प्यालेस्टिनी नेतालाई संयुक्त राष्ट्रसंघको महासभामा अमेरिकाले लगायो रोक
काठमाडौं : प्यालेस्टिनी प्राधिकरणका राष्ट्रपति महमूद अब्बास अर्को महिना न्यूयोर्कमा हुने संयुक्त राष्ट्र संघको महासभाको बैठकमा भाग लिन पाउने छैनन्।
अमेरिकी विदेश विभागले उनको र अन्य ८० प्यालेस्टिनी अधिकारीको भिसा रद्द गरिएको पुष्टि गरेको छ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले उनीमाथि शान्तिको प्रयासलाई कमजोर बनाएको आरोप लगाएका छन्। यस्तै विदेशमन्त्री रुबियोले युटोपियन प्यालेस्टिनी राज्यको एकतर्फी मान्यता खोजेको आरोप लगाएका छन्।
इजरायलले अमेरिकाको यो निर्णयको स्वागत गरेको छ।
संयुक्त राष्ट्र संघको मुख्यालयमा आउने सबै देशका अधिकारीको यात्रालाई अमेरिकाले सामान्यतया सहज बनाउने अपेक्षा गरिएको हुनाले यो कदमलाई असामान्य मानिएको छ।
संयुक्त राष्ट्र संघको सत्रमा प्यालेस्टाइनलाई स्वतन्त्र देशको रूपमा मान्यता दिलाउन फ्रान्सले अन्तर्राष्ट्रिय प्रयासको नेतृत्व गरिरहेको बेला यो प्रतिबन्ध लगाइएको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारले फ्रान्सको यो कदमको विरोध गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस !