विधान महाधिवेशनको गन्तव्य
एमाले आफूलाई यो देशको निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने विधान आसन्न अधिवेशनबाट नीति र राजनीतिक योजना बनाउँदै छ। जुन संकल्पले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षालाई गन्तव्यमा पुर्याउने प्रण गर्नेछ।
कुनै सरकारले पूरा गर्न नसकेका समृद्धिका अधुरा सपना पूरा गर्ने अठोट एमालेको यो विधान महाधिवेशनले गर्नेछ। नेकपा एमाले नेपालको प्रमुख राजनीतिक शक्ति हो। नेपाली समाज परिवर्तन र रूपान्तरणका निम्ति नेतृत्वदायी भूमिका निर्वाह गर्दै आजको अवस्थामा पुगेको पार्टी हो। यसले आफ्नो स्थापनायता नेपालको राजनीतिमा अनवरत संघर्ष गर्दै आइरहेको छ।
नेपालको राजनीतिमा एमालेको खास खासियत भनेकै सही विचार सही नीति र सही नेतृत्वको सही संयोजन हो। अवस्था, परिस्थिति र जनभावनाको संश्लेषण गर्न एमालेले २०७८ असोज १५ देखि १६ गतेसम्म प्रथम विधान महाधिवेशन सम्पन्न गरेको थियो। नेपालको राजनीतिक इतिहासमा विधान महाधिवेशन र नेतृत्व निर्माणका निम्ति राष्ट्रिय महाधिवेशन गर्ने एमाले पहिलो पार्टी बनेको छ।
पार्टीको विधान, नीति र सांगठनिक स्वरूपको निरूपणका निम्ति गरिने विधान महाधिवेशनले समग्र राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिक अवस्थाको समीक्षाका निम्ति ललितपुरको गोदावरीमा यही २०८२ भदौ २० देखि २१ सम्म दोस्रो विधान महाधिवेशन गर्दैछ। गोदावरीमा सम्पन्न हुने विधान महाधिवेशनले नेपालका राजनीतिक दलहरूलाई नीति र विधिको महत्त्वका बारेमा सन्देशसमेत सम्प्रेषण गर्नेछ। पार्टीले अख्तियार गरेको राजनीतिक विचार, सिद्धान्त, नीति र संगठनका स्वरूपको पुनर्ताजगी गर्ने विधान महाधिवेशन एमालेका निम्तिमात्र होइन, सिंगो देशका निम्ति महत्त्वपूर्ण छ। देशको विकास कसरी र कुन नीति अख्तियार गरेर गर्ने विषयको निरूपण समेत यो महाधिवेशनले गर्नेछ।
राजनीतिक दिशा निर्धारण गर्ने विधान महाधिवेशनले एमालेको राजनीतिक यात्रा तय त गर्ने नै छ। त्यसका साथै सिंगो देशको वैचारिक विकास मोडेलको चित्रसमेत तयार गर्नेछ। जनताको बहुदलीय जनवादको जगमा नेपाली मौलिकतासहितको समाजवादी राजनीतिक यात्रा तय गर्नु नै आजको आवश्यकता हो। यान्त्रिकता र जडताबाट माथि उठ्न नसकेका नेपालका वामपन्थीलाई यो विधान महाधिवेशनले नयाँ दिशा दिनेछ। सिंगो वामपन्थी आन्दोलनको रक्षाका निम्ति समाज बदल्ने नीति नेपालका वामपन्थीहरूले अँगाल्न जरुरी छ। चल्ते चलाते हैसियत भएका तर विचार वामपन्थी राख्ने नेपालको वामपन्थी जनमतलाई एकीकृत गर्नका खातिर योे विधान महाधिवेशन सेतु बन्नेछ।
