विद्यार्थी भिसामा दक्षिण कोरिया पुर्याएर बिल्लीबाठ
दक्षिण कोरिया : उज्ज्वल भविष्यको सपना बोकेर विद्यार्थी भिसामा तीन वर्षअघि दक्षिण कोरिया आएका पोखराका विशाल लिम्बू (नाम परिवर्तन) अहिले निकै चुनौतीपूर्ण अवस्थासँग जुधिरहेका छन् । अन्तर्राष्ट्रियस्तरको शिक्षा हासिल गरेर जीवनमा प्रगति गर्ने मीठो सपना बोकेर आएका उनी अहिले गैरकानुनी बसोबास र लुकिछिपी कामको तनावमा छन् । कन्सल्टेन्सीको धोकाकै कारण उनले विद्यार्थी भिसा गुमाउनु परेको छ । अहिले विशाल भिसारहित अवस्थामा छन् ।
कोरिया आउँदाको ऋण तिर्न उनले आफ्नो जीवन जोखिममा राखेका छन् । ‘मसँगै आएका तीन जना साथीको पनि भिसा थप भएन । हामी भिसा नभए पनि कोरियामा काम गरिरहेका छौं । लुकिछिपी काम गर्दा जतिबेला जे पनि हुनसक्छ, दुई जना साथीहरूलाई यहाँको इमिग्रेसनले काम गर्दै गरेको अवस्थामा पक्राउ गरेर नेपाल पठायो । सँगै आएकामध्ये हामी दुईजना अहिलेसम्म इमिग्रेसनको नजरबाट जोगिँदै आएका छौं’, उनले भने ।
‘विद्यालय जीवनमा सधैं प्रथम हुन्थें । कक्षा १२ मा पनि राम्रो नतिजा ल्याएँ । कोरियामा टेक्निकल विषय अध्ययन गर्ने र अध्ययन पूरा गरेर नामको अगाडि डाक्टर थप्ने ठूलो सपना थियो । तर, आज यो परिस्थिति बन्छ भन्ने कल्पनासमेत गरेको थिइनँ,’ उनले भावुक हुँदै भने, ‘यता आउँदा घरजग्गा धितो राखेर लिएको ऋण अझै बाँकी नै छ । ऋण नतिरी घर कसरी फर्कनू? त्यसैले भिसा नभए पनि यतै बसिरहेको छु । घरमा समेत यहाँको यथार्थबारे भन्न सकेको छैन ।’
विशालले आफू अध्ययनका लागि आउन लागेको कलेजबारे पहिला केही बुझ्ने प्रयास नै गरेनन् । कन्सल्टेन्सीले उनलाई डी ४ भिसामा शैक्षिक गुणस्तर मान्यता प्राप्त नभएको कलेजमा पठाएको रहेछ । जसका कारण भिसाले निरन्तरता पाउन नसकेको उनी बताउँछन् । ‘भाषा अध्ययन सकिएपछि डी ४ बाट डी २ मा जानुपर्ने भयो । तर, डी २ मा जान समस्या भयो । त्यतिबेला मैले आफूलाई पठाउने कन्सल्टेन्सीलाई मेरो अवस्थाबारे सम्पूर्ण जानकारी गराएको थिएँ । तर, कन्सल्टेन्सीले कुनै सहयोग गरेन,’ उनले भने ।
कन्सल्टेन्सीले विशालसँग जम्मा १७ लाख रुपैयाँ लिएको थियो । जसमा कोरियाको कलेजमा एक वर्षको शुल्क बुझाउने भनिएको थियो । तर, विशाल कोरिया आएपछि मात्रै थाहा पाए उनले अध्ययन गर्ने कलेजमा भाषा कक्षाको अवधि ६ महिनाको मात्रै रहेछ । आफूसँग ६ महिनाको कोर्सका लागि एक वर्षको शुल्क लिइएको थाहा पाएपछि उनले बाँकी पैसा फिर्ता मागे । तर, कन्सल्टेन्सीले एउटै कोर्स हो, कलेजले चाँडै पढाएको हुनुपर्छ, पैसा त हामीले कलेजमा बुझाइसक्यौं भन्ने जवाफ दियो ।
