अर्घाखाँचीमा हिमालयन बाख्रा फर्मका ७ बाख्रा बाघले मार्यो, ८ बाख्रा अझै भेटिएनन्
अर्घाखाँची : अर्घाखाँचीको शितगंगामा एक बाख्रा फर्मका १५ बाख्रा बाघले मारेको छ। शितगंगा नगरपालिका-१३ मुस्यान माझिफाँटमा रहेको हिमालयन बाख्रापालन तथा कृषि फर्मका १५ बाख्रा बाघले मारेको हो।
बुधबार बाख्रा चराउन जङ्गल जाँदा एकै दिन ३० बाख्रा हराएका थिए। जसमध्ये १५ बाख्रा फर्ममा आएका, ती मध्य एउटा घाइते रहेको र अरु बाख्रा मध्ये ७ बाख्रा बाघले मारेको अवस्थामा फेला पारिएको फर्मका सञ्चालक घनश्याम अधिकारीले जानकारी दिए।
अरू ८ बाख्रा शनिबारसम्म फेला पार्न नसकिएको उनले बताए। बाख्रा हराएपछि लगातार खोजी कार्य गरिरहेको उनले जनाए। तर यतिका दिनसम्म बाख्रा फेला नपर्नुले ती बाख्रालाई पनि बाघले खाएको उनको आशंका छ। भेटिएका ७ बाख्रा मध्ये ४ बाख्रालाई पछाडिको भागमा क्षति गरेको अरू मारेर छाडेको अवस्था भेटाइएको उनले जनाए।
मरेका बाख्रालाई झन्डै एक किलोमिटरमा फेला पारिएको थियो। देउराली-पारे सामुदायिक वन क्षेत्रमा उक्त बाख्रालाई बाघले सिकार बनाएको हो। झन्डै दुई वर्ष अगाडि यहाँ बाख्रापालनका लागि १२ लाख लगानी लगाएर संरचना बनाइएको थियो। बाख्रासँगै फर्ममा ब्रोइलर कुखुरा र बङ्गुर पनि पालिएको छ। फर्ममा अहिलेसम्म झन्डै ३५ लाख लगानी लगाइएको फर्मका अर्का सञ्चालक विष्णु पौडेलले बताए।
बाघले गर्दा फर्मका ठूलो क्षति पुगेको सञ्चालक पौडेलले गुनासो गरे। गएको जेठ महिनामा २५ सय ब्रोइलर कुखुरा मध्ये एकैदिन १२ सय कुखुरा मरेका थिए। फेरि बाख्रामा ठूलो क्षति पुगेको उनले बताए। लगातारको क्षतिले फर्म सञ्चालक चिन्तामा छन्। स्वदेशमै केही गर्नुपर्छ भनेर पशुपंक्षीपालनमा लगानी लगाए पनि सोचेजस्तो हुन नसकेको उनले जनाए।
बाख्रा मारेको अवस्था हेर्दा चितुवा नभएर बघेनी रहेको गाउँले बताउँछन्। चितुवाले यति धेरै बाख्रा एक किलोमिटरको दूरीमा लखेटेर मार्न नसक्ने गाउँले बताउँछन्। पछिल्लो समय यस क्षेत्रमा बाघको बिगबिगी बढ्दो छ। बुधबार राति मात्र नजिककै भलासिक्र गाउँको एक खोरका ४ बाख्रा जंगली जनावरले मारेको, एक बाख्रालाई घाइते पारेको प्रहरी चौकी सिमलपानीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !