खुट्टीखोला नहर, राजनीति र बेथितिको कहर

खुट्टीखोला नहर, राजनीति र बेथितिको कहर

सिरहा : केही दिन अगाडिमात्रै सिरहामा पानी पर्‍यो । किसानले जसोतसो रोपाइँ गरे । तर, रोपिएका खेतमा पनि धान सुक्दैछन् । यहाँ सिँचाइको चरम अभाव छ । किसानका खेतबारीमा सिँचाइ पुर्‍याउने भन्दै २०७९ मंसिर १६ गते लहान नगरपालिका–१० स्थित खुट्टीखोलामा नहरको पुनः हेडवर्क्स बनाइयो ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सिरहाले मल्टिटेक निर्माण कम्पनीलाई ८ करोड ५६ लाख ७२ हजार मा हेडवर्क्स निर्माणको सम्झौता गरेको थियो । काम सकिएको भन्दै कम्पनीलाई ८ करोड ६९ लाख ५४ हजार भुक्तानी पनि गरियो । तर, ४ वर्ष भयो, न नहरमा पानी आयो, न त किसानका खेतमा सिँचाइ नै पुग्यो । उल्टै, नहर निर्माणमा राजनीति हाबी भयो । विवादै विवादले नहर निर्माणको काम अनिश्चित बन्यो । 

खोला तल, हेडवर्क्स माथि 

खोला तल, हेडवर्क्स माथि बनेपछि नहरमा पानी बग्ने कुरै भएन । त्यसैकारण महालेखा परीक्षकको कार्यालयले आफ्नो वार्षिक प्रतिवेदन–२०८१ मा हेडवर्क्सको बनोटप्रति प्रश्न उठायो । ‘योजनाको स्थलगत निरीक्षण गर्दा खोलामा पानी बग्ने सतहभन्दा हेडवर्क्स उच्च स्थानमा निर्माण भएको छ । यसबाट डिजाइन सुधार तथा थप निर्माणकार्य नगरी हेडवर्क्समा पानी जम्मा गरी वितरण हुन सक्ने देखिएन । खोलामा बग्ने पानी सतहभन्दा हेडवर्क्स उच्च स्थानमा हुने गरी डिजाइन तथा खरिद सम्झौता गरेको देखिएकोमा सञ्चालन सुनिश्चितता यकिन गर्नुपर्दछ’, प्रतिवेदनमा उल्लेख छ ।

हेडवर्क्स शिलान्यासको दिन यो योजना १८ करोडको रहेको बताइएको थियो । नहरमा पानी बगेर जलविहार नै बन्नेसम्मका दाबी गरिएका थिए । पहिलो चरणमा हेडवर्क्स निर्माण र दोस्रो चरणमा नहरमा ठाउँठाउँमा कल्भर्ट निर्माण, सफाइ र उकासमा बाँकी रकम खर्चिने भनिएको थियो । त्यहीबेला ग्रामीण चोकदेखि पश्चिम नहर जेएस क्याम्पस अगाडि एउटा कल्भर्ट पनि निर्माण गरियो । महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएपछि थप बजेट आएन ।

त्यसपश्चात् चालु आर्थिक वर्ष २०८२/०८३ मा मधेस प्रदेश सरकारले १५ लाख रुपैयाँ नहरका लागि बजेट छुट्ट्यायो । सिँचाइ कार्यालय सिरहाले लहान नगरपालिका–१ को शिवम् कन्स्ट्रक्सनलाई योजना टुक्र्याएर ८ लाखमा नहर सफाइ/उकासका लागि कोटेसनमार्फत २०८२ साउन २० गते ठेक्का दियो । काम सम्पन्न भएर हेडवर्क्सको गेट (फाटक) खोलेर परीक्षण गर्दा खोलाको पानी नहरमा आएन । बरु नहरमा जमेको पानी उल्टै खोलातिर गयो ।

दुईदुई पटक हेडवर्क्सको पूजापाठ गरेर गेट खोलिएको थियो । खोलाको पानी नहरमा बग्नुपर्नेमा नहरको पानी खोलातिर बगेको देख्दा आफू अचम्मित भएको स्थानीय हनिफ राइनले बताए । ‘करोडौं लगानीमा हेडवर्क्स बनाइयो । नहर उकास/सफाइमा लाखौं रुपैयाँ खर्च पनि भइसक्यो । तर, पानी किन आएन भनेर हेर्न गएको थिए,’ उनले भने, ‘यहाँ आएर हेर्दा त करोडौंको लगानी बालुवामा पानी जस्तै भएको अवस्था छ । ’ हेडवर्क्स निर्माणमा सिँचाइका हाकिम, प्राविधिक कर्मचारी र ठेकेदारले खेलवाड गरेको उनको भनाइ छ । पानी नबग्ने नहरमा मिलेमतोमा काम गरिएको उनको आरोप छ । यस विषयमा भिडियो नै बनाएर उनले सार्वजनिक गरेका छन् । 

खोलामा हेडवक्स निर्माण गर्न थालदेखि नै तत्कालीन सिँचाइ कार्यालयका प्रमुख र कर्मचारीलाई सचेत गराउँदा केही सुनुवाइ नभएको स्थानीय देवराज पोखरेलको भनाइ छ । कर्मचारी र ठेकेदारको गम्भीर त्रुटिका कारण किसानले सिँचाइ सुविधा नपाएको उनले बताए ।

‘काममा पारदर्शिता छैन । टोल समुदायमा छलफल र परामर्श गरिएन । आफू अनुकूल काम गर्दै गए । अहिले आएर नहरलाई अझै गहिरो बनाउन थाल्दा स्थानीयलाई ठूलो मर्का पर्ने देखिन्छ,’ पोखरेलले भने, ‘नहर खन्दा साइडको बाटो धसिन थालेको छ । बोटबिरुवा मासिएका छन् । विद्युत्का पोलहरू धरापमा परेका छन् । योजना असफल जस्तै बनेको छ ।’ करोडौं लगानीमा निर्माण गरिएको हेडवर्क्स पनि भत्किने हो कि भनेर चिन्ता बढेको उनले सुनाए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने उनको भनाइ छ ।

ooo
‘वर्षौंसम्म सिँचाइ नभएपछि हाम्रो गाउँ जाने नहर मासिएको छ । खुट्टीखोलाको पानी नहर हुँदै आउँछ भन्ने आशा नै छैन,’ लहान–२० का स्थानीय सञ्जीवले भने, ‘स्थानीयको आस मरेपछि नहर पुरियो । हेडवर्क्स बनाउनुअघि नहर क्लियर गर्नुपथ्र्यो । त्यो भएको छैन ।’ पहिले नहर क्लियर नभएर बजेट सकाउन हेडवर्क्स निर्माण गर्दा असफल जस्तै भएको उनको भनाइ छ । नहर नै नहुँदा पानी आए पनि किसानले सिँचाइ कसरी गर्ने उनको प्रश्न छ ।

नहरमा उकास/सफाइ सुरु भएपछि नेकपा माओवादी केन्द्रका लहान नगर कमिटी अध्यक्ष तथा किसान संघर्ष समितिका अगुवा हेमन्त यादवले एक हप्ताभित्र पानी सञ्चालन हुने दाबी गरेका थिए । उनको दाबी पनि झुटो सावित हुने देखिएको छ । दुई हप्ता हुन लाग्दा पनि नहरमा पानी आएको छैन ।  नहरलाई व्यवस्थित गरे पानी चल्ने उनको दाबी छ । अहिले खन्दा नै नहर किनारका सडक ठाउँठाउँमा भासिन थालेका छन् । तर, सिँचाइ कार्यालय सिरहाका प्रमुख हसमत अन्सारीले भने लेभल नमिलेका कारण अझै केही ठाउँमा खन्नुपर्ने बताए ।

‘पहिले एउटा लेभल लिएर नहर उकास/सफाइ सुरु भएको थियो । अब त्यो काम सम्पन्न भएपछि फेरि अवरोध भएको ठाउँको माटो हटाउनुपर्छ । त्यसपछि केही मात्रामा पानी चल्ने विश्वास छ,’ उनले भने, ‘सोचेजस्तो त पानी नहरमा चढ्दैन तर, केही न केही चल्छ । सुक्खा मौसममा त्यसले पनि राहत पुग्नेछ ।’ यहाँ दुई पक्षको राजनीतिले गर्दा प्राविधिक हिसाबले काम गर्ने कार्यालयलाई त्यहाँ काम गर्न गाह्रो भएको उनको भनाइ छ । 