सोभियत संघ विघटनपछि विश्व वामपन्थी आन्दोलन रक्षात्मक भइरहेको अवस्थामा नेपालमा जसरी जबजले वामपन्थी आन्दोलनको रक्षा गरेको थियो। त्यसैगरी, यो विधान महाधिवेशनवाट तर्जुमा हुने नीतिले वामपन्थी अराजकताको अन्त्य गर्दै नकारात्मक भाष्यलाई सकारात्मक भाष्यमा रूपान्तरण गर्नेछ। कम्युनिस्ट पार्टीका संगठन त खासमा समाज परिवर्तनका संवाहक हुन्। यो अनुभूति दिनेगरी अबका पार्टी कमिटी बन्नुपर्छ। जुन कमिटीबाट आम नागरिकले धेरै अपेक्षा गर्न सकुन्। आजको समस्या भनेको संख्या होइन, गुण हो। त्यसकारण संख्यात्मक मात्रालाई गुणात्मक मात्रामा रूपान्तरण नगरी आजको समस्या हल हुने देखिँदैन। आजका प्रश्नहरूको हल गर्नेगरी बलियो पार्टी निर्माण आजको आवश्यकता हो। जुन विषयलाई एमालेले बुझेको छ र समयले मागेका प्रश्नहरूको जवाफ विधान महाधिवेशनमार्फत दिँदै आइरहेको छ। हिजोभन्दा थप व्यवस्थित भएर दोस्रो दिन विधान महाधिवेशन गर्दैछ।
गन्तव्यमा पुग्ने संकल्प : नेकपा एमाले नेपालको प्रमुख राजनीतिक शक्तिमात्र होइन, पहिलो ठूलो वामपन्थी दल पनि हो। यसले करिब सात दशकदेखि नेपालको वामपन्थी जनमतको ठूलो संख्याको नेतृत्व गर्दै आइरहेको छ। एमाले यसबीच धेरै पटक सरकारमा सामेल मात्र भएको छैन, यसले धेरै पटक सरकारको नेतृत्व गर्ने अवसर समेत प्राप्त गरेको छ। पाएको अवसरलाई जनताको पक्षमा सदुपयोग गर्ने प्रयास पनि गरेको छ। तर भने जति र जसरी, सोचे जति र जसरी अनि चाहे जति र जसरी गर्न नसकेको कुरा त्यत्तिकै सत्य हो। त्यसका पछाडि केही राजनीतिक, केही कानुनी, केही प्रणालीगत र केही आन्तरिक जटिलता रहँदै आएका छन्। त्यसको समीक्षा पनि आजका राजनीतिक दलले गर्न जरुरी देखिन्छ।
विशेषगरी एमाले अझ गर्न जरुरी छ किनकि नेकपा एमाले नेपाली जनताले धेरै पत्याएको पार्टी हो। यी सबै जटिलतालाई समाधान नगरी राजनीतिक अस्थिरताको अन्त्य सम्भव देखिँदैन। राजनीतिक अस्थिरता भइरहँदा विकास पनि चल्ते चलाते खालको त होला, त्यसवाट देश समृद्ध बन्ने कुरा कल्पनासमेत गर्न सकिँदैन। नेपालको राजनीतिक आज यही मोडमा मडारिइरहेको छ। वर्तमानका यी जटिलताहरू समाधानका निम्ति तत्काल एउटा मात्र राजनीतिक विकल्प देखिन्छ। त्यो हो निर्णायक राष्ट्रिय शक्ति। निणार्यक राष्ट्रिय शक्ति निर्माण हँुदामात्र नेपाली समाजको आमूल परिवर्तन सम्भव देखिन्छ। राजनीतिक अस्थिरता नै समृद्ध नेपाल निर्माणको प्रमुख बाधक तत्त्वका रूपमा रहँदै आएको छ। यसलाई कसैकसैले बहुदलीय व्यवस्थाविरुद्धको राजनीतिक चिन्तनको रूपमा अथ्र्याउने दुष्प्रयास गरेको पनि देखिन्छ।
निर्णायक राष्ट्रिय शक्ति निर्माण भनेको दलीय व्यवस्थाको विरुद्ध होइन, बरु यसलाई उन्नत लोकतन्त्रको अभ्यास हो भन्ने बुझ्न सक्नुपर्छ। जुन देशका पार्टीले जनता र मतदातालाई बुझाउन सके ती देशहरूमा राजनीतिक स्थायित्व छ, परिणाम नेपालको तुलनामा धेरै विकास पनि भएको छ। राज्यका स्थापित मान्यताको जगमा आफ्ना नीतिको वकालत गर्ने र जनसमर्थन प्राप्त गरी निर्णायक राष्ट्रिय शक्ति निर्माण हुने विषय विचारको राजनीतिक संश्लेषण हो। आज नेपालको राजनीतिमा वैचारिक पक्ष कमजोर भइरहेका बेला विकासको नेतृत्व विचारको जगमा हुनपर्छ भन्ने कुरा आफैंमा स्वागतयोग्य छ।
