महायज्ञको नाममा उठीबास, डोम परिवारको घर न घाट
सिरहा : सिरहाको सीमावर्ती औरही गाउँपालिका–५ स्थित विष्णु महायज्ञको नाममा एक डोम परिवारलाई गत फागुन १० गते यज्ञ स्थलबाट उठीबास लगाइएको थियो। गाउँपालिका र प्रदेश सरकारले जग्गा उपलब्ध गराउने, घर बनाइदिने प्रतिबद्धता व्यक्त गरेका थिए। महिनौं बित्यो। आर्थिक वर्ष पनि सकियो, तर, दीपक मरिक परिवारले अझै बसोबासको पूर्ण ग्यारेन्टी पाउन सकेको छैन। उनीहरूले जसोतसो रात बिताइरहेका छन्।
‘पहिलेको घरमा सबै कुरा व्यवस्थित थियो। अहिले बेहाल भएको छ। सरकारले चाँडै घर बनाइदिनुपर्छ,’ पीडित दीपक मरिकले भने, ‘जग्गा र घर नहुँदा वर्षा हुँदा रात कटाउने मुस्किल हुने गरेको छ।’ पुरानो जस्ताले बनाएको टहरा पनि चुहिरहेको उनले सुनाए। घर नहुँदा रक्षाबन्धनमा माइत गएकी बुहारीलाई घरमा फर्काउन्न नसकेको उनले दुःखेसो पोखे। उनको दुई छोराबुहारी, नातिहरू गरी ८ जनाको परिवार छ। अहिले भएको टहरामा खान, बस्न, सुत्न समस्या भइरहेको उनले बताए।
गत चैत १७ गते विष्णु महायज्ञ लगाउने तयारी थियो। यज्ञ लगाउने चौर(फिल्ड) छेउमा डोम परिवारको घर थियो। अछुतो हुन्छ भनेर मुख्य पुजारी बजरंगी बाबाले समितिलाई डोमको घर खाली गराउनुपर्ने सुझाव दिए। सोहीअनुसार समितिका संयोजक तथा गाउँपालिका अध्यक्ष शिवजी यादवले जेसीबी लगाएर उनको घर भत्काएर हुलाकी सडकको किनारमा सुन्दर जनता मावि छेउमा पु¥याएका छन्। त्यहाँ डोम परिवारले उनैको तोडेको घर जस्तापातालगायत सामग्री लिएर टहरा बनाइदिएको थियो। त्यही टहरामा आजसम्म बसिरेको छ।
घटना बाहिरिएपछि सहमतिमै सारेको गाउँपालिका अध्यक्षले दाबी गरेका थिए। पछि पीडित परिवारले प्रहरीमा जातीय छुवाछूतसम्बन्धी जाहेरी दिएका थिए। सोहीअनुसार गाउँपालिका अध्यक्ष शिवजी र पूर्ववडाध्यक्ष दिलीप यादव पक्राउ परे। बजरंगी बाबा फरार थिए। शिवजी निर्दोष भन्दै उनका कार्यकर्ताले दिनहुँ प्रहरी कार्यालय अगाडि प्रदर्शन गरे।
प्रहरीले ६ दिनमै अनुसन्धान सकाएर सरकारी वकिल कार्यालयमा बुझाए। वकिल कार्यालय सोही दिन चैत १५ गते अदालतमा पेस गरे। गाउँपालिका शिवजी र दिलीप जनही एक÷एक लाख धरौटी बुझाएर रिहा भएका छन्। अदालतबाट धरौटीमा रिहा हुँदा तामझामसहित उत्सव ¥याली नै प्रदर्शन गरेका थिए। प्रहरीले उक्त मुद्दामा बजरंगी बाबाको तीनपुस्ते विवरण नखुलेको र फरार रहेको भनेर लेखेर पठाएका छन्। तर, बाबापछि महायज्ञमा सहभागी भयो। अहिलेसम्म प्रहरीले फेला पारेर बुझाउन सकेको छैन।
आउँदो भदौ २२ गते अदालतमा पेसी छ। धरौटीमा रिहा गर्दा साक्षी बकपत्र गराउन आदेश भएअनुसार बकपत्र गराएको जिल्ला अदालत सिरहा स्रेस्तेदार भेषराज भट्टराईले जानकारी दिए। ‘तत्कालै तीनपुस्ते यकिन नहुँदा अभियोग पत्रमा बजरंगी बाबाको नाम थिएन,’ स्रेस्तेदार भट्टराईले भने, ‘पछि एकिन भएर आए भन्ने सोही अभियोगमा कारबाही हुनेछ।’
गाउँपालिका अध्यक्ष शिवजीका अनुसार अहिले डोम परिवारलाई साढे ७ धुर जग्गा व्यवस्थापन गरी घर बनाउने कार्य भइरहेको छ। जसका लागि गाउँपालिकाबाट आर्थिक वर्ष २०८१/०८२ मा १० बजेट विनियोजन गरेको उनले बताए। तर, उनले दाबी गरेअनुसार घर बनेको छैन। कोटेसनमार्फत घर बनिरहेको उनको दाबी छ। तर, वास्तविकता अर्कै रहेको एक स्थानीयले बताए। ‘नयाँ आर्थिक वर्ष सुरु भइसक्यो। अघिल्लो आर्थिक वर्षको बजेट अघिल्लोमै काम गर्नुपथ्र्यो। अहिले कसरी काम गर्छ,’उनले भने,‘गाउँपालिका अध्यक्षले पैसा निकालेर चन्दाबाट घर बनाउँदै छ।’ यसको घर बनाउने नाउँमा धेरै ढिलाइ र भ्रष्टाचार भइरहेको उनले सुनाए। वर्षाको महिना र माटो अभावले घर बनाउन रोकिएको गाउँपालिका अध्यक्ष यादवले बताए।
मधेस प्रदेशका मुख्यमन्त्री सतीश सिंहले पनि घर बनाइदिने प्रतिबद्धता गरेका थिए। सोहीअनुसार मदन भण्डारी आवास कार्यक्रमअन्तर्गत पूर्वाधार विकास कार्यालय सिरहामा डोम परिवारको घर बनाउन ५ लाख बजेट आयो। तर, यस आवास कार्यक्रमबाट बन्ने घरमा पिलर नहुने बताएपछि पीडित परिवार घर बनाउन तयार भएनन्। पूर्वाधार कार्यालय प्रमुख रामदेव खर्गाका अनुसार अहिले पैसा निकासा भएर समितिको खातामा गएको छ। घर बनाएन भन्ने सरकारकै खातामा फेरि फिर्ता ल्याउने उनले बताए।
स्थानीय र प्रदेश सरकारको झुटो आवश्वासनले डोम परिवार झन् पीडित बनेको स्थानीय दलित अगुवा कबुली पासवानको भनाइ छ। ‘एक त महायज्ञ नाउँमा उठीबास लगाउनु हुँदैन। गलत गरेको छ। त्यसमा पनि प्रतिबद्धताअनुसार व्यवस्थापन गरिदिएको छैन,’ उनले भने, ‘दलित, गरिब भएकाले सरकारले समेत हेपिरहेको छ।’ चाँडै समस्या समाधान गरेर पीडितलाई न्याय दिनुपर्ने उनले सुनाए।
प्रतिक्रिया दिनुहोस !