अर्का विद्यार्थी मोहन तिमल्सिना (नाम परिवर्तन) आफू पनि कन्सल्टेन्सीकै धोकामा परेको गुनासो गर्छन् । ‘हामी त एउटै कन्सल्टेन्सीबाट एकैपटक कोरियाको कलेजमा १ सय १५ जना आएका थियौं । ‘एआई विषय अध्ययनका लागि भनेर आएको थिएँ, यहाँ आएपछि तेक्वान्दोको तालिममा सहभागी गराइयो । एआईको राम्रो कोर्स पढ्न पाइन्छ भनेर १९ लाख तिरेर आएँ, यहाँ मैले भनेको विषय अध्यापन नै हुँदो रहेनछ । कन्सल्टेन्सीलाई जानकारी गराउँदा, भिसा लाग्यो नि होइन, कमाउनै गएको हो, विषय जेसुकै होस् न अब खुरुखुरु पैसा कमाउने, ज्यान बनाउने, कुरा बुझ्यौ नि ? भनेर जवाफ दियो,’ उनले भने ।
गाउँको कलेज भएकाले वरपर कामको अवसर पनि कम भएका कारण आउनासाथ पाँच महिना कामविहीन अवस्थामा बस्नु परेको र अहिले चाहिँ अलिअलि काम गर्न थालेको उनी बताउँछन् ।‘भाषा राम्रो तयारी नगरी आउँदा विद्यार्थीले काम पाउने सम्भावना निकै न्यून हुने रहेछ । हामीले नेपालमा भाषा राम्रो तयारी गरेका थिएनौं । हामी कलेजमा पनि सबै जना नेपालीमात्रै थियौं । हामीलाई पढाउने शिक्षक पनि नेपाली नै हुनुहुन्थ्यो । सुरुसुरुमा त रमाइलो लागेको थियो । तर, नेपालीमै पढाउने भएकाले कोरियन भाषा सिक्न निकै अप्ठेरो भयो ।’ उनले भने ।
गत साता कलेज सकेर हतारिँदै कामका लागि पुगेकी मीना आचार्य (नाम परिवर्तन) निराश भएर आफ्नो कोठामा फर्किइन् । कोरिया आएको दुई महिनापछि उनले होटलमा भाँडा माझ्ने काम पाएकी थिइन् । तर, दुई, तीन दिन काम गरेपछि उनको कोरियन भाषा राम्रो नभएको भन्दै उनलाई होटलले कामबाट हटायो । अहिले मीना तनावमा छिन् । उनी काम खोजिदिन कोरियामा रहेका नेपाली समुदायसँग सहयोगको याचना गरिरहेकी छिन् ।
कोरियाको वास्तविकता
दक्षिण कोरियामा अध्ययनरत नेपाली विद्यार्थीको अवस्था दिनप्रतिदिन जटिल बन्दै गएको छ । अन्तर्राष्ट्रिय स्तरको शिक्षा, आकर्षक कमाइ र उज्ज्वल भविष्यको सपना बोकेर तय गरिएको कोरियाको यात्राले अहिले धेरै नेपाली विद्यार्थीलाई कठोर यथार्थतर्फ धकेलेको छ ।
विशेषगरी नेपालका कतिपय कन्सल्टेन्सीले विद्यार्थीलाई झुटो आश्वासन र अनेक प्रलोभन देखाएर अव्यवस्थित तरिकाले कोरिया पठाउँदै आएका छन् । जसले गर्दा विद्यार्थीले आर्थिक एवं मानसिक दबाब र निकै कठिन परिस्थितिको सामना गर्नु परिरहेको छ । ऋणको ठूलो भारी बोकेर कोरिया आएका विद्यार्थीले सुरुदेखि नै रोजगारीलाई बढी प्राथमिकता दिने र स्टडी आवर कम भएका विश्वविद्यालयमा भर्ना हुने गरेका छन् । जसका कारण अध्ययनको निरन्तरतामा समस्या आउने गरेको छ । त्यस्तै काम पाउन नसक्नेहरू मानसिक समस्याको सिकार बनिरहेका छन् ।
डी ४ र डी २ भिसामा अन्डरग्र्याजुएटका लागि कोरिया आएका विद्यार्थीले विभिन्न प्रकारका समस्याहरूको सामना गर्नुपरिरहेको कोरियास्थित नेपाली राजदूतावासले जनाएको छ । डी २ भिसामा विद्यार्थीहरू कोरिया पुगेपछि सिधै आफूले पढ्न चाहेको विश्वविद्यालयमा भर्ना हुन पाउँछन् । तर, डी ४ भिसा आएका विद्यार्थीले भने ६ महिना वा एक वर्षको अवधि कोरियन भाषाको अध्ययन गर्नुपर्ने हुन्छ । त्यसपछि मात्रै विश्वविद्यालयमा भर्ना हुन पाउँछन् । यी दुवै प्रकारका भिसामा आएका विद्यार्थीले यहाँ काम पाउन कोरियन भाषा अनिवार्य जान्नुपर्ने हुन्छ । भाषाको राम्रो ज्ञान नहुँदा काम नपाउने, पाइहाले पनि कार्यस्थलमा भाषाका कारण समस्यामा पर्नु परेको विद्यार्थीहरू बताउँछन् ।
विद्यार्थीले कामका लागि अनुमति लिनुपर्छ । आफू अध्ययन गर्ने शैक्षिक संस्थाको स्तर र आफूले प्राप्त गरेको नतिजाको आधारमा २० देखि ३५ घण्टासम्म मात्रै हप्तामा काम गर्न पाइन्छ । कन्सल्टेन्सीहरूले अवैधानिक रूपमा भए पनि काम गर्न पाइने भन्दै आश्वासन बाँड्ने गरेको र यहाँ आएपछि सोचेअनुसार काम नहुँदा विद्यार्थीहरू आर्थिक एवं मानसिक दबाबमा पर्ने गरेको दूतावासले जनाएको छ ।
डी ४ भिसामा कोरिया आएका विद्यार्थीले ६ महिनादेखि एक वर्षसम्म कोरियन भाषा पढेर डी ४ बाट डी २ भिसामा जानका लागि अर्को विश्वविद्यालयमा आवेदन दिँदा ती विश्वविद्यालयहरू कोरियन सरकारको कालोसूचीमा परेको हुने, क्रेडिट आवर कम भएका विश्वविद्यालय हुने गरेको
पाइएको छ ।
कन्सल्टेन्सीहरूले डी ४ भिसामा कोरिया पठाएका विद्यार्थीहरूलाई भाषा अध्ययन सकिएपछि डी २ भिसामा कुन विश्वविद्यालयमा भर्ना हुने भन्ने नेपालबाटै सुनिश्चित नगरी पठाउँदा विद्यार्थीले समस्या भोग्नु परेको हो । डी ४ भिसाका नाममा अत्यधिक रकम असुली गर्ने एउटै कामको लागि ४ पटकसम्म पैसा उठाउने, कोरियामा भएका एजेन्टमार्फत कोठा र काम खोजिदिनेलगायतका विभिन्न बहानामा कन्सल्टेन्सीहरूले लुटधन्दा नै
चलाउने गरेको तर यहाँ आएपछि कन्सल्टेन्सीले भनेजस्तो अवस्था नरहेको सहयोग माग्दा सहयोग नगरेको भन्दै दैनिकजसो विद्यार्थीले राजदूतावासमा गुनासो गर्ने गरेका छन् ।
कोरियाली नागरिकहरू आफ्नो भाषा र संस्कृतिलाई निकै महŒव दिन्छन् । अंग्रेजी भाषा धेरैले नबुझ्ने र बुझ्नेहरू पनि सकेसम्म कोरियन भाषामै बोल्न रुचाउँछन् । जसले गर्दा कोरियन भाषा राम्रोसँग अध्ययन नगरी आएका विद्यार्थीले भाषाकै कारण समस्यामा पर्ने गरेका छन् । छात्रवृत्ति नपाएका विद्यार्थीहरूले महँगो शिक्षण शुल्क, कोठा भाडा, यातायात, राशनपानीको लागि खर्च व्यवस्थापन गर्नुपर्ने हुनछ । कोरियामा आफ्नो व्यवस्थापन र कोरिया आउँदा लिएको ऋण चुक्ता गर्न विद्यार्थीले निकै कठिन परिस्थितिको सामना गर्नुपर्ने हुन्छ । त्यसैले केही विद्यार्थीहरू मानसिक तनावमा पर्ने तथा अध्ययनलाई छाडेर गैरकानुनी रूपमा बसोबास गरी लुकिछिपी काम गर्नेको संख्या पनि बढ्दै गएको छ ।
कोरियामा खानपानमा धेरैजसो मासुका परिकार हुने भएकाले शाकाहारीहरूलाई केही कठिनता महसुस हुने गरेको छ । बिरामी परेमा स्वास्थ्य सेवा महँगो भएका कारण विद्यार्थीलाई आर्थिक भार थपिने गरेको छ ।
लिभिङ टुगेदरले समस्या निम्त्याउँदै
अन्डरग्र्याजुएटका लागि आएका अधिकांश विद्यार्थीहरू १८÷२० वर्ष उमेर समूहका हुन्छन् । लाखौं तिरेर पढ्न आएका उनीहरूमाथि पढाइसँगै ठूलो आर्थिक जिम्मेवारी हुन्छ । कन्सल्टेन्सीले भनेजस्तो यहाँ अवस्था नबन्दा उनीहरू आर्थिक अभावमा पर्ने र खर्च बचाउनका लागि लिभिङ टुगेदरमा बस्ने गरेको पाइएको छ ।
कोरियामा आफन्त वा नजिकको मानिस नभएका विद्यार्थीमा यहाँ आएपछि नयाँ ठाउँ, फरक परिवेश, भाषा र सांस्कृतिक विविधताका कारण साथीसँग मिलेर बस्दा केही सहज हुने मानसिकता हुने गरेको पाइएको छ । विदेशमा परिवारसँगै नहुने भएकाले एक्लोपना नहोस् भन्नका लागि पनि उनीहरू लिभिङ टुगेदरमा बस्ने गरेका छन् ।
नेपालकै कन्सल्टेन्सीले पनि विद्यार्थीलाई लिभिङ टुगेदरमा बस्न सल्लाह दिने गरेका छन् । तर, केही समयपछि शारीरिक रूपमा शोषणमा परेको भनी राजदूतावासमा गुनासो गर्ने, जोसँग लिभिङ टुगेदरमा बसेको हो, त्यो व्यक्तिले ब्ल्याकमेलिङ गरेर पैसा माग्ने र नदिएमा प्रहरी केस गर्ने धम्की दिनेजस्ता कार्यसमेत हुने गरेको दूतावासले जनाएको छ । त्यस्तै आपसी झगडा, असमझदारी र सम्बन्ध बिग्रिँदा मानसिक तनाव एवं आत्महत्याका घटना घट्ने गरेका छन् । यसले सम्बन्धित विद्यार्थीलाई मात्रै नभई अन्य भिसामा कोरियामा रहेका नेपालीहरूलाई समेत शारीरिक एवं मानसिक असर पर्ने गरेको छ ।
नेपाली विद्यार्थीको संख्या बढ्दै
१४/१५ वर्षअघिसम्म नेपालबाट दक्षिण कोरियामा अध्ययनका लागि आउने विद्यार्थीको संख्या औंलामा गन्न सकिने थियो । अहिले कोरियामा १३ हजार ७ सयभन्दा बढी नेपाली विद्यार्थीहरू रहेको राजदूतावासको अभिलेख छ । २०७४ सालको तथ्यांक हेर्दा कोरियामा नेपाली विद्यार्थीको संख्या ९०० को हाराहारी देखिन्छ । २०७५ सालमा विद्यार्थीको संख्यामा वृद्धि भई ३ हजार ५ सय पुगेको थियो ।
- अन्तर्राष्ट्रिय स्तरको शिक्षा, आकर्षक कमाइ र उज्ज्वल भविष्यको सपना बोकेर तय गरिएको कोरिया यात्रा अहिले धेरै नेपाली विद्यार्थीलाई कठोर यथार्थतर्फ धकेलेको छ।
- कोरियामा भएका एजेन्टमार्फत कोठा र काम खोजिदिनेलगायतका विभिन्न बहानामा कन्सल्टेन्सीहरूले लुटधन्दा नै चलाउने गरेका छन्।
- विश्वविद्यालय तथा उच्च शिक्षा प्रदायक शिक्षण संस्थाहरूलाई गुणस्तर प्रत्यायन सुनिश्चितता (क्यूएए) प्रदान गर्ने विधि तथा प्रक्रियाहरूबारे पनि विद्यार्थीहरू जानकार हुनुपर्दछ।
त्यस्तै, २०८१ मा नेपाली विद्यार्थीको संख्या बढेर ६ हजार ५ सय पुग्यो भने २०८२ असार महिनासम्मको तथ्यांक हेर्दा कोरियामा विद्यार्थीको संख्या १३ हजार ७ सय पुगेको छ । जसमध्ये अधिकांश डी ४ र डी २ भिसामा छन् । पछिल्लो दुई वर्षमा कोरिया आउने विद्यार्थीको संख्या ह्वात्तै बढेको छ । विद्यार्थीको संख्या बढ्नुमा कन्सल्टेन्सीहरूको झुटो प्रचार र प्रलोभन मुख्य कारणको रूपमा देखिएको छ ।
१४८ को मृत्यु, आत्महत्याका घटना पनि बढ्दै
कोरियामा पछिल्लो ७ वर्षमा १ सय ४८ जना नेपालीको मृत्यु भएको छ । सन् २०१९ यता उक्त संख्यामा नेपालीहरूको मृत्यु भएको नेपाली राजदूतावासले जनाएको छ । सोही अवधिमा ३७ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेहरूमा ईपीएस प्रणालीबाट आएका श्रमिक र विद्यार्थीहरूको संख्या बढी छ । सन् २०१९ मा ३ जना, २०२० मा ७ जना, २०२१ मा २ जना, २०२२ मा ८ जना, २०२३ मा ५ जना, २०२४ मा ७ जना र २०२५ मा ५ जनाले आत्महत्या गरेको दूतावासको अभिलेख छ । काम तथा पढाइको बोझले मानसिक तनाव उत्पन्न हँुदा आत्महत्या गर्नेको संख्या बढ्दै गएको पाइन्छ । त्यस्तै लाखौं कमाउने सोचले कोरिया आएका नेपालीहरू यहाँ अपेक्षाकृत आम्दानी नहुँदा मानसिक समस्याको सिकार बन्ने तथा आत्महत्याको बाटो रोज्ने गरेको पाइन्छ ।
नेपालमा काम गर्ने बानी नभएका तर कोरियामा पुगेर अति संवेदनशील क्षेत्रमा काम गर्नुपर्दा पनि समस्या भएको जानकारहरू बताउँछन् । भाषा, संस्कृति तथा खानपान आफू सुहाउँदो नहँुदा सहकर्मी तथा रोजगारदाताको दुव्र्यवहारका कारण पनि मानसिक समस्या सिर्जना हुने गरेको छ ।
के गर्दैछ राजदूतावास ?
कोरियामा रहेका नेपालीहरूको समस्याको समाधान गर्न नेपाली राजदूतावासले सक्रिय ढंगबाट काम गर्दै आएको दूतावासका द्वितीय सचिव जेनिम अधिकारी बताउँछन् ।
विशेषगरी विद्यार्थीको समस्या बढ्दै गएको र दैनिकजसो राजदूतावासमा विद्यार्थीले गुनासो गर्ने गरेको उनले बताए । दूतावासले विद्यार्थीको गुनासो सुन्ने, समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने कार्य गर्दै आइरहेको उनको भनाइ छ ।
उनले कोरिया आउनुपूर्व अनिवार्य भाषा अध्ययन गरेर आउन विद्यार्थीलाई सुझाव दिए । आउनुपूर्व विद्यार्थी र अभिभावकले पनि कलेजको शैक्षिक गुणस्तर कस्तो छ, आफूले पढ्न खाजेको विषय त्यहाँ छ कि छैन ? शुल्क कति लाग्छ ? आदि विषयमा जानकारी लिने प्रयास गर्दा ठगिनबाट बच्न सकिने सुझाव दिए ।
राजदूतावासले यहाँ रहेका नेपालीहरूको शारीरिक एवं स्वास्थ्य समस्याको समाधान गर्नका लागि मनोसामाजिक एवं स्वास्थ्य परामर्श कार्यक्रम ‘सुनौं सिकौं’ सञ्चालन गरिरहेको उनले बताए ।
समस्यामा परेर नेपाल फर्कन चाहनेहरूलाई अवस्था हेरेर दूतावासबाट टिकट खर्चको व्यवस्थापन तथा बिरामी भएर अस्पताल भर्ना भएकाहरूलाई आर्थिक सहयोगसमेत उपलब्ध गराउँदै आएको उनले बताए । ‘हामी विदेशमा छौं, यहाँ हाम्रा दाजुभाइ, दिदीबहिनीहरूले कुनै किसिमको समस्या महसुस गर्न नपरोस्, भनेर हामीले काम गरिरहेका छौं । सकेसम्म घुम्ती शिविरमार्फत दूतावासको सेवा हामीले सेवाग्राहीसमक्ष नै पुर्याउने प्रयास गरिरहेका छौं ।’ उनले भने ।
हामीसँग सीमित जनशक्ति र स्रोतसाधन छ । त्यसलाई भरपूर सदुपयोग गरेर अधिकतम सेवा दिने प्रयास गरिरहेका छौं । उनले श्रमिकहरूको सुरक्षाका लागि गम्भीर बन्न कोरिया सरकारलाई राजदूतावासबाट आग्रह गर्नुको साथै श्रमिकसँग अन्तरक्रिया गरेर समस्या पहिचान गरी समाधान गरिँदै आएको उल्लेख गरे ।
विश्वविद्यालय कसरी छनोट गर्ने ?
