आसलाग्दो अर्थतन्त्र
पर्यटक आगमन वृद्धि गर्ने र आन्तरिक कच्चा पदार्थमा आधारित उत्पादनको निर्यातलाई प्रश्रय दिन सकियो भने समृद्धि केवल सपना हुन सक्दैन। साकार हुन्छ र नेपाल समृद्ध मुलुक बन्न सक्छ।
विश्व महामारीका रूपमा फैलिएको कोभिड—१९ पछि अर्थतन्त्र शिथिल बन्यो। नेपालको मात्रै होइन, विश्व अर्थतन्त्रमै मन्दी छायो। अब भने त्यो स्थितिमा केही बदलाब देखिएको छ। नेपाल राष्ट्र बैंकका पछिल्ला तथ्यांकहरूले उत्साह जगाउने आधार दिएका छन्। गत आवमा विदेशबाट नेपालीले पठाएको १७ खर्ब २३ अर्ब रुपैयाँ छ। यो अहिलेसम्मकै कीर्तिमान हो। त्यही आधारमा विदेशी मुद्राको सञ्चिति बढेको छ। २६ खर्ब ७७ अर्ब रुपैयाँले विदेशी मुद्रा सञ्चिति बलियो अवस्थामा छ। त्यति पैसाले मुलुकलाई आवश्यक १५ महिनाभन्दा बढीको आयात धान्न सकिन्छ। शोधनान्तर र चालु खाता ५ खर्बभन्दा बढीले बचत छ।
अर्थतन्त्रका बाह्य सूचक केही समययता बलियो सिद्ध हुँदै आएका थिए नै, सँगसँगै सूक्ष्म अर्थतन्त्र पनि उकालो लाग्दै गएको संकेत सूचकहरूले गरेका छन्। आर्थिक वृद्धिदर ३.६७ प्रतिशतबाट ४.६१ प्रतिशतमा उक्लिएको छ। ११ लाखभन्दा बढी पर्यटक मुलुक भित्रिएका छन््। ऊर्जा उत्पादन ३५ सय मेगावाट नाघेको छ। ऊर्जा भनेको उत्पादन र उद्योगका लागि आधारभूत आवश्यकता हो। पक्कै पनि ऊर्जा उत्पादनमा भएको वृद्धिले समग्र अर्थतन्त्रलाई बलियो टेवा दिन्छ। निर्यातमा ८१ प्रतिशतको ऐतिहासिक वृद्धि छ। तर, यसमा ख्याल गर्नुपर्ने कुरा चाहिँ आन्तरिक कच्चा पदार्थमा आधारित वस्तुको निर्यात वृद्धिमा ध्यान हो। हो, बैंकमा पैसा थुप्रिएको छ, र लगानी सोचेजस्तो बढेको छैन। ब्याजदर पनि कम छ। यो लगानीको अवसर हो। अब सरकारले लगानीको वातावरण बनाउने जिम्मेवारी अझै घनीभूत रूपले निर्वाह गर्नुपर्छ।
अहिलेको सबैभन्दा ठूलो चुनौती विश्वासको संकट हो। राजनीतिक स्थिरतासमेत भएको अवसरमा सरकारले त्यो विश्वास अझै बढाउन जरुरी छ। पहिलो त सरकारले राष्ट्रिय पूर्वाधारहरूको निर्माणलाई अझै तीव्रतासाथ अगाडि बढाउनुपर्छ। पुँजीगत खर्चको वृद्धिलाई थप रफ्तार दिनु आवश्यक छ। पुँजीगत खर्च बढाएर बजारमा माग सिर्जना गर्दा नै अर्थतन्त्र चलायमान हुने हो। ठूला पूर्वाधारले उत्पादनमा वृद्धि ल्याउन र रोजगारी सिर्जना गर्न मद्दत गर्छन्।
निर्यात व्यापारमा पनि नेपालले यसबीचमा कीर्तिमानी कायम गरिसकेको छ। आन्तरिक उत्पादन वृद्धि र विश्व बजारलाई पक्रने हिसाबमा जाँदा नै मुलुकको आर्थिक उन्नति हुने हो। पर्यटक आगमन वृद्धि गर्ने र आन्तरिक कच्चा पदार्थमा आधारित उत्पादनको निर्यातलाई प्रश्रय दिन सकियो भने समृद्धि केवल सपना हुन सक्दैन। साकार हुन्छ र नेपाल समृद्ध मुलुक बन्न सक्छ।
प्रतिक्रिया दिनुहोस !