संवैधानिक इजलासको फैसला

सजाय भुक्तान गरेपछि थप ६ वर्षसम्म मनाङेले चुनाव लड्न नपाउने

सजाय भुक्तान गरेपछि थप ६ वर्षसम्म मनाङेले चुनाव लड्न नपाउने
फाइल तस्बिर ।
सुन्नुहोस्

काठमाडौं : सर्वोच्च अदालतले ज्यान मार्ने उद्योग मुद्दामा दीपक मनाङे (राजीव गुरुङ) ले ५ वर्ष कैद सजाय पूरा भुक्तान गरिसकेपछि थप ६ वर्षसम्म कुनै पनि चुनावमा उम्मेदवार हुन नपाउने फैसला गरेको छ । 

सर्वोच्चको संवैधानिक इजलासले प्रदेशसभा सदस्यका रूपमा मनाङेलाई कानुनतः अयोग्य भएको ठहर गर्दै थप ६ वर्षसम्म कुनै पनि चुनावमा उम्मेदवार हुन नपाउने फैसला गरेको हो । सर्वोच्चले ज्यान मार्ने उद्योग मुद्दामा मनाङेलाई मिति २०८१ कात्तिक २० देखि नै प्रदेशसभा सदस्यका रूपमा कानुनतः अयोग्य देखिएको ठहर गरेको थियो । सर्वोच्चले गत असार ४ गते गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त हुने फैसला गरेको थियो । उक्त फैसलाको पूर्णपाठ सोमबार सार्वजनिक भएको छ । 

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र डा.कुमार चुडालको संवैधानिक इजलासले सजाय भुक्तान गरिसके पछि पनि थप ६ वर्षसम्म चुनाव लड्न नपाउने फैसला गरेको हो । ‘गुरुङले ज्यान मार्ने उद्योग मुद्दामा ५ वर्ष कैद सजाय पाएको सजाय पूरा भुक्तान गरिसकेपश्चात् थप ६ वर्षसम्म कुनै पनि निर्वाचनमा उम्मेदवार हुन अयोग्य रहने नै देखियो,’ फैसलाको पूर्णपाठमा भनिएको छ, ‘संवैधानिक र कानुनी प्रावधानबमोजिम उल्लेखित ज्यान मार्ने उद्योग मुद्दामा सर्वोच्च अदालतको अन्तिम फैसला भएको मिति २०८१ कात्तिक २० देखि नै मनाङे प्रदेशसभा सदस्यका रूपमा कानुनतः अयोग्य भएको देखियो ।’

२०७९ मंसिर ४ गते  भएको प्रदेशसभा निर्वाचनमा मनाङ जिल्लाको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं २ बाट स्वतन्त्र उम्मेदवारका रूपमा मनाङे निर्वाचित भएका थिए । अधिवक्ता वीरेन्द्रराज कार्कीले मनाङे उम्मेदवार हुन अयोग्य भएको दाबी गर्दै अयोग्य व्यक्ति निर्वाचित भएको हुँदा पदमुक्तको मागका साथ रिट निवेदन दायर गरेका थिए । 

२०६१ वैशाख ३१ गते चक्रे मिलन (मिलन गुरुङ) माथि ज्यान मार्ने उद्योग गरेको अभियोगमा मनाङेविरुद्ध मुद्दा दायर भएको थियो । जिल्ला अदालतबाट भएको फैसला केही उल्टी भई २०६९ साउन २८ मा पाँच वर्ष कैद सजाय ठहर भएको थियो । तत्कालीन पुनरावेदन अदालतको फैसलाउपर उनले २०७५ वैशाख २३ गते सर्वोच्चमा पुनरावेदन दर्ता गराएका थिए । सर्वोच्चले २०८१ कात्तिक २० गते तत्कालीन पुनरावेदन अदालत, पाटनबाट भएको ५ वर्ष कैदलाई नै सदर गरी फैसला गरेको थियो । 

सर्वोच्चले कानुनबमोजिम पुनरावेदन गरिएको मुद्दा विचाराधीन रहेकै अवस्थामा मनाङेलाई कैदी सरह मानेर निर्वाचनमा भाग लिने राजनीतिक अधिकारमा  संकुचन गर्नु न्याय संगत नहुने निष्कर्ष निकालेको छ । मनाङेले निर्वाचन दर्ता गर्दा र निर्वाचनको मतपरिणाम घोषणा हुँदाका बखत योग्यता नपुगेको भन्न नमिल्ने हुँदा निर्वाचन सुुरु भएदेखिको समग्र प्रक्रिया बदर घोषित गरिरहन नपर्ने फैसला गरेको छ । गुरुङले अझै २ वर्ष ४ महिना कैद सजाय भुक्तान गर्नुपर्ने भएको छ । त्यसपछि थप ६ वर्ष चुनाव लड्न पाउने छैनन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.