पुष्पाको आँसु र विपिनको प्रतीक्षा

पुष्पाको आँसु र विपिनको प्रतीक्षा
सुन्नुहोस्

बन्धक बनाइएका नागरिकको रिहाइका लागि जुन स्तरको रणनीतिक र आक्रामक कूटनीतिक पहल हुनुपर्थ्यो, त्यसमा हामी सफल देखिएका छैनौं ।

कञ्चनपुरका विपिन जोशीलाई इजरायलबाट हमासले बन्धक बनाएर राखेको करिब २ वर्ष बितिसकेको छ । सन् २०२३ को अक्टोबर ७ तारिख, त्यो कालो दिन बनेर जोशी परिवारमा मात्रै आएन, नेपाल र नेपालीलाई पनि घाइते बनायो ।

कृषि तालिमका लागि इजरायल पुगेका १७ नेपाली विद्यार्थीमध्ये १० जनाको क्रूरतापूर्वक हत्या भएको थियो त्यस दिन । अनि, विपिन जोशीलाई हमासले अपहरण ग¥यो । युद्धको त्यो विभीषिकाबीचबाट अमेरिका, फ्रान्स, थाइल्यान्ड जस्ता देशहरूले आफ्ना नागरिकलाई कूटनीतिक कौशल र दबाब प्रयोग गरेर फिर्ता लगे । तर, विपिनको नाम प्रतीक्षाको सूचीमा अड्किरह्यो । इजरायल र प्यालेस्टिनीहरूको युद्ध झन् जटिल बन्यो र विपिनको अवस्था अन्योलग्रस्त पनि । यसबीच नेपालले खास कूटनीतिक पहल गर्न नसक्दाकै परिणाम आजसम्म पनि उनको अवस्था अज्ञात बनेको छ ।

विपिनको रिहाइका लागि उनकी बहिनी पुष्पामा र आमा पद्मा इजरायल पुगेका छन् । संयुक्त राष्ट्रसंघसम्म पुगेर उनीहरू विपिनको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब सिर्जना गरिरहेका छन् । पुष्पा जोशीले दाजुको जीवन रक्षाका लागि पराइ भूमि इजरायल पुगेर त्यहाँका राष्ट्रपतिमात्रै भेटिनन्, सार्वजनिक मञ्चमा उभिएर आह्वानसमेत गरिन् । उनको निकै भावुक अपिलले नेपालीहरूको मन त भक्कानिएकै छ, तर हमासले त्यो चित्कारलाई सुनिदिएमात्रै सुखद परिणाम निस्कन सक्थ्यो । तेल अभिब सहरको ‘होस्टेज स्क्वायर’मा पुष्पाले ‘दादा... आई मिस यु सो मच,’ भनिरहँदा र आँसु झार्दा त्यसले एउटा पारिवारिक सदस्यको पीडामात्रै छचल्किएन देश पनि दुख्यो । त्यसबेला झरेका आँसु र पीडादायी उनको अनुहार देखेर विश्व पनि तड्पिएको छ । पुष्पा र पद्मासँगको भेटपछि इजरायली राष्ट्रपति इसाक हर्जोगले विपिनको तस्बिर छातीमा टाँसेर दिएको आश्वासनले केही आशा जगाएको छ । तर, नेपालले पनि कूटनीतिक पहल भने जारी राख्नु नै पर्छ ।

बन्धक बनाइएका नागरिकको रिहाइका लागि जुन स्तरको रणनीतिक र आक्रामक कूटनीतिक पहल हुनुपर्थ्यो, त्यसमा हामी सफल देखिएका छैनौं । नेपालले इजरायलसँगको द्विपक्षीय सम्बन्धलाई मात्र उपयोग गरेर पुग्दैन, किनभने ऊ आफै हमाससँग लडिरहेको पक्ष हो, हामीले हमाससँग वार्ताको ढोका खोल्न सक्नुपर्छ । त्यसका लागि हमाससँग निकट कतार, इजिप्ट र टर्कीजस्ता मुलुकहरूसँग पहल गर्नुपर्छ । त्यसो त प्रधानमन्त्री केपी शर्मा ओलीले टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोगान र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल–सिसीसँग संवाद गरी त्यो पहल थालेका छन् । त्यसबाट परिणाम निस्यिोस् भन्ने सबै नेपालीको अपेक्षा हो । विपिनको घरफिर्ती प्रतीक्षा राष्ट्रिय प्रतीक्षा हो ।

नेपालले संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय रेडक्रस जस्ता संस्थामार्फत हमासमाथि दबाब बढाउनु आवश्यक छ । नेपाल–इजरायल सम्बन्धलाई मजबुत बनाउँदै बन्धक रिहाइलाई द्विपक्षीय एजेन्डा बनाउनुपर्छ । इजरायलमा ६ हजारभन्दा बढी नेपाली कार्यरत छन्, जसको सुरक्षाका लागि नेपालले ठोस नीति बनाउनुपर्छ । विपिनको घटनाले नेपाललाई अन्तर्राष्ट्रिय संकटमा आफ्ना नागरिकहरूको रक्षाका लागि तयार रहन सिकाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.