संस्कृतिले जोडिएका मधेस–पहाड
नेपाली महिलाहरूको पर्व तिज नजिकै आइपुगेको छ । संघारको तिजको छेकोमा यसका भाकाहरू गुञ्जिएका छन् । खासगरी पहाडको खसआर्य समुदायका महिलाले विशेष रूपमा तिज मनाउँदै आएका थिए । अचेल भने तिजका भाका पहाडमा सीमिति छैनन् । मधेसमा पनि तिज ओर्लिएको छ ।
‘तिजको लहर आयो बरिलै’ भाकामा मधेसका दिदीबहिनी कम्मर मर्काइरहेका छन् । यसले पहाडको एउटा पर्व मधेस झरेको मात्रै देखाउँदैन, पहाड र मधेसबीचको मनोवैज्ञानिक दूरी घट्दै गएको प्रस्ट गर्छ । नेपालमा राष्ट्रिय एकताको डोरी बलियो बन्दै गएको प्रमाण पनि हो यो । केही वर्षदेखि मधेसको पर्व छठले काठमाडौंका नदी किनारदेखि पहाडका पोखरीसम्म आफ्नो आलोक छरिरहेको छ । यो गणतान्त्रिक, समावेशी र संघीय नेपालको सामाजिक–सांस्कृतिक एकताको भावना हो । यो राज्यले लादेको संस्कृति होइन, जनस्तरबाटै राष्ट्रिय एकता र सहिष्णुताका लागि सुरु भएको स्वतःस्फूर्त अध्याय हो ।
मधेसमा तिज केही निश्चित समुदायमा सीमित, पूजापाठ र निर्जला व्रतको कठोर अनुशासनमा बाँधिएको थियो । तर, आज तिजले त्यहाँ उत्सवको रूप लिएको छ । दर खाने, सामूहिक नाचगान गर्ने र सुखदुःख साट्ने चलनले मधेसी महिलाहरूको सामाजिक जीवनमा नयाँ रङ भरेको छ । संस्कृति सधैं परिवर्तनशील हुन्छ । तिज पनि परिवर्तन भएको छ । हिजो तिज महिलाले दुःखवेदना पोख्ने वा व्रत बस्ने पर्व थियो । आज यसले मनोरञ्जनको उत्तिकै रूप लिएको छ । हिजो तिजमा दुःख धेरै गाइन्थ्यो, आज खुसी गुञ्जिन थालेको छ । त्यसो त यो नेपाल समाजमा महिलाका दुःख कम हुँदै गएको संकेत पनि हो त्यो । अचेल तिज बिलौनाको पर्यायबाट सशक्तीकरणको माध्यम पनि बन्न थालेको छ । गाउँटोलका चौतारबाट तिज होटेल र रेस्टुरेन्ट वा पार्टीप्यालेस छिरेको छ । आर्थिक हिसाबमा पनि महिलाहरू सशक्तीकरण भएपछि नै यो सम्भव भएको हो । तिज फेरि पनि चौतारामै मनाइनुपर्छ भन्ने होइन । होटेल, रेस्टुरेन्टमा बिहे, व्रतबन्ध गर्ने दिन आएका छन् भने चाडपर्व पनि होटेल, रेस्टुरेन्टमा हुनुलाई विकृति मान्नुहुँदैन, परिवर्तनका रूपमा स्वीकार्नुपर्छ ।
महिलाहरूले मनोरञ्जन गर्नु वा घरबाहिर निस्किएर रमाइलो गर्नुलाई विकृति देख्नु पितृसत्तामक दृष्टि हो । वर्षौंदेखि घरको चौघेरामा सीमित मधेसी महिलाहरू आज तिजको बहानामा घरबाहिर निस्केर निर्धक्क नाच्न र रमाउन थालेका छन् । त्यसलाई पनि सशक्तीकरणकै द्योतक मान्नुपर्छ । यसले उनीहरूको आत्मविश्वास बढाएको छ भने पहाडी र मधेसी समुदायका महिलाहरूलाई एउटै आँगनमा ल्याएर आत्मीयताको सम्बन्ध गाँसेको छ । अनेकतामा एकता नगरी नेपालको राष्ट्रियता बलियो हुँदैन । मनहरू जोड्ने काम संस्कृतिले जति प्रभावकारी रूपमा अरू केहीले गर्न सक्दैन । जब बागमती र फेवातालको किनारमा छठका लागि घाट सजाइन्छ, तब मधेसले पहाडलाई पवित्र आस्था अर्पण गर्छ । जब जनकपुरको चोकमा तिजको दर पाक्छ र मैथिली नचारीसँगै तिजका गीत गुञ्जिन्छन्, तब पहाडले मधेसको आँगनमा आफ्नो सांस्कृतिक मिठास घोलिरहेको हुन्छ ।
यो सांस्कृतिक आदानप्रदान एकतर्फी छैन, बरु यो पारस्परिक सम्मान र अपनत्वको सुन्दर संगम हो । ‘एक देश, अनेक संस्कृति’को सांस्कृतिक संगमले राजनीतिक तहमा कहिलेकाहीँ देखिने अविश्वास र दूरीलाई मेटाउन महत्वपूर्ण भूमिका खेल्छ । राजनीतिक भाषण र नाराले गर्न नसकेको काम यस्ता सांस्कृतिक उत्सवहरूले चुपचाप गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस !