लुम्बिनीलाई नयाँ अध्यायको अवसर

लुम्बिनीलाई नयाँ अध्यायको अवसर
सुन्नुहोस्

सर्वोच्च अदालतले हालसालै सुनाएको आदेश केवल एउटा कानुनी फैसलामात्र होइन, लुम्बिनीको अस्तित्व र भविष्यलाई सुरक्षित गर्ने ऐतिहासिक कदम हो । विश्व सम्पदा सूचीमा समावेश लुम्बिनी केवल नेपालकै गौरव होइन, करिब १ अर्ब ६० करोड बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र हो । यस पवित्र भूमिमा बढ्दो औद्योगिकीकरण र प्रदूषणले अशोक स्तम्भदेखि सारस चरा, जैविक विविधता र सम्पूर्ण आध्यात्मिक वातावरणलाई खतरामा पारेको तथ्य अनेकौं अध्ययनले उजागर गरेका छन् ।

त्यसैले सर्वोच्चले दुई वर्षभित्र लुम्बिनी परिसरका प्रदूषणकारी उद्योग हटाउन वा स्थानान्तरण गर्न दिएको आदेशले अब संरक्षणको नयाँ अध्याय सुरु गर्ने अवसर दिएको छ । विगतमा यस्ता चेतावनी र प्रतिवेदनहरू बेवास्ता गरिँदा बुद्ध जन्मस्थलकै पवित्रता संकटमा परेको थियो । यसपटक भने सरकार, उद्योगी र सरोकारवालाले अदालतको आदेशलाई कडाइका साथ कार्यान्वयन गर्नैपर्छ । किनभने लुम्बिनी अर्काे नयाँ स्थानमा बनाउन वा स्थानान्तरण गर्ने विषय होइनन् ।

लुम्बिनीलाई केवल औद्योगिक कोरिडोरको दृष्टिले हेर्ने सोच अब त्याग्नुपर्छ । उद्योगबाट आएको धुलो, धुवाँ र रसायनले पुरातात्विक सम्पदा मात्र नभई स्थानीय स्वास्थ्य, कृषि र पर्यटन सबैलाई नोक्सान पुर्‍याएको छ । विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा ११ गुणा बढी प्रदूषण भएको तथ्य आँखा चिम्लेर बस्न सकिने विषय होइन । बुद्धसँग सम्बन्धित सारस चराको बासस्थानसम्म जोखिममा परेपछि अन्तर्राष्ट्रिय समुदायको ध्यान तानिनु स्वाभाविक हो । यसतर्फ गम्भीर बन्न जरुरी छ । अदालतको आदेशले उद्योग हटाएर त्यहाँ हरित बेल्ट, शान्ति पार्क र पर्यटनमैत्री गतिविधि प्रवद्र्धन गर्न सुझाएको छ । यसलाई कार्यान्वयन गर्न सके लुम्बिनी अझ आकर्षक र आध्यात्मिक गन्तव्य बन्नेछ । उद्योगीहरूले गरेको लगानी र रोजगारीको चिन्ता साँचो भए पनि त्यो बुद्ध जन्मस्थलको अपूरणीय मूल्यसँग तुलना गर्न सकिँदैन । सरकारको दायित्व श्रमिकको वैकल्पिक व्यवस्था गर्ने र उद्योग स्थानान्तरणका लागि उचित क्षेत्र उपलब्ध गराउने हो । उद्योगीहरूलाई स्थानान्तरणमा सहजीकरण गर्नु हो ।

लुम्बिनी पर्यटकीय गन्तव्य हो, यसले मुलुककै अर्थतन्त्रमा प्रभाव पार्दछ । लुम्बिनी क्षेत्रमा पर्यटनमूलक प्रदूषणरहित व्यवसाय मात्रै सञ्चालन गरिनुपर्छ । ताकि लुम्बिनीको आध्यात्मिकता सदैव कायम रहोस् । पवित्रतामा कुनै तवरबाट धक्का नपुगोस् । लुम्बिनी ब्राह्मण्डकै अतुलनीय मूल्य बोकेको सम्पदा हो भन्ने सर्वाेच्चको फैसलालाई सरकारले गम्भीरतापूर्वक लिई अगामी कदम चाल्नुपर्छ । यो विश्वको सम्पत्ति हो, त्यसैअनुसार लुम्बिनीको संरक्षण र विकासको योजना बनाउनुपर्छ । अदालतको अवहेलना हुनेगरी कोही कसैले निर्णय लिनुहुँदैन । उद्योगीहरू पनि फैसला कार्यान्वयनका पक्षमा आजैदेखि तत्पर हुनुको विकल्प छैन ।

भारतको ताजमहल वरिपरि प्रदूषणकारी उद्योग हटाइएको नजिर छ । त्यसैले लुम्बिनी संरक्षण पनि व्यावहारिक मात्र होइन, अनिवार्य छ । यो फैसला कार्यान्वयन हुनु नेपालकै प्रतिष्ठा र जिम्मेवारी हो । अब ढिलाइ वा बहाना चल्दैन । सर्वोच्चको आदेशलाई शब्दशः कार्यान्वयन गरेर मात्रै हामी भविष्यका पुस्तासामु शिर ठाडो गर्न सक्छौं । त्यसैले लुम्बिनीको संरक्षण नै हाम्रो साझा कर्तव्य हो, यसलाई बचाउन सबै पक्ष जिम्मेवार बन्नैपर्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.