दुर्गममा जान नचाहने कर्मचारी प्रवृत्ति

दुर्गममा जान नचाहने कर्मचारी प्रवृत्ति
सुन्नुहोस्

देशभरका २ सय स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन छन् । निमित्तको भरमा चलिरहेका छन् । हिमाली जिल्ला हुम्लाको सिमकोट गाउँपालिकादेखि पहाड हुँदै मधेसका पालिकाहरूको स्थिति उस्तै छ । तर, सहर बजारतिरका पालिका चाहे तिनको अघि गाउँ नै किन नहोस्, त्यस्तो समस्या छैन ।

झन् काठमाडौं, पोखराजस्ता सहर अर्थात् सुगमका नगरपालिकाहरूमा प्रमुख प्रशासकीय अधिकृत नहुने होइन कि जान हानथाप हुन्छ । तर, हिमाली र दुर्गम जिल्ला भए नगरपालिकाले पनि कर्मचारी पाउँदैन । यो केवल दुर्गम क्षेत्रमा कर्मचारीको अनुपस्थितिको विषय मात्र होइन । संघीयता आइसकेपछि पनि कर्मचारीमा रहेको एकात्मक प्रणालीको धङधङी हो । समग्रमा कर्मचारी प्रशासनमा संघीयता आएकै छैन । राजनीतिक पुनर्संरचना भए पनि कर्मचारीतन्त्रको पुनर्संरचना हुन सकेन । तसर्थ, आज पनि कर्मचारीतन्त्रको बागडोर संघमा छ । उसैले आज पनि स्थानीय सरकारको कर्मचारी खटाउँछ । अनि, उसका ती कर्मचारी संघमै बस्न खोज्छन्, पालिका जान चाहँदैनन् । 

लोकसेवा आयोगको परीक्षा दिँदा कुनै व्यक्तिले पनि सरकारले खटाएको ठाउँमा जान्न भनेको हुँदैन । र, उसलाई यो पनि थाहा हुन्छ कि जागिर खाएपछि जहाँ पनि जानुपर्ने हुन सक्छ । खास ठाउँमा वा केन्द्रमै बसेर जागिर खाने गरी कसैले लोकसेवाको जाँच दिएको हुँदैन । भन्ने बेला राष्ट्र सेवा गर्छु पनि भन्छ । तर, जसै जागिरमा प्रवेश हुन्छ, उसलाई रोज्जा ठाउँ चाहिन्छ । जहाँ धेरै बजेट हुन्छ, स्रोत हुन्छ, त्यस्तै कार्यालयमा आँखा गाड्छ । सामदाम, दण्ड र भेद गरी माल अड्डामा पोस्टिङ, सरुवा खोज्छ । यसबाटै थाहा हुन्छ, भ्रष्ट मनोविज्ञान । यस्तो प्रवृत्ति मौलाउनुमा केवल कर्मचारीको मात्रै दोष छैन । रोज्जा अड्डामा सधैं एकै खालेलाई र आफ्नाहरूलाई अवसर दिने राजनीतिक नेतृत्वको काखापाखा नीति र व्यवहारले पनि काम गरेको छ । कसैलाई जीवनभर दुर्गम र कसैलाई जीवनभर सुगममा अवसर दिनुहुँदैन । सबैलाई समान व्यवहारसमेत गरी योग्यता, क्षमता र आवश्यकताका आधारमा अह्रनखटन गर्ने हो भने विधि बस्थ्यो । तर, बेथिति मुहानै भइदिँदा कर्मचारीतन्त्रमा विकृति अनेक मौलाएका छन् । 

स्पष्ट कानुन र मापदण्डको अभाव छ । कर्मचारी सरुवा प्रक्रिया स्वेच्छाचारी र राजनीतिक दबाबबाट प्रभावित छ । वस्तुगत र निश्चित मापदण्डका आधारमा कर्मचारी खटाउने, खटाएको स्थानमा कर्मचारी जाने, स्थानीय तहले हाजिर गराउने र काम लगाउने पद्धति विकास हुन सकेको छैन । यसको सट्टा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्वयं राजनीतिक दबाब र प्रभावमा परेर सरुवा गर्न बाध्य देखिन्छ । नेता, सांसद र जनप्रतिनिधिहरूको सरुवाका लागि हुने अनावश्यक हस्तक्षेपले निष्पक्ष र न्यायोचित प्रणाली स्थापना हुन दिएको छैन । कर्मचारीलाई दुर्गममा पनि पठाउने हो भने निष्पक्ष खालेको थिति बसाल्नुपर्छ ।

मापदण्डका आधारमा कर्मचारीको सरुवा र अह्रनखटन हुनुपर्छ । बेथिति हुँदा राजनीतिक नेतृत्वले आफू अनुकूलका व्यक्तिलाई मौका दिने मौका बाँकी रहने हुँदा पनि थिति बसाल्न नखोजेको हो । जसको दीर्घकालीन असर र घाटा जनतालाई भइरहेको छ । पालिकाहरूको सेवाप्रवाहमा कमजोरी भइरहेको छ । यो व्यवस्थाप्रति नागरिक रुष्ट हुँदै जानुमा यस्तै यस्तै ससाना तर, महत्वपूर्ण तत्वहरू जिम्मेवार छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.