दक्षिण कोरियामा विश्वविद्यालय तथा उच्च शिक्षाप्रदायक शिक्षण संस्थाहरूलाई विभिन्न निकायहरूले शैक्षिण गुणस्तर मान्यता प्रदान गर्दछ । चारवर्षे ब्याचलर्स डिग्री अध्यापन हुने विश्वविद्यालयलाई कोरियन काउन्सिल फर युनिभर्सिटी एजुकेसन (केसीयूसी) अन्तर्गतको कोरियन युनिभर्सिटी एक्रिडिएसन इन्स्टिच्युट (केयूएआई) ले शैक्षिक गुणस्तर मान्यता प्रदान गर्ने गर्दछ । यो प्रत्येक पाँच वर्षमा रिन्यु हुने व्यवस्था छ ।
त्यस्तै, दुई वा तीनवर्षे शैक्षिक कार्यक्रम भएका कलेजहरूलाई कोरिया एक्रिडिएसन बोर्ड फर भोकेसनल हाइगर एजुकेसन (केएभीई) ले मान्यता प्रदान गर्दछ ।
विश्वविद्यालय तथा उच्च शिक्षा प्रदायक शिक्षण संस्थाहरूलाई गुणस्तर प्रत्यायन सुनिश्चितता (क्यूएए) प्रदान गर्ने विधि तथा प्रक्रियाहरूबारे पनि विद्यार्थीहरू जानकार हुनुपर्दछ । यसको प्रक्रियाहरूमा सर्वप्रथम विज्ञहरूले विश्वविद्यालय तथा शिक्षण संस्था भ्रमण गरेर शिक्षक मण्डल, कर्मचारी, विद्यार्थी, व्यवस्थापकीय समूहसँग जानकारी लिन्छन् । भौतिक पूर्वाधार तथा शैक्षिक प्रणालीको प्रत्यक्ष अवलोकन पनि गर्दछन् । यी सबै प्रक्रिया पूरा भइसकेपछि मूल्यांकन प्रतिवेदन तयार गरिन्छ । मूल्यांकनका आधारमा अंक प्रदान गरिन्छ र सुधार गर्नुपर्ने क्षेत्रमा सुधारका लागि आग्रह गरिन्छ ।
उत्कृष्ट अंक प्राप्त गर्ने विश्वविद्यालयलाई पाँच वर्षको फुल एक्रिडिएसन र प्रत्येक पाँच वर्षमा रिन्यु गर्नेगरी मान्यता दिइन्छ । त्यस्तै कम अंक प्राप्त गर्ने विश्वविद्यालयलाई कन्डिसनल एक्रिडिएन भनेर दुई वर्षको लागि मान्यता दिइन्छ ।
विशेषगरी विश्वविद्यालयको भौतिक अवस्था, विद्यार्थीले प्राप्त गरेको सुविधा, क्रेडिट आवर, विद्यार्थीको संख्यालगायतका मापदण्ड नपुर्याएका विश्वविद्यालयले यस्तो मान्यता पाउँछन् । तोकिएको मापदण्ड दुई वर्षभित्रमा पूरा नगर्ने विश्वविद्यालयहरू पूर्ण रूपमा बन्द हुन्छन् । त्यसैले मापदण्ड पुर्याउनका लागि दुई वर्षको मात्रै मान्यता पाएका विश्वविद्यालयहरूले विदेशी विद्यार्थी ल्याउन केही लचकता अपनाउने गरेका छन् ।
नेपालका कन्सल्टेन्सीहरूले यस्तै विश्वविद्यालयहरूमा धेरै संख्यामा विद्यार्थी पठाउने गरेका छन् । अधिकांश विद्यार्थीले विश्वविद्यालयको अवस्था र त्यसको र्याङकङको बारेमा कन्सल्टेन्सीले झुटो विवरण दिएको र अन्तिम अवस्थामा यी विश्वविद्यालयमा गएमात्रै भिसा लाग्छ भनेर त्रास देखाउने गरेको दूतावासमा आएर गुनासो गर्ने गरेका छन् । विद्यार्थीले आफू आउन लागेको विश्वविद्यालयको अवस्था, त्यसले शैक्षिक गुणस्तर मान्यता पाएको छ कि छैन ? , आफूले पढ्न चाहेको विषय त्यहाँ छ कि छैन आदि विषयमा जानकारी लिनु आवश्यक देखिन्छ ।