एमालेले अख्तियार गरेको विचारको जगमा उभिएर घोषित गन्तव्यमा पुग्न चाहन्छ। गन्तव्यमा पुग्ने संकल्प बोकेको राजनीतिक दलले मात्र राष्ट्रि«य हित, सार्वभौमिकताको रक्षा र देशको विकास गर्न सक्छ। दोस्रो विधान महाधिवेशनको हलमा प्रस्तुत हुने राजनीतिक, सांगठनिक र विधान संशोधनको प्रस्ताव नै अबको एमालेका रोडम्याप हुन्। यी प्रस्तावको राजनीतिक, वैचारिक र सांगठनिक मार्गदर्शनमा एमाले गन्तव्यमा पुग्नेछ। त्यसका निम्ति आफ्ना पारित नीतिहरूको बलमा जनताको समर्थन प्राप्त गर्ने ध्येय राखी विधान महाधिवेशन गर्ने एमाले नेपालको पहिलो दल बनेको छ।
सत्य एक चर्चा अनेक : नेकपा एमालेको सिंगो पार्टीपंक्ति दोस्रो विधान महाधिवेशनमा जुटेको छ। विधान महाधिवेशनले पारित गर्ने प्रस्तावहरू पार्टी सबै कमिटीमा छलफल सम्पन्न हुँदै सुझाव केन्द्रमा आएका छन्। सिंगो एमाले पंक्ति विधान महाधिवेशनको उद्देश्यप्रति जानकार छ। तर एमालेको राजनीतिलाई तरंगित पार्न दूषित मनशाय पनि बजारमा व्याप्त देखिन्छन्। जो एमालेको वास्तविक सत्यलाई भन्दा अफवाह र गलत सूचनाको व्यापार गरेर रमाइरहेका छन्। जुन प्रवृत्तिलाई एमालेले देखेको छ।
यस्ता गलत प्रवृत्तिको उचित समयमा उचित जवाफ दिँदै आएको छ। यद्यपि, यो नेतृत्व छनोट गर्ने महाधिवेशन नभए पनि सबै तहका छलफलमा नेतृत्वको विषय प्रवेश भएकै सुनिन्छन्। सिंगो एमालेको एक स्वरले भन्ने जवाफ नै सबै तहका कमिटीबाट एक स्वर अनुमोदन भएको छ। नेकपा एमालेभित्र अहिले नेतृत्वका सन्दर्भमा कुनै विवाद छैन। आगामी महाधिवेशनबाट पनि वर्तमान पार्टी अध्यक्ष कमरेड केपी ओली नै अध्यक्ष बन्ने कुरामा कुनै विवाद छैन। पार्टीभित्रको सत्य एक हुँदाहुँदै पनि केही आडमा केही बहानामा अनेकन चर्चा, परिचर्चा हुने गरेका छन्। सत्य कुरा नेकपा एमालेको विधान महाधिवेशन हुँदैछ। यसले पार्टीको विधि, नीति र संगठनका स्वरूपका बारेमा छलफल गर्छ र निष्कर्ष निकाल्ने छ।
नेकपा एमाले आफूलाई यो देशको निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने विधान आसन्न अधिवेशनबाट नीति र राजनीतिक योजना बनाउँदै छ। जुन संकल्पले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षालाई गन्तव्यमा पुर्याउने प्रण गर्नेछ। कुनै सरकारले पूरा गर्न नसकेका समृद्धिका अधुरा सपना पूरा गर्ने अठोट एमालेको यो विधान महाधिवेशनले गर्नेछ। जबजको आलोकमा नेपाली मौलिकतामा आधारित समाजवादको विषयमा छलफल गर्दै देशलाई नयाँ उचाइमा लिने संकल्पका साथ विधान महाधिवेशन सम्पन्न हुनेछ।
प्रतिक्रिया दिनुहोस !