पश्चिम सेतीमा अल्झ्यो नि:शुल्क बिजुलीको मुद्दा

पश्चिम सेतीमा अल्झ्यो नि:शुल्क बिजुलीको मुद्दा

काठमाडौं : पश्चिम सेती जलविद्युत् आयोजनाको विद्युत् विकास सम्झौता (पीडीए) को मस्यौदा तयारी सुरु भएको छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको अध्यक्षतामा पीडीए मस्यौदा तयारीका लागि वार्ता समिति गठन गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बोर्डको ६५औं बैठकले पीडीएको मस्यौदा तयारी एवं वित्तीय ढाँचालगायत विषयमा विकासकर्तासँग छलफल गरी बोर्डमा प्रस्ताव पेस गर्न यो समिति गठन गरिएको हो ।

समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव, अर्थ मन्त्रालयका सहसचिव, ऊर्जा मन्त्रालयका सहसचिव, कानुन मन्त्रालयका सहसचिव, विद्युत् विकास विभागका महानिर्देशक, बोर्डको प्राविधिक सहसचिव र नेपाल विद्युत् प्राधिकरणको उपकार्यकारी निर्देशक सदस्य तथा बोर्डका सिनियर डिभिजनल इन्जिनियर (हाइड्रोपावर तर्फका) सदस्य सचिव छन् । समितिले आयोजनाको वित्तीय ढाँचामा भइरहेको मतभेदमा एकरूपता ल्याउने र पीडीए तयार गर्ने जिम्मेवारी पाएको बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्याय बताउँछन् ।

पश्चिम सेतीमा भारतीय कम्पनी र सरकारबीच मत बाझिएको पक्ष भनेको २१ प्रतिशत नि : शुल्क विद्युत्को विषय हो । कम्पनीले २१ प्रतिशत नि : शुल्क विद्युत् दिन नसक्ने भनिरहेको छ भने कम्पनीसँग बोर्डले गरेको आयोजना विकास अनुमति सम्झौतामा २१ प्रतिशत नि : शुल्क बिजुली दिने सर्त राखिएको छ । गत माघमा नै विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) बुझाए पनि उक्त विषयमा सहमति हुन नसक्दा आयोजनाको पीडीए अघि बढ्न सकिरहेको छैन ।

२०७९ भदौमा लगानी बोर्ड र भारतको नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड (एनएचपीसी)सँग पश्चिम सेती जलविद्युत् आयोजना विकासका लागि सम्झौता भएको थियो । एनएचपीसीलाई पश्चिम सेती (७५० मेगावाट) सँगै सेती रिभर (एसआर–६ ४५० मेगावाट) विकास एवं अध्ययनको जिम्मेवारी दिइएको थियो । उक्त सम्झौतामा २६२ मेगावाट (कुल जडित क्षमताको २१.९ प्रतिशत) विद्युत् नेपालले नि : शुल्क प्राप्त गर्ने गरी भारतीय कम्पनीलाई निर्माण गर्न दिने निर्णय गरिएको थियो ।

यसअघि अन्य भारतीय कम्पनीले नेपालमा निर्माण गरिरहेका अरुण तेस्रो आयोजना र माथिल्लो कर्णाली आयोजना दुवैले २१ प्रतिशत नै नि : शुल्क बिजुली नेपाललाई दिने भनिएको छ । त्यसलाई नै आधार मानेर पश्चिम सेतीमा पनि २१ प्रतिशत नि : शुल्क बिजुलीमा दुवै पक्षबीच सम्झौता भयो । तर, जलाशययुक्त बन्ने योजनाको लागत महँगो हुने भएकाले २१ प्रतिशत बिजुली दिन नसकिने जिकिर निर्माण कम्पनीको हो,’ बोर्डका प्रवक्ता उपाध्यायले भने, ‘सम्झौता गर्दा २१ प्रतिशत नि : शुल्क विद्युत् दिने भन्ने प्रावधान छ । त्यसको अर्को बुँदामा प्रोजेक्ट फिजिबल नभए दुवै पक्षले फिजिबल बनाउन पहल गर्ने भन्ने छ । जलाशययुक्त आयोजना महँगो हुन्छ । उनीहरूले लागत अनुमान गरेका छन् । उत्पादन लागत पनि निकालेका छन् । २१ प्रतिशत नै दिने भन्ने फिजिबल नहुन पनि सक्छ ।’ आयोजनालाई सम्भव बनाउन दुवै पक्षले छलफल गर्न जरुरी रहेको प्रवक्ता उपाध्यायले बताए ।

२०७९ कात्तिकमा बोर्डले एनएचपीसीलाई पश्चिम सेती परियोजनाको सर्वेक्षण अनुमति जारी ग¥यो र प्रारम्भिक प्रतिवेदन ३ महिनामा पेस गर्न भनियो । कम्पनीले सोही वर्षको माघमा नै प्रारम्भिक प्रतिवेदन बुझाएको थियो । ०८१ असारमा विस्तुत अध्ययन प्रतिवेदन (डीपीआर) को मस्यौदा तयार गरेको कम्पनीले सोही वर्षको माघमा नै अन्तिम प्रतिवेदन बोर्डमा पेस ग¥यो । अन्तिम प्रतिवेदनले ७५० मेगावाटको आयोजनालाई ८०० मेगावाट बनाउने र जलाशययुक्त बनाउने भनेको बोर्ड बताउँछ । अहिले आयोजनाको लागत मूल्यवृद्धिसहित करिब २ खर्ब रुपैयाँ अनुमान गरिएको छ । आयोजना निर्माणको समय ५ वर्ष ११ महिना प्रस्ताव गरिएको छ । ‘लागत र नेपालले नि : शुल्क पाउने विद्युत्को मात्रामा सहमति जुट्न सकेको छैन । प्राविधिक हिसाबले भने आयोजना अघि बढ्न कुनै समस्या छैन । वार्ता समितिले पीडीए मस्यौदा गर्दा यी विषयहरूमा छलफल गरेर सहमति गर्छ,’ बोर्ड प्रवक्ता उपाध्यायले भने ।