विद्यार्थीको हितमा लागिपरेका छौं : अध्यक्ष सुवाल
दक्षिण कोरियामा नेपाली विद्यार्थी समाज (सोनसिक) नामक संस्था छ । सन् २०१५ मा कोरियामा आधिकारिक रूपमा दर्ता भएको यो संस्थाले नेपाली विद्यार्थीको हितका लागि काम गर्दै आइरहेको छ ।
अधिकांश डी ४ भिसामा आएका विद्यार्थीहरू ६ महिना भाषा पढिसकेपछि डी २ भिसामा जानुपर्ने हुन्छ । विद्यार्थीलाई विश्वविद्यालय परिवर्तन गर्नका लागि, एआरसी प्राप्त गर्नका लागि सोनसिकले आवश्यक सहयोग गर्दै आइरहेको अध्यक्ष किरण सुवालले जानकारी दिए ।
यसरी ठगिन्छन् विद्यार्थी
कन्सल्टेन्सीहरूले विद्यार्थीसँग विभिन्न बहानामा पैसा असुल्दै आएका छन् । भिसा आवेदनका लागि नक्कली बैंक स्टेटमेन्ट, नक्कली डकुमेन्टमात्रै नभई विभिन्न सरकारी निकायको छापसमेत नक्कली बनाएर विद्यार्थीको कागजपत्र बनाइदिन्छन् । यसरी कागजपत्र बनाएबापत कन्सल्टेन्सीले विद्यार्थीसँग चर्को शुल्क लिने गरेका छन् ।
त्यस्तै, नेपालस्थित दक्षिण कोरियाली दूतावासमा डकुमेन्ट भेरिफिकेसन र भिसा आवेदनका लागि डेट लिनुपर्ने हुन्छ । डेट बुक गरिदिन्छौं भन्दै कन्सल्टेन्सीले बेग्लै शुल्क लिने गरेको विद्यार्थीको गुनासो छ ।
ग्रुप भेरिफिकेसन, होस्टल फि, म्यानेजमेन्ट फि, विद्यालय एजेन्ट फिजस्ता नाममा ३ देखि ६ लाखसम्म लिने गरेको पाइएको छ । कोरियाको कलेजमा बुझाउन विद्यार्थीसँग १० देखि १५ लाख रुपैयाँ लिने गरिएको छ । कलेज र विषयअनुसार फि केही महँगो तथा सस्तो भए पनि कन्सल्टेन्सीले लाग्ने रकमभन्दा दूई गुणा रकम लिने गरेको विद्यार्थीको गुनासो छ । यसरी कन्सल्टेन्सीहरूले एक जना विद्यार्थी कोरिया पठाउँदा १५ देखि २२ लाखसम्म लिने गरेका छन् ।
सामाजिक सञ्जालहरूमा कन्सल्टेन्सीहरूको ‘४ लाखमै कोरिया’, ‘नो आईईएलटीएस नो पीटिई अब सिधै कोरिया’, ‘१० वर्षसम्मको ग्याप छ चिन्ता नलिनुहोस् हामी लिन्छौं भिसाको ग्यारेन्टी’, ‘महिनामा ४ लाख आम्दानी अब जाने होइन त कोरिया ? ’, ‘भाषा पढ्नु भएको छैन नो ओरी’, आदि उल्लेख गरिएको प्रचार सामग्री छरपष्ट छन् ।
केही कन्सल्टेन्सीहरूले भिसा कन्फर्म हुने प्रलोभन देखाएर चर्को शुल्क बुझिलिने र खाली कागजमा विद्यार्थीलाई सही छाप गराउने गरेको रहस्यसमेत बाहिरिएको छ । कन्सल्टेन्सीहरूले विद्यार्थीबाट केही रकम बैंकिङ प्रणालीबाट र केही नगद नै बुझ्ने गरेको पाइएको छ ।
प्रतिक्रिया दिनुहोस !