसको सञ्चारमाध्यम, जसको शक्ति, जसको पहुँच त्यसैको सत्य प्रचारित हुन्छ । यसलाई सत्यको युद्ध होइन, भाष्यको युद्ध पनि भन्न सकिन्छ । सत्तामा रहेका व्यक्तिहरू ‘राज्यको दृष्टिकोण’लाई सत्यको रूप दिन खोज्छन्, भने संघर्षरत वर्ग ‘अनुभवको यथार्थ’लाई सत्य ठान्छन् । यसै कारण ‘बोल्न पाउने अधिकार’ नै आज सत्य निर्माण गर्ने प्रमुख औजार भएको छ । वर्तमानको चुनौती भनेको ‘सत्य बोल्न सक्ने साहस’मात्र होइन, सत्य सुन्न सक्ने संयमता र विवेक कायम राख्न सक्नु हो ।
प्रतिक्रिया दिनुहोस !