मध्य भोटेकोशीले थाल्यो परीक्षण उत्पादन

मध्य भोटेकोशीले थाल्यो परीक्षण उत्पादन
सुन्नुहोस्

सिन्धुपाल्चोक : लामो प्रतीक्षापछि सिन्धुपाल्चोकमा निर्माण गरिएको १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजनाले सोमबारबाट परीक्षण उत्पादन सुरु गरेको छ ।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् आयोजना मुख्य प्रवर्धक रहेको भोटेकोशीले निर्माण सुरु गरेको १४ वर्षपछि परीक्षण उत्पादन सुरु गरेको हो । एक साताअघि आयोजनाको ट्रान्समिसन लाइनको सफल परीक्षण भएपछि उत्पादन सुरु गरिएको भोटेकोशी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामगोपाल सिवाकोटीले बताए ।

आयोजनाका तीन टरबाइनमध्ये एउटा सञ्चालन गरेर परीक्षण उत्पादन सुरु गरिएको सीईओ सिवाकोटीले बताए । ‘बाह्रबिसे सबस्टेसन तयार नभएकाले गत सातादेखि खिम्ती सबस्टेसनले जाँच गरेको विद्युत् मध्य भोटेकोशीको पावर हाउससम्म जोडिएको लाइनमा परीक्षण गरिँदै आएका छौं’, सिवाकोटीले भने, ‘आयोजना निर्माणमा लामो समय लागे पनि अनेक आरोह–अवरोह पार गर्दै विद्युत् उत्पादन गर्न सफल भएका छौं ।’ 

उनका अनुसार प्राधिकरणले निर्माण गरिरहेको बाह्रबिसे सबस्टेसनको काम पूरा नभएकाले उत्पादित विद्युत् करिब ४० किलोमिटर ट्रान्समिसन लाइनमार्फत नयाँ खिम्ती सबस्टेसनसम्म पुर्‍याइएको छ । ‘अब केही दिन परीक्षण गरेर विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ,’ उनले भने, ‘हामी नियमित उत्पादन छिट्टै सुरु गर्ने योजनामा छौं ।’ राष्ट्रिय प्रसारण लाइनमा जोडेपछि आम्दानी सुरु हुने उनले बताए । 

बाह्रबिसे नगरपालिका–५ स्थिति आयोजनाको विद्युत् गृहको स्विचयार्डबाट सोही नगरपालिका–३ स्थित प्राधिकरणको बाह्रबिसे सबस्टेसन जोड्ने करिब चार किलोमिटर प्रसारण लाइनमध्ये दुई किलोमिटर लाइन निर्माणमा स्थानीयसँग सहमति जुटेपछि अहिले धमाधम काम भइरहेको छ । २२० केभी एकल सर्किट प्रसारण लाइनको काम दसैंअगाडि सकिने आयोजनाले जनाएको छ ।

आयोजनाका अनुसार तत्कालका लागि नयाँ खिम्तीको ४०० केभी पावरको ट्रान्समिसन लाइनमा मध्य भोटेकोशीको २२० केभी मात्र पावर पठाउने व्यवस्थापन मिलाइएको छ । उत्पादित विद्युत् ढल्केबर सबस्टेसनमार्फत राष्ट्रिय ग्रिडमा जोड्ने योजना रहेको छ । 
ट्रान्समिसन लाइनको परीक्षण सफल भएपछि विद्युत्को परीक्षण सुरु गरिएको सिवाकोटीको भनाइ छ ।

‘अहिले आयोजनाका सबै संरचनाको परीक्षण दुरुस्त बनाएपछि उत्पादन सुरु गरेका छौं’, सिवाकोटीले भने, ‘परीक्षण उत्पादन ९९ प्रतिशत सफल हुनेमा हामी ढुक्क छौं ।’ गत वर्ष सुरुङमा पानी पठाउँदा सुरुङ चुहिएको थियो । अब त्यस्तो कमजोरी नहुने उनको भनाइ छ । चीनको सीमा भोटेकोशी गाउँपलिका चाकुमा बाँध तथा बाह्रबिसे नगरपालिकाको जम्बुमा पावर हाउस रहेको आयोजनाको सुरुङ ७.५ किमि रहेको छ ।

सन् २०१३ मा सुरु गरेर २०१७ मा पूरा गर्ने लक्ष्य राखेर कम्पनीका तत्कालीन कार्यकारी अधिकृत कुलमान घिसिङले आयोजना अघि बढाएका थिए । सुरुमा स्थानीय समस्याले आयोजनालाई अघि बढाउन निकै कठिन भएको थियो । ‘झन्डै असफल जस्तै बनेको भोटेकोशीलाई उत्पादनको अवस्थामा पुर्‍याएका छौं,’ प्रमुख कार्यकारी अधिकृत सिवाकोटी भन्छन्, ‘कोभिड, बाढीपहिरो, भूकम्पजस्ता समस्याले पनि हामीलाई समयसीमामा काम सक्न समस्या बनाएको थियो ।’

वार्षिक आम्दानी २ अर्ब ८० करोडको लक्ष्य
आयोजनाका अनुसार नियमित उत्पादनमा जाँदा वार्षिक ५४ करोड २२ लाख युनिट विद्युत् उत्पादन हुनेछ । प्राधिकरणले आयोजनाको विद्युत् हिउँद र वर्षायाममा प्रतियुनिट क्रमशः ८ रुपैयाँ ४० पैसा र ४ रुपैयाँ ८० पैसामा किन्नेछ । यसबाट कम्पनीलाई वार्षिक २ अर्ब ८० करोड रुपैयाँ आम्दानी हुनेछ ।
आयोजनाका अनुसार लगानी बढेकाले प्रतिमेगावाट विद्युत् उत्पादन लागत २२ करोड रुपैयाँ पुग्ने अनुमान रहेको छ । सुक्खा मौसममा सबैभन्दा कम ३५ मेगावाट विद्युत् उत्पादन हुनेछ भने वर्षायाममा ११० मेगावाटसम्म उत्पादन गर्न सकिने सिवाकोटीले जानकारी दिए ।

आयोजनाको अनुमानित लागत कर्मचारी सञ्चय कोषसँग ऋण सम्झौता हुँदा निर्माण अवधिको ब्याजबाहेक १२ अर्ब २८ करोड ३३ लाख रुपैयाँ थियो । आयोजनाको अद्यावधिक अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक १६ अर्ब रुपैयाँ छ । आयोजना तोकिएको समयमा निर्माण गर्न नसक्दा आयोजनाले ऋणको ब्याज मात्र दैनिक ५० लाख रुपैयाँभन्दा बढी तिरिरहेको छ ।

कम्पनीको जारी पुँजीको ५१ प्रतिशत संस्थापक सेयरधनीहरूमध्ये प्राधिकरणको १०, चिलिमे जलविद्युत् कम्पनीको ३७, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनीको १, नेपाल अरनिको हाइड्रोपावर कम्पनीको १, सिन्धु इन्भेस्टमेन्ट कम्पनीको १ र सिन्धु भोटेकोशी हाइड्रोपावरको १ प्रतिशत सेयर छ । ४९ प्रतिशत साधारण सेयरधनी समूहमा (कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता कर्मचारीको १९.५, संस्थापक संगठित संस्थाका कर्मचारीको ३.५, ऋणदाता संस्थाका कर्मचारीको १, सिन्धुपाल्चोकबासीको १० र सर्वसाधारणको १५ प्रतिशत सेयर) छ । कम्पनीले साधारण सेयर निष्कासन गरी रकम संकलन गरिसकेको छ । कम्पनीका साधारण लगानीकर्ताहरू १० लाख ७५ हजार छन् । 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.