आन्तरिक द्वन्द्वमा फसेको न्यायको मन्दिर

आन्तरिक द्वन्द्वमा फसेको न्यायको मन्दिर
फाइल तस्बिर ।
सुन्नुहोस्

सर्वोच्चको यो गतिरोधले न्यायपालिकाको जनआस्था र साखमा गिरावट ल्याउँछ ।

सर्वोच्च अदालतमा बुधबार र शुक्रबार नियमित रूपमा संवैधानिक इजलास गठन हुने अभ्यास छ । एक महिनाभन्दा बढी समयदेखि मुलुकको संवैधानिक इजलास अवरुद्ध छ । बुधबार इजलास गठन भएन । साउन २५ यता इजलास गठन भएको छैन । एउटा इजलास अवरुद्ध हुनु प्राविधिक विषयमात्र होइन, यो संवैधानिक न्याय प्रणाली अवरुद्धको विषय हो ।

संविधानको व्याख्या गर्ने, नागरिकको मौलिक हकको रक्षा गर्ने र राज्यका अंगहरूलाई संवैधानिक सीमाभित्र राख्ने अन्तिम निकाय नै संवैधानिक इजलास हो । संवैधानिक इजलास गठनमा परेको गाँठोको मूल कारण इजलास गठनको प्रक्रियाबारे प्रधानन्यायाधीश र अन्य न्यायाधीशहरूबीचको मतभेद हुनु हो । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत गोला प्रथा गरी अरू इजलासजस्तै गरी गठन गर्नुपर्ने पक्षमा छन् । वरिष्ठ न्यायाधीशहरूलाई संवैधानिक इजलासमा राखिनुपर्ने मत अरू न्यायाधीशहरूको छ । कतिपय न्यायाधीशहरू गोला प्रथाको पक्षमा पनि छन्, जो संवैधानिक इजलासमा बस्न पनि चाहन्छन् । कुन प्रणालीबाट इजलास गठन गर्ने भन्ने यही विवादका कारण आज न्यायको मन्दिर आन्तरिक द्वन्द्वमा फसेको छ । 

‘बेन्च सपिङ’ रोक्ने र स्वच्छता कायम गर्ने पवित्र उद्देश्यले ल्याइएको गोला प्रणाली अदालतमा सुरु गरिएको थियो । तर संवैधानिक इजलास भने विशिष्टीकृत र विज्ञता चाहिने थलो हो, त्यसमा ‘बाइचान्स वा एक्सिडेन्टल न्याय’ जस्तो गरी गोला प्रथा गरिनुहुन्न भन्ने कतिपयको धारणा छ । यही बहसका कारण संवैधानिक निकाय बन्धक बनेको छ । सर्वोच्च अदालत आफैंले भनेको छ, ‘न्याय कुनै निकाय वा पदाधिकारीको कृपाको विषय होइन, जनताको अधिकार हो ।’ विडम्बना, स्वयम् सर्वोच्च अदालत नै आफ्नो यो व्याख्याबाट बिमुख देखिन्छ । इजलास नै गठन गर्न नसकेर न्याय निस्पादनको गति अवरुद्ध पारेर सर्वाेच्च बसेको छ । गोला प्रणाली एक सुधारात्मक कदम पनि हो । तर, हरेक समस्याको एउटै समाधान हुँदैन । संवैधानिक इजलास सामान्य मुद्दा हेर्ने थलो होइन । यसले संविधानको मर्म र भावनाको व्याख्या गर्छ र दूरगामी महत्त्वका राष्ट्रिय विवादहरूको निरूपण गर्छ । यस्तो अवस्थामा विज्ञता, अनुभव र वरिष्ठतालाई प्राथमिकता दिनुपर्छ भन्ने तर्क बलियो देखिन्छ । 

संवैधानिक इजलासले हेर्नुपर्ने खालका मुद्दा अहिले सर्वाेच्चमा २ सय २८ वटा छन् । तिनको छिनोफानो गर्ने काम सम्पूर्ण रूपमा अवरुद्ध भएको छ । अर्थात् नागरिकका मौलिक हक हनन्का निवदेन थन्किएका छन् र न्याय स्वयम् मुल्तबीमा परेको छ । यो विवाद र गतिरोधको समाधान स्वयम् अदालतभित्रै छ, जसको निरूपणको कर्तव्य पनि न्यायाधीशकै हो । प्रधानन्यायाधीशले अभिभावकीय भूमिका खेलेर नै विवादको गाँठो फुकाउनुपर्छ । अरू न्यायाधीशहरूले मेरो गोरुको बाह्रै टक्का भन्नु हुँदैन । वरिष्ठता र विज्ञता नछुटोस् भनेर उनीहरूको सूची तयार गरी पनि गोला प्रथा गर्न सकिन्छ ।

सबै न्यायाधीशलाई गोला प्रथामा सहभागी नगराई वरिष्ठहरूबाट मात्रै छनोट गर्ने एउटा जुक्ति हुन सक्छ । तर, कुनै पनि हालतमा संवैधानिक इजलासलाई अनिश्चितकालसम्म बन्धक बनाउनु हुँदैन । त्यसो गर्नु पनि न्यायमाथिकै अन्याय हो । सर्वोच्चको यो गतिरोधले न्यायपालिकाको जनआस्था र साखमा गिरावट ल्याउँछ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.