पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गतको राजमार्गमा सवारी साधन रोक्न निषेध

पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गतको राजमार्गमा सवारी साधन रोक्न निषेध

सिमरा : हिंस्रक वन्यजन्तुको 'मुभमेन्ट' (गतिविधि) बढेको भन्दै पर्सा राष्ट्रिय निकुञ्जले वरपरका राजमार्ग क्षेत्रमा सवारी साधन रोक्न निषेध गरेको छ। बाघ, चितुवाजस्ता वन्यजन्तुको गतिविधि बढेका कारण मानवीय क्षति हुन नदिन निकुञ्जले सवारी साधन रोक्न निषेध गरेको हो। 


निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत रामचन्द्र खतिवडाले बिहीबार पथलैयास्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयलाई पत्र लेख्दै पथलैया–अमलेखगञ्ज सडकखण्ड र पथलैया-निजगढ सडक खण्डको जंगलमा सवारी साधन रोक्न निषेधका लागि सहयोग गर्न आग्रह गरेका हुन् ।

खतिवडाले पत्रमा निकुञ्ज र वन क्षेत्रबाट निस्कने वन्यजन्तुले मानवीय क्षति पुर्याएको सूचना पाएकाले त्यस्तो घटना हुन नदिन सवारी साधन रोक्न निषेध गरिएको उल्लेख गरेका छन्। ‘निकुञ्ज र वन क्षेत्रमा पर्ने राजमार्गमा सवारी साधन रोकेर यात्रु उत्रँदा वन्यजन्तुको आक्रमणमा पर्ने जोखिम अत्यधिक हुन्छ’ खतिवडाले भने ‘त्यसो हुन नदिनका लागि हामीले सवारी साधन रोक्न निषेध गरेका हौ।’


खतिवडाले केही दिनका लागि भन्दा पनि सधैंका लागि सवारी साधन रोक्न निषेध गर्न जरुरी रहेको बताए। सवारी साधन रोक्न नदिनका लागि निकुञ्जले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयसँग सहयोग मागेको छ।


ट्राफिक प्रहरीले उक्त क्षेत्रमा सवारी साधन रोक्न नदिनका लागि भूमिका खेलेमा सहज हुने बताउँदै खतिवडाले निकुञ्ज अन्तर्गतको राजमार्गमा आफूहरू पनि अनुगमन गर्ने बताए। निकुञ्जले उल्लेख गरेको उक्त क्षेत्रमा पछिल्लो समय बाघ, चितुवा, हात्तीजस्ता वन्जयन्तुको चहलपहल बढ्दो अवस्थामा छ । खतिवडाले आमनागरिक पनि यस विषयमा सचेत हुन जरुरी रहेको बताए। 


पछिल्लो पटक बुधबार बिहान पथलैया-अमखेगञ्ज सडक खण्डको आधाभार जंगलमा जीतपुरसिमरा उपमहानगरपालिका २२ का ५५ वर्षीय कृष्णप्रसाद शर्माको मृत भेटिएका थिए। शर्मालाई बाघले आक्रमण गरेको आशंका गरिएको छ। 

घाँस लिन भन्दै स्कुटर लिएर घरबाट निस्किएका शर्माको शरीर र घाँटी छिनिएको अवस्थामा शव फेला परेको थियो। बिहानै घरबाट निस्किएका शर्मा घर नफर्किएपछि परिवारले खोजी थालेको थियो। 

खोजी गर्ने क्रममा आधाभारस्थित राजमार्गमा घाँसहितको स्कुटर फेला परेपनि शर्मा भेटिएका थिएनन्। निकुञ्जको सेना र नेपाल प्रहरीको सहयोगमा खोजी गर्दै जाँदा राजमार्गबाट करिब तीन सय मिटर भित्र शर्माको शव भेटिएको हो । नग्न अवस्थामा भेटिएका शर्माको टाउको र शरीर छुट्टिएको अवस्थामा थियो।    

शर्मालाई घाँस लिएर जंगलबाट निस्कदै गर्दा बाघले आक्रमण गरेको हुनसक्ने आशंका गरिएको छ । उनलाई राजमार्गको करिब १० मिटर भित्रबाट घिसार्दै लगेको देखिन्छ। घिसार्न सुरु गरेको स्थानमा चप्पल र एक मुठा घाँस फेला परेको थियो । शर्माको टाउको र शरीर ३० मिटरको दुरीमा भेटिएको थियो।  


इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले शल्यपरीक्षणको रिपोर्ट आउन बाँकी रहेको बताए। प्रारम्भिक रिपोर्टमा वन्जजन्तुको आक्रमणबाटै मृत्यु भएको हुनसक्ने देखिएपनि विस्तृत रिपोर्टले घटनाको वास्तविकता खुल्ने बताए। घटनाको प्रकृति हेर्दा बाघले नै आक्रमण गरेको हुनसक्ने जोशीको भनाइ छ।

यसअघि असार ४ गते जीतपुरसिमरा २१ को जंगलमा बाघको आक्रमणमा परी ५० वर्षीय चन्द्रबहादुर ब्लोनको मृत्यु भएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.