कम्पनीले डीपीआर अध्ययन गर्दा नदी प्रवाहमा आधारित, अर्धजलाशययुक्त र जलाशययुुक्त आयोजना गर्दा के–के हुन्छ भनेर भिन्नाभिन्नै अध्ययन गरी जलाशययुक्तमा जाने निक्र्यौल गरेको हो । जलाशययुक्त बनाउँदा लागत बढ्छ, लागत बढी भयो भने विद्युत्को मुल्य पनि महँगो हुन्छ । लागत कम भयो उत्पादन लागत कम हुँदै बिजुलीको मूल्य पनि कम हुन्छ ।

एनएचपीसीले बिजुली बेच्ने भनेको नेपाल कि भारतमा हो । ‘भारतमा पनि निश्चित मूल्यभन्दा बढीमा बिक्दैन । यी सबै विषयमा उक्त समितिले छलफल गर्छ । नि : शुल्क बिजुली कति दिन सक्छ, कहाँ–कहाँ बेच्न सकिन्छ जस्ता विषयहरूमा छलफल गर्छ,’ उपाध्यायले बताए । उनका अनुसार डीपीआर बुझाएपछि पनि यस विषयमा अनौपचारिक छलफल भइरहेका छन्, यसलाई औपचारिकता दिन र आयोजनाको काम अघि बढाउन यो समितिले काम गर्छ । अब असहमतिका विषयहरू टुंगिँदै जान्छन् । पश्चिम सेतीको विषय टुंगो लगाएपछि एसआर–६ आयोजना अघि बढाउने बोर्ड बताउँछ ।

२०७८ असार ८ गते बसेको लगानी बोर्डको ४७औं बैठकले पश्चिम सेती र एसआर–६ जलविद्युत् परियोजनाको विकास तथा लगानीको खाका तयार गर्न अध्ययन गरी बोर्डसमक्ष सिफारिस गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा एक समिति गठन गरेको थियो । उक्त समितिले करिब आठ महिना लगाएर बोर्ड समक्ष प्रतिवेदन पेस गरेको थियो । उक्त अध्ययन समितिले आयोजना डिजाइन कसरी गर्ने, हिजोको अनुभव (आयोजना विकासकर्तासँगको एकता किन सफल भएन), बजारको अवस्था, पश्चिम सेती र पश्चिमसेती ६ आयोजना जोडेर दिन ठीक कि नदिन ठीक, स्रोतको परिचालन कसरी गर्ने, कुन मोडालिटीमा गर्ने जस्ता विषयमा अध्ययन गरेको थियो ।

परियोजना विकासकर्ताले जसरी चाहन्छ त्यसरी नै बनाउन दिनुपर्छ भन्ने निष्कर्ष अध्ययनको थियो । उक्त प्रतिवेदनले आयोजनालाई अनुकूलन अवस्थामा अघि बढाउन सुझाव दिएको थियो । पश्चिम सेती आयोजना ५५० मेगावाटको जलाशययुक्त आयोजनाको परिकल्पना भए पनि पछिल्लो दिनमा आएर आठ सय मेगावाट बनाउने भनिएको छ । जलाशयुक्त बनाउँदा आठ घण्टाको स्टोरेज हुने र अर्धजलाशययुक्त बनाउँदा चार घण्टाको स्टोरेज क्षमता हुने अध्ययनले देखाएको छ । यो भनेको सुक्खायामको समयमा हुने स्टारेज (भण्डारण)को क्षमता हो । तर, जलाशययुक्त बनाउँदा माथिल्लो बझाङको देउडा बजार पूरै डुबानमा पर्ने, धेरै घरधुरीलाई विस्थापित गर्नुपर्ने, त्यसको पुनस्र्थापन खर्च एकदम नै बेसी आउने आयोगको प्रतिवेदनले देखाएको बोर्ड बताउँछ । डुबान क्षेत्रभित्र ३३५६.९८ हेक्टर पर्ने देखिन्छ । त्यसमा २०५९.१८ हेक्टर सरकारी जमिन र १२९७.७९ हेक्टर निजी जमिन पर्छ ।

आयोगअन्तर्गतको समितिको अध्ययनले धेरै डुबानमा पर्ने देखाएपछि आयोजना विकासकर्तालाई नै जलाशययुक्त बनाउने वा अर्धजलाशययुक्त बनाउने भन्ने जिम्मा दिइएको थियो । विकासकर्ताले जलाशययुक्त आयोजना बनाउन चाहेको छ । त्यहाँका स्थानीय आयोजना निर्माणप्रति सकारात्मक भएकाले पुनस्र्थापनामा समस्या नपर्ने प्रवक्ता बताउँछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.