संस्कृतिले जोडिएका मधेस–पहाड

संस्कृतिले जोडिएका मधेस–पहाड
सुन्नुहोस्

नेपाली महिलाहरूको पर्व तिज नजिकै आइपुगेको छ । संघारको तिजको छेकोमा यसका भाकाहरू गुञ्जिएका छन् । खासगरी पहाडको खसआर्य समुदायका महिलाले विशेष रूपमा तिज मनाउँदै आएका थिए । अचेल भने तिजका भाका पहाडमा सीमिति छैनन् । मधेसमा पनि तिज ओर्लिएको छ ।

‘तिजको लहर आयो बरिलै’ भाकामा मधेसका दिदीबहिनी कम्मर मर्काइरहेका छन् । यसले पहाडको एउटा पर्व मधेस झरेको मात्रै देखाउँदैन, पहाड र मधेसबीचको मनोवैज्ञानिक दूरी घट्दै गएको प्रस्ट गर्छ । नेपालमा राष्ट्रिय एकताको डोरी बलियो बन्दै गएको प्रमाण पनि हो यो । केही वर्षदेखि मधेसको पर्व छठले काठमाडौंका नदी किनारदेखि पहाडका पोखरीसम्म आफ्नो आलोक छरिरहेको छ । यो गणतान्त्रिक, समावेशी र संघीय नेपालको सामाजिक–सांस्कृतिक एकताको भावना हो । यो राज्यले लादेको संस्कृति होइन, जनस्तरबाटै राष्ट्रिय एकता र सहिष्णुताका लागि सुरु भएको स्वतःस्फूर्त अध्याय हो ।

मधेसमा तिज केही निश्चित समुदायमा सीमित, पूजापाठ र निर्जला व्रतको कठोर अनुशासनमा बाँधिएको थियो । तर, आज तिजले त्यहाँ उत्सवको रूप लिएको छ । दर खाने, सामूहिक नाचगान गर्ने र सुखदुःख साट्ने चलनले मधेसी महिलाहरूको सामाजिक जीवनमा नयाँ रङ भरेको छ । संस्कृति सधैं परिवर्तनशील हुन्छ । तिज पनि परिवर्तन भएको छ । हिजो तिज महिलाले दुःखवेदना पोख्ने वा व्रत बस्ने पर्व थियो । आज यसले मनोरञ्जनको उत्तिकै रूप लिएको छ । हिजो तिजमा दुःख धेरै गाइन्थ्यो, आज खुसी गुञ्जिन थालेको छ । त्यसो त यो नेपाल समाजमा महिलाका दुःख कम हुँदै गएको संकेत पनि हो त्यो । अचेल तिज बिलौनाको पर्यायबाट सशक्तीकरणको माध्यम पनि बन्न थालेको छ । गाउँटोलका चौतारबाट तिज होटेल र रेस्टुरेन्ट वा पार्टीप्यालेस छिरेको छ । आर्थिक हिसाबमा पनि महिलाहरू सशक्तीकरण भएपछि नै यो सम्भव भएको हो । तिज फेरि पनि चौतारामै मनाइनुपर्छ भन्ने होइन । होटेल, रेस्टुरेन्टमा बिहे, व्रतबन्ध गर्ने दिन आएका छन् भने चाडपर्व पनि होटेल, रेस्टुरेन्टमा हुनुलाई विकृति मान्नुहुँदैन, परिवर्तनका रूपमा स्वीकार्नुपर्छ ।

महिलाहरूले मनोरञ्जन गर्नु वा घरबाहिर निस्किएर रमाइलो गर्नुलाई विकृति देख्नु पितृसत्तामक दृष्टि हो । वर्षौंदेखि घरको चौघेरामा सीमित मधेसी महिलाहरू आज तिजको बहानामा घरबाहिर निस्केर निर्धक्क नाच्न र रमाउन थालेका छन् । त्यसलाई पनि सशक्तीकरणकै द्योतक मान्नुपर्छ । यसले उनीहरूको आत्मविश्वास बढाएको छ भने पहाडी र मधेसी समुदायका महिलाहरूलाई एउटै आँगनमा ल्याएर आत्मीयताको सम्बन्ध गाँसेको छ । अनेकतामा एकता नगरी नेपालको राष्ट्रियता बलियो हुँदैन । मनहरू जोड्ने काम संस्कृतिले जति प्रभावकारी रूपमा अरू केहीले गर्न सक्दैन । जब बागमती र फेवातालको किनारमा छठका लागि घाट सजाइन्छ, तब मधेसले पहाडलाई पवित्र आस्था अर्पण गर्छ । जब जनकपुरको चोकमा तिजको दर पाक्छ र मैथिली नचारीसँगै तिजका गीत गुञ्जिन्छन्, तब पहाडले मधेसको आँगनमा आफ्नो सांस्कृतिक मिठास घोलिरहेको हुन्छ ।

यो सांस्कृतिक आदानप्रदान एकतर्फी छैन, बरु यो पारस्परिक सम्मान र अपनत्वको सुन्दर संगम हो । ‘एक देश, अनेक संस्कृति’को सांस्कृतिक संगमले राजनीतिक तहमा कहिलेकाहीँ देखिने अविश्वास र दूरीलाई मेटाउन महत्वपूर्ण भूमिका खेल्छ । राजनीतिक भाषण र नाराले गर्न नसकेको काम यस्ता सांस्कृतिक उत्सवहरूले चुपचाप गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.