स्वार्थको द्वन्द्वमाथि कानुनी अंकुश

स्वार्थको द्वन्द्वमाथि कानुनी अंकुश
सुन्नुहोस्

थुप्रै देशमा स्वार्थको द्वन्द्व रोक्ने कानुनी प्रावधान छ । त्यसैले नेपालले गरेको तयारी नौलो अभ्यास होइन ।

उच्च पदस्थ कर्मचारी निवृत्त हुनासाथै संवैधानिक आयोगको नियुक्ति खान लाग्ने प्रवृत्तिमा स्वार्थको द्वन्द्व देखियो । त्यही कारण नै निजामती ऐनमा ‘कुलिङ अफ पिरियड’को व्यवस्था गर्ने प्रयास भएको थियो । त्यसैमा पनि बदमासी भयो । स्वार्थको द्वन्द्व कतिसम्म गहिरो छ भन्ने देखाउन यही पछिल्लो उदाहरण काफी हुन्छ ।

कानुनको आलोचनात्मक सिद्धान्तले भन्छ—कानुन निर्माताहरूले बनाउने नियमहरू उनीहरूको राजनीतिक व्यक्तिगत स्वार्थबाट अलग हुँदैनन् । नेपालको हकमा यही सिद्धान्त लागू भएझै देखिन्छ । तर कानुनको प्राकृतिक सिद्धान्तअनुसार कानुन बने, बनाइए भने निष्पक्ष हुन्छ । र, त्यसमा स्वार्थको द्वन्द्व हुँदैन । प्राकृतिक सिद्धान्तले स्वार्थको द्वन्द्व इन्कार गर्छ । हाम्रोमा भने नेपाली राजनीति र प्रशासनको गहिरो रोग नै स्वार्थको द्वन्द्व भइरहेको छ ।

आफ्नो हात जगन्नाथ शैलीमा नीतिनिर्माण तहका व्यक्ति छन् । ठेकेदार सांसद छन् । निजी विद्यालय सञ्चालक शिक्षा व्यवसायी सांसदमात्रै भएका छैनन्, शिक्षा मन्त्री भएका छन् । जलविद्युत् आयोजकका साहुजीहरू ऊर्जामन्त्री भएका छन् । यस्तै यस्तै तमाम विकृति र विसंगतिले देशमा धेरैले स्वार्थको ढिँडो ओडाल्दै आएका छन् । त्यसैले कानुनतः नै स्वार्थको द्वन्द्व निरूपण र रोकथाम जरुरी भइसकेको छ । यस सिलसिलामा सरकारले मस्यौदा गरेको स्वार्थको द्वन्द्व विरोधी कानुन स्वागतयोग्य कदम हो । 

जसले विकासको ठेक्कापट्टाको अनुगमन गर्नुपर्ने हो, उही स्वयम् ठेकेदार भएर संसदीय समितिमा बस्ने र जसले वित्तीय क्षेत्रलाई नियमन गर्नुपर्ने हो, उसैको बैंक तथा वित्तीय संस्थामा लगानी हुने प्रवृत्तिले हाम्रो लोकतन्त्र र विधिको शासनको धज्जी नै उडाएको छ । खासमा त्यो नैतिकताको विषय हो । तर जब मानिसलाई लाज लाग्न छाड्छ, उसले जे पनि गर्छ । भइरहेको त्यस्तै छ । अनि नैतिकताको तगारोले नछेकेपछि कानुनकै पर्खाल बनाउनुपर्ने बाध्यता आइपर्छ । 

थुप्रै देशमा स्वार्थको द्वन्द्व रोक्ने कानुनी प्रावधान छ । त्यसैले नेपालले गरेको तयारी नौलो अभ्यास होइन । त्यस्तो विधेयक सरकारले ल्याएर सदनले पारित गर्‍यो भने संसद्मा मात्रै नभई सार्वजनिक प्रशासन क्षेत्रको विकृति पनि धेरै हदसम्म कम हुन अवश्य सक्छ । विधेयकले सार्वजनिक पद धारण गर्ने व्यक्तिलाई उसको निजी स्वार्थ र सार्वजनिक जिम्मेवारीबीच स्पष्ट सीमारेखा कोर्न बाध्य पार्ने उद्देश्य राखेको छ । सार्वजनिक पदाधिकारीले पद सम्हाल्नुअघि नै आफ्नो सम्भावित स्वार्थबारे स्वघोषणा गर्नुपर्ने, स्वार्थ जोडिएका निर्णय प्रक्रियाबाट अलग रहनुपर्ने, उपहार लिन प्रतिबन्ध, आफू कार्यरत निकायसँग करार गर्न नपाउने र पदबाट हटेपछि निश्चित समय (एक वर्ष) सम्म सोही निकायसँग सम्बन्धित काम गर्न नपाउने (कुलिङ अफ पिरियड) जस्ता प्रावधानहरू प्रगतिशील र आवश्यक छन् । यी व्यवस्थाहरूले सार्वजनिक पदलाई निजी स्वार्थपूर्तिको माध्यम बनाउने प्रवृत्तिमाथि कानुनी अंकुश लगाउने अपेक्षा गर्न सकिन्छ ।  

लोकतन्त्रमा सुशासनको प्रमुख सर्तका रूपमा स्वार्थको द्वन्द्वलाई लिइन्छ । संयुक्त राज्य अमेरिकामा ‘एथिक्स इन गभर्मेन्ट एक्ट’ अन्तर्गत सार्वजनिक पदाधिकारीहरूको वित्तीय विवरण सार्वजनिक गरिन्छ । पद छाडेपछि निजी क्षेत्रमा काम गर्न कडा नियमहरू (रिभल्विङ डोर प्रोभिजन) लागू हुन्छन् । बेलायतमा संसदीय आयुक्तले सांसदहरूको आर्थिक स्वार्थको निगरानी गर्छन् र त्यसलाई सार्वजनिक ‘रजिस्टर’मा राखिन्छ । क्यानडा, अस्ट्रेलियाजस्ता देशहरूमा स्वतन्त्र ‘इथिक्स कमिसनर’ वा यस्तै निकायले स्वार्थको द्वन्द्वसम्बन्धी मामिलाको अनुगमन, छानबिन र कारबाहीको सिफारिस गर्छन् । तर अन्तर्राष्ट्रिय अभ्यासहरूबाट पनि सिक्नुपर्छ कि– पारदर्शिता, स्वघोषणा, स्वतन्त्र अनुगमन र प्रभावकारी कारबाहीबिना स्वार्थको द्वन्द्व नियन्त्रण असम्भव छ ।

नेपाल राज्यको अनुगमन प्रणाली कमजोर भएको हुँदा त्यसमा बढी जोड दिनु आवश्यक छ । यसमा सबैभन्दा ठूलो चुनौती भनेको राजनीतिक इच्छाशक्ति हो । जसरी ठेकेदार, व्यापारी र व्यवसायीहरूको बाक्लो उपस्थिति नीति निर्माण तहमा छ, उनीहरूले यो विधेयकलाई कमजोर पार्न वा यसमा छिद्रहरू राख्न अन्तिम समयसम्म चलखेल गर्न सक्छन् । नागरिक समाजले आजैदेखि चनाखो भएर खबरदारी गरिरहन जरुरी छ ।
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.