बिहीबार सिँचाइ कार्यालयबाट आएको प्राविधिक टोलीले फेरि लेभल चेकजाँच गरेको छ । ठाउँठाउँमा अझै माटोको अवरोध भएकोले त्यसलाई उकास गर्न सके नहरमा पानी चल्ने सिँचाइका सब–इन्जिनियर सञ्जीवकुमार यादवको दाबी छ । ‘हामीले लेभल चेक गरेका छौं । ग्रामीण चोकदेखि दक्षिणी नहरमा पानी जान्छ । त्यसका लागि नहर उकास गर्नुपर्छ,’ उनले भने, ‘ठाउँठाउँमा ९० सेन्टीसम्म जाम भएको छ । त्यसलाई हटाउँदा केही मात्रामा पानी चढ्छ । पश्चिम नहरमा पानी चलाउन ग्रामीण चोकमा रहेको कल्भर्ट भत्काउनुपर्छ ।’  

पानी नै नआएपछि गाउँलेले पुर्न थाले नहर 
नापी कार्यालय लहानको फिल्डबुक रेकर्ड अनुसार कित्ता नं. ८२ को १५ कट्ठा ६ धुर र किता नं. २१ को १ बिघा १७ कट्ठा २ धुर जग्गामा कुलो लेखिएको छ । जग्गाधनी वा उपभोग गर्ने कार्यालयको नाम उल्लेख छैन । त्यही कुलो लेखिएको जग्गामा यो खुट्टी नहर ग्रामीण चोकदेखि दक्षिण र पश्चिम गरेर दुई भागमा बाँडिएको छ । नहरबाट लहान नगरपालिकाका वडा ११, १२, २, १९, २०, २१, २२, २३ र लक्ष्मीपुर पतारी गाउँपालिकाका, सखुवानन्कारकट्टी गाउँपालिका, भगवानपुर गाउँपालिकाका केही भूभागका ९ सय ३५ बिघाभन्दा बढी सिँचाइ हुने सिँचाइ कार्यालयले दाबी गरेको छ । ६० वर्षभन्दा अगाडि यो नहर खनिएको थियो । अहिले बजार एरियामा नहर रहे पनि गाउँ एरियामा स्थानीयले पुरेर खेत/जमिन बनाएर उपभोग गरिरहेका छन् । 

nullलहान–१० स्थित खुट्टीखोलामा निर्मित हेडवर्क्स । जसबाट हालसम्म सिँचाइ भएको छैन । तस्बिर : शम्भु यादव

नहर पहिले तयार नगरी हचुवाको भरमा हेडवर्क्स बनाएर करोडौं रुपैयाँ खर्च गरिएको स्थानीयको भनाइ छ । हेडवर्क्स निर्माण गरिएको खुट्टीखोलामा चुरे क्षेत्रमा वर्षा भएको बेवा बाढी आउँछ । यो खहरे खोला हो । अधिकांश समय सुक्खा नै रहन्छ । ‘यता वर्षा भएको बेला पानी आवश्यक पर्दैन । वर्षा नभएको समयमा चुरेबाट आउने बाढीले सिँचाइ गर्ने हो । हेडवर्क्स सफल नभएपछि त्यो पनि समस्याकै रूप लिएको छ,’ स्थानीय भन्छन्, ‘चुरेबाट आएको बाढीलाई होल्ड गरेर सफा पानी नहरमा जाने किसिमको योजना नै निर्माण भएको छैन । बाढी नै नहरमा छिराउँदा झन् विकराल अवस्था आउँछ ।’ बाढीको पानी सीधै नहरमा झार्दा वरिपरि जोखिम बढ्ने स्थानीय बताउँछन् ।    
 नहरमा यसरी भयो राजनीति
पाका उमेरका स्थानीयका अनुसार यो नहर चन्द्रशमशेरकै पालामा खनिएको थियो । खोलामा इँटाको सानो हेडवर्क्स बनाइएको थियो । त्यसबेला धेरथोर सिँचाइ हुन्थ्यो । तर, हेडवर्क्स केही महिनामै बाढीले बगायो । त्यसपछि निर्माणकार्यका लागि बजेट नै आएन । बालकृष्ण खाँण सिँचाइ मन्त्री भएका बेला कांग्रेसका तत्कालीन जिल्ला उपसभापति रामसुन्दर चौधरीले हेडवर्क्स निर्माणका लागि बजेट माग गर्दै मन्त्रालयमा निवेदन दर्ता गराए । मन्त्रालयले आधिकारिक समिति निर्माण गर्न जलस्रोत तथा सिँचाइ कार्यालयलाई पत्राचार भयो ।

