ट्रम्पका सल्लाहकारले भने– भारतीय ब्राह्मणहरूले नाफा कमाइरहेका छन्, हामी यो बन्द गर्छौं
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका व्यापार सल्लाहकार पिटर नवारोले प्रधानमन्त्री नरेन्द्र मोदी र भारतबारे बोलेका छन्। फक्स न्यूजसँग कुरा गर्दै उनले मोदी महान् नेता भएपनि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग मिलेको बताए।
उनले भने,ʻमोदी एक महान् नेता हुन्। तर विश्वको सबैभन्दा ठुलो लोकतन्त्रका नेता हुँदाहुँदै पनि पुटिन र सी जिनपिङसँग किन हात मिलाइरहेका छन् मलाई थाहा भएन।ʼ
नवारोले थप भने,ʻम भारतका जनतालाई के भइरहेको छ भनेर बुझ्न भन्न चाहन्छु। ब्राह्मणहरूले भारतीय जनताको करबाट नाफा कमाइरहेका छन्। हामी यो बन्द होस् भन्ने चाहन्छौँ।ʼ
नवारोले यसअघि पनि भारतले रुसी तेल किनेकोमा आलोचना गरेका थिए।
राष्ट्रपति ट्रम्पको नजिक मानिने नवारोले गत हप्ता रुस–युक्रेन युद्ध ʻमोदीको युद्धʼ भनेका थिए।
भारतले हाल ५० प्रतिशत अमेरिकी भन्सार शुल्कको सामना गरिरहेको छ। अमेरिकाले रुसी तेल खरिद गरेको भन्दै भारतमाथि यो भन्सार शुल्क लगाएको हो।
अमेरिकाले रुसी तेल किनेर भारतले युक्रेन युद्धका लागि रुसलाई आर्थिक सहयोग गरिरहेको तर्क गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस !