लयमा आएको प्रधान न्यायालय

लयमा आएको प्रधान न्यायालय
फाइल तस्बिर।
सुन्नुहोस्

संविधान र कानुनको अन्तिम एवं आधिकारिक व्याख्या गर्ने जिम्मा पाएको सर्वोच्च अदालतले संवैधानिक इजलासमा चढेका बाहेक साना÷ठूला मुद्दाहरूको फस्र्योटमा उल्लेखनीय प्रगति गरेको छ । यसले मुलुकको न्याय निस्पादनमा आएको गतिलाई बुझाउँछ । अर्थात् छिटो न्याय पाउने वातावरण सिर्जना भएको छ । यसै पनि न्यायिक क्षेत्रमा प्रचलित भनाइ नै छ— ढिलो न्याय दिनु, न्याय नदिनुसरह हो । तथ्यांकले भन्छ— २०७९ असारमा दुई वर्ष पुराना मुद्दाको संख्या १७ हजार ४ सय २७ थियो । त्यो संख्या ९ हजार ९ सय ८५ मा झरेको छ ।

पाँच वर्ष पुराना मुद्दाको संख्या त्यतिबेला ५ हजार १ सय ६८ थियो । अहिले १२ सय ५८ मा झरेको छ । एक त सर्वोच्चमा न्यायाधीशको सधैं अभाव हुँदै आएको थियो । संवैधानिक व्यवस्था अनुसार प्रधानन्यायाधीशसहित सर्वोच्चमा २१ न्यायाधीश हुनुपर्छ । अहिलेमात्रै त्यो संख्या पूरा छ । धेरैजसो त न्यायाधीश अभावै अभावमा सर्वोच्च गुज्रियो । दरबन्दीअनुसारका न्यायाधीश भएसँगै प्रविधिको प्रयोग गर्दै पेसी तथा मुद्दा व्यवस्थापन, न्याय सम्पादनमा उल्लेखनीय प्रगति सर्वोच्चमा भएको छ ।प्रधानन्यायालयका न्यायाधीशहरूकै भनाइमा भएका न्यायाधीशहरूले अहिले क¥याङकुरुङ जस्तै एकै लयमा काम गरेर मुद्दाको छिनोफानो फटाफट गरेका छन् । 

सानाठूला मुद्दाको मुद्दा फस्र्योटले आशा जगाए पनि संवैधानिक इजलास भने लयमा छैन । त्यहाँबाट कारण देखाऊसम्मका आदेश पनि हुन कठिन भइरहेको छ । अरू मुद्दामा न्यायाधीशहरू क¥याङकुरुङको लयमा भए पनि संवैधानिक इजलास गठनमै पनि विभाजित छन् ।

भलै, सर्वोच्चमा अहिले न्यायाधीशहरूको तादम्यता विगतको जस्तो तिक्ततापूर्ण अवश्य छैन । जस्तो कि तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको पालामा उनले डाकेको इलजास बाँकी न्यायाधीशहरूले बहिस्कारमात्रै गरेनन्, उनको राजीनामा नै समेत मागे । अनि कानुन व्यवसायीसँग पनि न्यायालयको सम्बन्ध चिसो भयो । अहिले ती दुरी कम भएका छन् । सम्बन्धमा धेरै मात्रामा सुधार भएको छ । मुद्दाको फस्र्योटलगायत कारण सर्वोच्च आफ्नो लयमा फर्किंदै छ र साख पनि सुधार गरेको छ । जसलाई पर्याप्त भने मान्न सकिन्न । किनभने न्यायालयले दिएको न्याय तब न्याय मानिन्छ, जब पीडितले अनुभूति गर्छ । तसर्थ छिटो मुद्दा फस्र्याेट तथ्यांकमात्रै न्यायालयको साख जाँच्ने पूरापूर कसी पक्कै होइन । किनभने सर्वोच्च अदालत केवल मुद्दा छिन्ने कारखाना होइन, यो संविधान र कानुनको अन्तिम व्याख्याता, नागरिक अधिकारको रक्षक र न्यायको मन्दिर हो ।

न्याय सम्पादनको गुणस्तर, फैसलाको कार्यान्वयन र आम नागरिकले गर्ने न्यायको अनुभूति नै सर्वोच्चको मापक हो । प्रधान न्यायालयमा विकृति, विसंगति र न्याय किनबेचको आरोप छँदैछ । न्यायालयको गरिमा धुमिल बनाइरहेका त्यस्ता विषयको उचित सम्बोधनले नै सर्वोच्चको साख माथि उठाउँछ । न्यायपालिकामा हुन सक्ने भ्रष्टाचार र अनियमितताको अन्त्यका लागि पनि मुद्दाको फस्र्याेटमा जस्तै तीव्रता दिनु आवश्यक छ । सर्वोच्च अदालतको वर्तमान नेतृत्व र न्यायाधीशहरूको मुद्दा फस्र्योटप्रति देखाइरहेको तीव्रतालाई स्वागतयोग्य सुरुआत मानेर आउँदा दिनमा अन्य विषयमा सुधारको अपेक्षा मनासिब हुन्छ ।

न्यायालयको साख पुनर्निर्माणको अभियान तबमात्र पूर्ण हुन्छ, जब संख्यात्मक वृद्धिसँगै गुणात्मक न्यायको अनुभूति पनि हुन्छ । यसका लागि बार र बेन्चबीचको तिक्तता अन्त्य गरी विश्वासको वातावरण बनाउनुपर्छ । अपारदर्शी नियुक्ति प्रक्रिया र राजनीतिक प्रभावबाट न्यायपालिकालाई मुक्त राख्नुपर्छ । राज्यले न्यायपालिकालाई आवश्यक स्रोतसाधन र बजेट पनि उपलब्ध गराउनुपर्छ ।
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.