त्यसबेला कार्यालयका कर्मचारीले कांग्रेसका महेशप्रसाद चौधरीलाई अध्यक्ष बनाएर पठाउन निर्देशन दिएको स्रोतले बतायो । तर, गुपचुपमा पूर्वनगरप्रमुख मुनी साहलाई नहरको अध्यक्ष बनाएर कर्मचारीहरू हिँडे । साह, एमालेका नेता हुन् । उक्त समितिले पटकपटक मन्त्रालयमा ताकेदा गर्दा पनि बजेट आएन । नहरको काम अगाडि बढेन ।


खोलामा हेडवर्क्स बनिसकेको र भूमिगत नाला प्रणालीबाट नहरको पानी बग्ने हिसाबले योजना बनाएका थियौं । त्यो पनि दक्षिणी नहरमा मात्रै । पश्चिमी नहरबाट खुला रूपमा नै पानी लग्ने र किसानलाई सिँचाइ गराउन मद्दत गर्ने सोच थियो । पश्चिमबाट खेतीयोग्य जमिनमा सिँचाइ हुन्छ । विवाद र आन्दोलनले विकास योजनाको काम स्थगित गर्नुपर्‍यो । हेडवर्क्स बनाएको कार्यालयले पूर्ण रूपमा जिम्मेवारी लिएर किसानको खेतमा पानी पुर्‍याउनुपर्छ ।
महेश चौधरी - मेयर, लहान नगरपालिका

नहरको काम सम्पन्न भएको भए बजारमा सौन्दर्यीकरण बढ्थ्यो । हिँड्डुल गर्न सहज हुन्थ्यो । नहर छेउका घरहरूमा सटर बनाएर व्यवसाय गर्न कठिनाइ भएको छ । वर्षांैदेखिको समस्या सुल्झेमात्रै व्यवसाय बढ्नेछ । राजनीतिले गर्दा दिन प्रतिदिन नहरको समस्या विकराल बन्दै गएको हो । सरकारले विज्ञ प्राविधिक खटाएर तत्कालै समाधान खोज्नुपर्छ । 
विकास शारडा, अध्यक्ष, जिल्ला उद्योग वाणिज्य संघ

नहरको ठाउँठाउँमा अझै माटोको अवरोध छ । हामीले लेभल चेक गरेका छौं । ग्रामीण चोकदेखि दक्षिणी नहरमा पानी जान्छ । त्यसका लागि नहर अझै सरसफाइ गर्नुपर्छ । कुनै कुनै ठाउँमा ९० सेन्टिमिटरसम्म माटो पुरिएर जाम छ । त्यसलाई हटाउँदा केही मात्रामा पानी चढ्छ । पश्चिम नहरमा पानी चलाउन ग्रामीण चोकमा रहेको कल्भर्ट भत्काउनुपर्छ ।   
सञ्जीवकुमार यादव -सब–इन्जिनियर, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय

समिति निर्माण भइसकेको थाहा पाएपछि रामसुन्दर र महेश चौधरीले सिँचाइ कार्यालयमा गुनासो गरे । महेश चौधरीको नेतृत्वमा नयाँ समिति गठन भयो । पछि नारायण स्वामी समिति अध्यक्ष भए । हेडवर्क्स बनेदेखि समितिको न नवीकरण भएको छ न त त्यसको अडिट भएको छ । अहिले अलपत्र अवस्थामा छ । 

२०७४ को स्थानीय तह निर्वाचनमा पुनः मुनी साह एमालेबाट मेयरमा निर्वाचित भए । उनी २०५४ मा पनि मेयर निर्वाचित भएका थिए । २०७७ मंसिर १७ गते जलस्रोत तथा सिँचाइ कार्यालय सिरहाले हेडवर्क्स बनाउन ठेक्का सम्झौता गरेको थियो । २०७८ कात्तिक २२ गते त्यस योजनाको शिलान्यास  मेयर साहबाट गराइयो । लहान– १० ग्रामीण चौकदेखि दक्षिणतिर नहर स्तरोन्नति कार्य गर्ने भन्दै मेयर साहले नगरपालिकाबाट पनि आर्थिक वर्ष २०७७/०७८ मा २ करोड ८० लाख ९१ हजार २ सय १४ रुपैयाँमा साह एन्ड बीपी जेभी लहान–७ लाई ठेक्का दिए । २०७७ पुस १२ गते ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले २०७८ कात्तिक १५ गतेभित्र काम सम्पन्न गर्ने सम्झौता थियो । ठेकेदारले नहरमा पक्की संरचना बनाइरहेको थियो । कमसल काम गरेपछि पूरा नहुँदै भत्कियो । केही रकम ठेकेदारले भुक्तानी पायो । बाँकी काम अधुरै रह्यो । भत्किएको संरचनाले नहर थप पुरियो ।  करोडौं सरकारी लगानी सित्तैमा खेर गयो ।  

२०७९ को स्थानीय तह निर्वाचनमा एमालेका मुनी साहलाई पराजित गर्दै कांग्रेसका महेश चौधरी मेयरमा निर्वाचित भए । उनले आर्थिक वर्ष २०८१/०८२ को बजेटमा नगरपालिकाबाट ८ करोड रुपैयाँ विनियोजन गरेर ठेक्कामार्फत नहरमा काम सञ्चालनको सुरुवात गरे । साहको पालामा अलपत्र परेको नहरमा भएको कामदेखि दक्षिणतिरबाट हेडवर्क्सको पानी जानलाई भूमिगत नाला प्रणाली निर्माण र सडक सुधार योजनासहित उनले काम सुरु गरे । 

ठेक्काको सूचना प्रकाशन, डीपीआर सार्वजनिक तथा शिलान्यास गर्दासम्म कसैले विरोध जनाएनन् । ठेकेदारले काम सुरु गरेपछि किसान संघर्ष समिति बनाएर आन्दोलन सुरु भयो । एमालेका युवा नेता धर्मराज चौधरीको संयोजकत्वमा विभिन्न पार्टीका अगुवा नेताहरूले किसान संघर्ष समिति गठन गरे । नहरमा नगरपालिकाले काम गर्न पाउँदैन भन्दै सीडीओ कार्यालय, सिँचाइ कार्यालय र नगरपालिकालाई ज्ञापनपत्र बुझाए । प्रदर्शनका क्रममा नहरमा बन्दै गरेका संरचना तोडफोड गरिए । 

कामै रोकियो 
आन्दोलनमा एमालेका पूर्वमेयर साहका कार्यकर्ता, कांग्रेस नेता पदमनारायण चौधरी नजिकका नेता/कार्यकर्ता, माओवादी नगर अध्यक्ष हेमन्त यादव, जनमत, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपाका केही नेताहरू सहभागी भएका थिए । पटकपटक सर्वदलीय बैठक भए । विवाद सुल्झेन । संघर्ष समितिले उच्च अदालत राजविराजमा मुद्दा हाल्यो । अदालतले नहरको स्वरूप नबिगारी सुविधा र सन्तुलनको हिसाबले काम गर्न अल्पकालीन आदेश दियो । पछि निवेदकको माग दाबी नपुगेको भन्दै रिट नै खारेज भयो । 

रिट खारेजपछि नगरपालिकालाई काम गर्ने बाटो खुलेको थियो । तर, मेयर महेश चौधरीले थप विवाद नचर्कोस् भनेर सर्वदलीय र किसान संघर्ष समितिसँग वार्ता गरे । प्रमुख जिल्ला अधिकारीको रोहवरमा सहमति भयो । नहरको काम रोकियो । सिँचाइ कार्यालयले पनि काम रोक्न नगरपालिकालाई पत्राचार गरेको थियो । ‘हामीले बजार एरियामा भएको फोहोर पनि हटोस् । पश्चिम नहरबाट सिँचाइ पनि होस् भनेर काम थाल्यौं । चरम राजनीतिले गर्दा आन्दोलन भयो । पटकपटक प्रयास गर्दा पनि काम गर्ने वातावरण बनेन,’ मेयर चौधरीले भने, ‘हामीलाई पनि काम पनि गर्न दिएनन् । किसानलाई सिँचाइ सुविधा पनि पुगेन । बजारको समस्या वर्षौंसम्म ज्यूँका त्यूँ रह्यो ।’ विरोधका लागि विरोध गरेर विकासको काम हुन नसकेको उनले बताए । पार्टीकै कार्यकर्ताले पनि सहयोग नगरेको उनको गुनासो छ ।

‘नहरको काम सम्पन्न भएको भए बजारमा सौन्दर्यकरण बढथ्यो । अहिले नहर छेउका बासिन्दाहरू पीडित बन्नु परेको छ । यसले व्यापारमा असर परेको छ,’ जिल्ला उद्योग वाणिज्य संघ जिल्ला अध्यक्ष विकास शारदाले भने, ‘नहर छेउका घरमा व्यवसाय गर्न कठिनाइ छ । वर्षांैदेखिको समस्या सुल्झेमात्रै व्यवसाय बढ्नेछ ।’ राजनीतिले नै गर्दा दिनप्रतिदिन नहरको समस्या विकराल बन्दै गएको उनको भनाइ छ । सरकारले विज्ञ प्राविधिक खटाई समस्याको हल खोज्नुपर्ने उनको माग छ ।

नगरपालिकाले नहरको काम काम गर्न नपाउने भन्दै मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंह, गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी, प्रदेशसभा सदस्य राजेन्द्रप्रसाद चौधरी, कांग्रेस केन्द्रीय सदस्य पदमनारायण चौधरी, ललिता दास, उपमेयर रामचलितर महतो, संघर्ष समितिलगायतकाले पटकपटक नहर निरीक्षण गरेका छन् । उनीहरूले स्थानीयलाई उचालेर समस्यालाई थप जटिल बनाएको विमति राख्ने स्थानीयको भनाइ छ ।  

‘नहर खनेर वर्षाैंसम्म अलपत्र पार्दा दुर्गन्धित बनाइएको छ । अगाडि फोहोरै फोहोर छ । बाटोघाटो राम्रो भएन,’ नहर छेउ घर भएका लहान–६ का एक स्थानीयले भने, ‘सबै नेताले चुनावमा नहरलाई मुद्दा बनाउँछन् तर, काम गर्दैनन् । बल्ल यसपालि मेयर चौधरीले काम थाल्दा विरोध भयो, काम पनि रोकियो ।’ चरम राजनीतीकरणले गर्दा काम अलपत्र परेको उनको गुनासो छ । पार्टी राजनीतिभित्र भएका गुटले नगरपालिकाको विकास कार्यमा अवरोध पुर्‍याउन खोज्दा काम रोकिएको छ ।

फोहोर डम्पिङसाइट 
वर्षौं पहिले नहर खन्दा धेरै क्षेत्र खुला थियो । खेतीपाती हुन्थ्यो । पछि विस्तारै बस्ती बस्दै जाँदा बजार क्षेत्र बढ्यो । वडा १०, ६, ७, ८, ३, ४ मा धेरै नहरको भाग पर्छ  । यहाँ अहिले धान खेत नै छैन । सबैतिर बस्ती छ । खुला भएका कारण स्थानीयले नहरमै फोहोर फाल्ने गरेका छन्  ।

घरको पानीको पाइप र कतिपयले शौचालयको पाइपसमेत त्यसैमा झारेका छन् । बजार एरिया नै दुर्गन्धित र कुरूप देखिएको छ । नहर सफाइ नहुँदा लामखुट्टेको प्रकोप बढेको बढ्यै छ । नहरकै कारण किसान मारमा छन् । बजारवासी हैरान छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.